७ बैशाख २०८१, शुक्रबार

राहत लगेर मन्त्री भट्ट भारगरथीको घरमा




बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको परिवारलाई समवेदना प्रकट गर्न सुदूरपश्चि प्रदेश सरकारका पर्यटन तथा वन मन्त्री माया भट्ट राहत लगेर भागरथीकै घरमा पुगे्की छन् ।

मन्त्री भट्टले भागरथीकी आमा द्रोेपति भट्टलाई उनकै घर चडेपानी पुगेर भेट गरिन । भेटमा मन्त्री भट्टले दुःखको घडीमा सुदूरपश्चिम प्रदेश सरकार परिवारको साथमै रहेकोले पाँच लाख रुपियाँ राहत प्याकेजको घोषणा गरेको भन्दै भागरथीकी आमालाई ढाडस दिइन ।

“हामी तपाईको साथमै छौं । प्रदेश सरकारले पाँचलाख रुपियाँ राहत दिने निर्णय गरेको छ । बैतडी जस्तो पवित्र भूमिमा यस्तो दुष्कर्म नहुनु पर्ने हो तर, आपराधिक मानसिकताका मान्छेले यस्तो गरे । दोषी कानुनी दायरामा ल्याइसकिएको छ ।

भागरथी तपाईकी मात्र छोरी थिइनन् । उनी हाम्रो पनि छोरी थिइन ,” मन्त्री भट्टले भनिन, “ शोकलाई शक्तिमा बदल्नुहोस् । प्रदेश सरकार तपाईकै साथमा छ ।”


भेटमा भागरथीकी आमा द्रोपतिले आँसु झार्दै अपराधीलाई हदैसम्मको सजाय हुनुपर्ने बताइन । भागरथीकी आमा द्रोपतिको भावविह्वल अवस्था देखेर मन्त्री भट्टलेसमेत आँसु थाम्न सकिनन् ।

“दोषी कानुनी दायरामा आईसकेकोले हदैसम्मको सजाय हुने छ । आगामी दिनमा हाम्रो कुनै पनि छोरी चेलीले यस्तो दुर्दशा भोग्न नपरोस् भनेर प्रदेश सरकार पनि सजक भएको छ,” सोमबार भागीरथी कि आमालाई भेट्दै मन्त्री भट्टले भनिन, “ महिलामाथि हुने सबै प्रकारका हिंसा, हत्या र बलात्कार रोक्न अब गाउँ गाउँबाट सबै दिदी बहिनी, दाजु–भाइ एकजुट हुन आवश्यक छ । सुदूरपश्चिम प्रदेश सरकार तपाईहरुको साथमा छ । ”


दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्ट गत माघ महिनाको २१ गते सनातन धर्म माविबाट बेलुकी घर फर्किदा बेपत्ता भएकी थिईन् । उनको भोलीपल्ट घर फर्किने लडाकेल जङ्गलमा शव फेला परेको थियो ।


घटनाको १३ दिन लामो अनुसन्धानपछि भागरथीकै भाइ नाता पर्ने १६ वर्षीय किशोरलाई प्रहरीले आरोपीको रुपमा फागुन ५ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । आरोपीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले यही फागुन १६ गते तेस्रो पटक पाँच दिनका म्याद थप गरेको छ ।


भागरथीकै गाउँको भाइ नाता पर्ने कक्षा ११ मा पढ्ने किशोरको डीएनए परिक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । आरोपित नाबालक किशोर भएकोले उनको नाम र दिएको साबिती बयान तत्कालै सार्वजनिक गर्न नमिल्ने प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्
विशेष समाचार