महाकालीमा साहासिक जलयात्रा शुरु
कञ्चनपुर / महाकाली नदीमा साहसिक जलयात्रा र्याफ्टिङ सुरु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १२ मा पर्ने निर्माणाधीन महाकाली चारलेन पुलबाट झोलुंगे पुलसम्म र्याफ्टिङ सेवा सुरु भएको जनाइएको छ ।
?
महाकाली र्याफ्टिङ एण्ड रिर्सोट प्रालिले पर्यापर्यटनलाई लक्षित गरि साहसिक जलयात्रा सुरु गरेको कम्पनीका सञ्चालक करन सिंह पालले जानकारी दिए ।
उनका अनुसार महाकाली नदीको तीन दशमलव पाँच किलोमिटर दूरीमा सेवा सञ्चालन गरिएको छ । स्थानीय गजेन्द्र चन्द, करनसिंह पाल र सञ्जय कुमार भट्टले महाकालीमा पहिलो पटक व्यवसायिक र्याफ्टिङ सेवा सुरु गरेका छन् ।
‘सुदूरपश्चिममा थुप्रै पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो’ सञ्चालक करनसिंहले भने– नयाँ पर्यटकीय गन्तव्यको विकास गर्दै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरि स्थानीय स्तरमा रोजगारीका अवसर सृजना गर्ने उद्देश्यका साथ र्याफ्टिङ सञ्चालनमा ल्याएका छौं ।
कम्पनीले र्याफ्टिङका लागि महेन्द्रनगर बजारबाट गाडी समेत व्यवस्था गरेको छ । चाडै नै रिर्सोट समेत सञ्चालनमा ल्याउने तयारी गरेको सञ्चालक पालले बताए । महाकालीमा घुम्न आउने पर्यटकहरुलाई लक्षीत गरि आवाससहित रिर्सोट सञ्चालन गरिन लागेको संचालकले बताएका छन् ।
रिर्सोटका लागि जग्गा भाडा लिएर संरचना निर्माणको तयारी भइरहेको उनीहरुको भनाइ छ । महाकालीन निर्माण भइरहेको चारलेनको पुल र एशियाकै दोस्रो लामो झुलङ्गे पुल घुम्न आउने पर्यटकका लागि र्याफ्टिङ आर्कषणको केन्द्र बन्ने सम्भावना रहेको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्ले र्याफ्टिङ सञ्चालनले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । र्याफ्टिङलाई एडभचरीयर गेमको रुपमा लिने गरिएको बताउँदै अध्यक्ष मल्लले भने, ‘महाकाली घुम्न आउने पर्यटकका लागि नयाँ गन्तब्य थपिएको छ, यसले यस क्षेत्रको पर्यटन पवर्द्धनमा सहयोग पुग्ने देखिन्छ ।’