१० श्रावण २०८१, बिहीबार

किसानलाई कृषि यन्त्र वितरण



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्रले कैलालीका किसानलाई मंगलबार कृषि यन्त्र वितरण गरेको छ ।

कैलारी गाउँपालिका वडा नम्बर ७ का किसानलाई ५० प्रतिशत अनुदानमा पावर टिलर, पम्पसेट र कृषि मोटर वितरण गरिएको छ ।

बसन्तामा आयोजित एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी र गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले किसानलाई कृषि यन्त्र हस्तान्तरण गरिन् ।

मुख्यमन्त्री एकीकृत कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत ज्ञान केन्द्रले २० जनालाई पावर टिलर, १६ जनालाई पम्पसेट र ३३ जनालाई कृषि मोटर प्रदान गरिएको वडा नम्बर ७ का वडाध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।

सो अवसरमा कृषि तथा सहकारी मन्त्री चौधरीले प्रदेश सरकारले कृषिमा आधुनिकीकरणका लागि किसानलाई कृषि यन्त्र र कृषि ऋण उपलब्ध गराउने नीति लिएको बताइन् । उनले बीउका लागि भोग्दै आइरहेको समस्या समाधानका लागि किसान आफैले बीउ उत्पादन गर्न आवश्यक रहेको औंल्याइन् ।

कार्यक्रममा कैलारी गाउँपालिका अध्यक्ष लाजूरामले स्थानीय सरकारले पनि कृषिलाई प्राथमिकतामा राखेको बताए । सबैभन्दा बढी लगानी कृषिमा गर्दै आएको उल्लेख गर्दै उनले भने– सिंचाईं सुविधा सहज बनाउनका लागि कृषि मोटर पनि स्थानीय सरकारले किसानलाई दिन थालेको छ ।

सोही अवसरमा मन्त्री चौधरीले ग्रेडिङ मेशिनको पनि उद्घाटन गरिन् । कृषि ज्ञान केन्द्रले ग्रेडिङ गरेर बीउ उत्पादनका लागि वडामा रहेको हरियाली नमूना कृषि गाउँ गहुँ पकेट कृषक समन्वय समितिलाई ५० प्रतिशत अनुदानमा ग्रेडिङ मेशिन उपलब्ध गराएको छ ।

समितिका अध्यक्ष पार्वती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रराज जोशी, वडा अध्यक्ष कलमप्रसाद चौधरी, हरियाली सहकारीका अध्यक्ष लेखराम चौधरीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा ज्ञान केन्द्रकै भूमिराज उपाध्याय, वडा सदस्यहरु फिरुराम चौधरी, मुसम्फीदेवी चौधरी, विष्णा सुनार, सुन्दरप्रसाद चौधरी, नेकपाका जिल्ला सदस्य परशु चौधरी, नेकपा कैलारी गाउ“पालिकाका अध्यक्ष बतासु चौधरी, समिति आवद्ध किसान लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार