१२ श्रावण २०८१, शनिबार

जसपा नेता महतो भन्छन्– रेशमलाई रिहा नगरे जेल भराउ आन्दोलन



धनगढी । जनता समाजवादी पार्टी (जसपा) का बरिष्ठ नेता राजेन्द्र महतोले रेशमलाल चौधरीलाई रिहाई नगरे ‘जेल भराउ’ आन्दोलन सुरु हुने बताएका छन् ।

उनले रेशमलाललाई जेलमा बन्दी बनाइराख्ने तागत कसैसँग नभएको बताए । धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बरिष्ठ नेता महतोले भने– ‘रेशमलाई अब जेलमै राखिरहने तागत कसैसँग छैन । रिहाई नगरे जेल भराउ आन्दोलन सुरु हुन्छ । हामी सबैलाई जेलमा राख्ने क्षमता त राज्यसँग छैन ।’

कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा एक नाबालक तथा प्रहरी वरिष्ठ उपरीक्षकसहित आठ प्रहरीको निर्ममतापूर्वक हत्या भएको थियो । सो घटनाका मुख्य योजनाकारको अभियोगमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रेशमलाल हाल आजिवन काराबासको सजाय भोगिरहेका छन् ।

टीकापुर घटनापछि फरार रहेकै अवस्थामा रेशमलाल कैलाली क्षेत्र नम्बर १ बाट अत्यधिक बहुमतका साथ सांसद पदमा विजयी भएका थिए ।

निर्वाचन जितेपछि रेशमलाल कैलाली जिल्ला अदालतमा हाजिर भएका थिए । अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको छ । हाल उनी डिल्लीबजार कारागारमा बन्दी छन् । जेलमै रहेका बेला रेशमलाललाई सांसद पदको सपथ ग्रहण गराइएको थियो ।

जसपा नेता महतोले सबैभन्दा अब अधिकारका लागि निर्णायक आन्दोलन हुने चेतावनी दिए । नेता महतोले भने– झापा आन्दोलनमा व्यक्ति हत्यामा संलग्न केपी ओली, १७ हजार मान्छेको हत्या भएको जनयुद्धको आन्दोलनको नेतृत्व गर्ने पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने, शासन गर्ने तर थारु समुदायको अधिकारको लागि आन्दोलन गर्ने रेशम चौधरी, लक्ष्मण थारु लगायतका नेताहरु अपराधी हुने ? अब सधैं यस्तो अवस्था रहदैन ।

उनले अहिलेका सबै समस्याका मुख्य जड नेपालको संबिधान र शासनसत्ता भएको दाबी गरे । जसपा नेता महतोले भने– सात सात वटा संबिधान बन्दा पनि जनताको संबिधान बनेन । गणतन्त्र आउँदा पनि जनताको शासन आएन । अब यी सबै समस्याको समाधानका लागि आन्दोलनको बिकल्प छैन ।

उनले संबिधान र शासन परिवर्तन भए पनि विचार र ब्यवहारमा परिवर्तन नभएको चर्चा गरे ।
नेपालमा जुनसुकै वेला पनि केही प्रतिगमन हुनसक्ने बताउ“दै नेता महतोले भने– त्यो प्रतिगमन जनताका प्रतिनिधिबाटै हुने छ ।

उनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दुनियाँलाई झुक्याउने काम गरेको बताउ“दै नेता महतोले भने– नेकपाले देशलाई गोलचक्करमा फसाएको छ । यसबाट निकास पाउन निकै समस्या भएको छ ।

नेकपाको प्रचण्ड माधब समुहले सत्ता समिकरणका लागि गरेको प्रस्तावबारे नेता महतोले भने– कि पार्टी (नेकपा) फुटाउनु पर्‍यो । कि केपीलाई हटाउनु पर्‍यो, अनि मात्र छलफल हुन्छ । नभए प्रस्तावको कुनै औचित्य छैन ।

उनले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । उनले भने–प्रधानमन्त्रीसंग नैतिकता छ भने तत्कालै राजीनामा दिनुपथ्र्यो । राजीनामा कसैले माग्ने कुरा होइने दिने कुरा हो ।

नेता महतोले प्रधानमन्त्री केपी ओलीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल नभएको बताए । उनले भने– हामीबीच अविश्वासको प्रस्तावबारे अहिले केही चर्चा छैन । अविश्वासको प्रस्ताव कसैले ल्यायो भने त्यैबेला छलफल हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार