१५ बुँदा सहित संघर्ष घोषणा
धनगढी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ हसुलियामा समानता, न्याय, अधिकार प्राप्ति र दासता विरुद्धको नारा सहित आयोजना भएको थरुहट थारुवान राष्ट्रिय सम्मेलन आइतबार १५ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ ।
मोर्चाले सोमबार धनगढीमा पत्रकार सम्मेलन मार्फत घोषणापत्र सार्वजनिक गरेको हो ।
दुई दिनसम्म आयोजना भएको भेलाको बन्द सत्रमा थारु समुदायको माग, मुद्दाको सवालमा गम्भीर रुपमा छलफल गरिएको थियो ।
बन्दसत्रमा छलफलपछि सम्मेलनले थरुहट थारुवान एकता, मोर्चाबन्दी, साझा मुद्दा र साझा संघर्षको लागि शान्तिपूर्ण रुपमा विद्रोह नै अहिलेको आवश्यकता, बाध्यता एवं मूल बाटो रहेको निष्कर्ष निकालेको छ ।
जाति, वर्ग, लिंग, क्षेत्रमा गरिएको शोषण, दमन, उत्पीडन, विभेद, तिरस्कार, बलात्कार, भ्रष्टाचारविरुद्ध समानता, न्याय र अधिकारका लागि संघर्ष गर्न शान्तिपूर्ण विद्रोह गर्ने तयारी रहेको उल्लेख गरिएको छ ।
सम्मेलनबाट प्रतिवद्धताका साथै विद्रोहका सवाल पनि स्पष्ट पारिएको छ । दासता विरुद्धको विद्रोहको तयारीका लागि नेतृत्व र जनताको बीचमा विश्वास, भरोसा, जिम्मेवारी, उत्तरदायित्व बहन गर्ने उल्लेख छ ।
थरुहट माग, मुद्दाप्रति सकारात्मक वा प्रतिवद्ध सबै शक्तिबीच सहकार्य, एकता, मोर्चाबन्दी, साझा मुद्दा बनाइ सामाजिक, सांस्कृतिक, सामुदायिक, आर्थिक र राजनीतिक दासतामा बाँच्न विवश जनलोकको संयुक्त विद्रोहको तयारी गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
समानता, न्याय, अधिकारका लागि दासताविरुद्धको संयुक्त र साझा विद्रोह कुनै जाति, लिङ, क्षेत्र, समुदाय र धर्मविरुद्ध नहुने प्रतिवद्धता जनाइएको छ । हिंसा, डर, धाक, त्रास, धम्की आतंक, चन्दा असुली, लुटपाट नगरी सभ्य, सालिन भद्र तवरबाट अधिकार प्राप्ति र स्थायी शान्तिका लागि शान्तिपूर्ण विद्रोह हुने सम्मेलनले ठहर गरेको छ ।
राज्यको पुनःसंरचनामा जातीय, ऐतिहासि पृष्ठभूमिका आधारमा पहिचानसहित नामांकन, सिमांकन एवम् अधिकार प्राप्त थरुहट स्वायत्त प्रदेशको स्थापनाको लागि विद्रोह रहने जनाइएको छ । यस्तै, राज्यको हरेक अंगको सबै तहतप्कामा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको संवैधानिक व्यवस्थासहित संविधानका अन्तरवस्तुसंग रहेका अधिकारका १४ बुँदे मुख्य राजनतिक माग, मुद्दाहरू संशोधन गरी पूरा गराउनका लागि विद्रोह रहने जनाइएको छ ।
थरुहट आन्दोलनकर्मी र सरकारबीच २०६५ साल चैत १ मा भएको ६ बुँदे र २०६९ जेठ १० मा भएको १० बु“दे सहमति सम्झौता कार्यान्वयनका लागि आन्दोलन रहने जनाइएको छ । अधिकारका लागि शान्तिपूर्ण थरुहट आन्दोलनमा होमिएका निहत्था थरुहट नेता कार्यकर्ता उपर लगाइएको सबैखाले मुद्दा झूठा रहेको निष्कर्ष निकाल्दै मुद्दा खारेजी र बन्दी जीवन बिताइरहेकाहरूको निशर्त रिहाइका लागि विद्रोह रहने जनाइएको छ ।
यस्तै, कफ्र्यु निषेधाज्ञाकाबीचमा थारु समुदायको व्यावसायिक केन्द्र, संचार गृह, घर लगायतमा आगजनी, चेलीबेटीमाथि बलात्कार गर्नेमाथि कारबाहीको र लाल आयोगको छानविन प्रतिवेदन सार्वजनिक गर्न दबाबका लागि थरुहट मोर्चाको विद्रोह हुने जनाइएको छ । जातिय छुवाछुट, असमानता, विभेद, बलात्कार लगायतका विरुद्धमा मोर्चाको शान्तिपूर्ण विद्रोह रहने उल्लेख गरिएको छ ।
सम्मेलनबाट मोर्चाको आगामी संघर्षका कार्यक्रम पनि तय गरिएको छ । प्रचारात्मक तथा जागरण अभियान निरन्तर जारी रहने, सहकार्य एकता र मोर्चाबन्दी गरी संघर्षलाई प्रभावकारी बनाउनका लागि प्रतिवद्ध सबै शक्ति, संघसंस्था, संगठन, नेता, अभियन्ताहरूसंग समन्वय गर्दै अगाडि बढ्ने उल्लेख गरिएको छ ।
थारु समुदायको बसोबास रहेको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जिल्लाहरूमा संयुक्त भेला, अन्तरक्रिया कार्यक्रम गर्ने, तराईको सबै जिल्लामा हस्ताक्षर अभियानसहित विरोध, कोणसभा गर्ने जस्ता आन्दोलनका कार्यक्रम तय गरिएका छन्् । आगामी वैशाख १० गते १० लाख हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत मुलुकको राष्ट्रपतिलाई बुझाउने सम्मेलनले तय गरेको छ ।
बन्द सत्रमा राजनीतिक विश्लेषक प्राध्यापक डा. भाष्कर गौतम, नेपाल आदिवासी जनवातीका गोविन्द छन्त्याल, दलित समुदायका रीता परियारले प्रशिक्षण दिएका मोर्चाका कैलाली नेता माधव थारुले जानकारी दिए । भेलामा विभिन्न जिल्लाबाट प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।
थारु समुदायले अधिकार प्राप्ति, संविधान संशोधनको माग गर्दै र मुलुकको संघीय संरचनाको सिमांकन र नामांकनप्रति असहमति जनाउ“दै आन्दोलन गर्दै आएको छ । २०७२ भदौ ७ गते थरुहट थारुवान आन्दोलनको क्रममा टीकापुरमा हिंसात्मक घटनासमेत भएको थियो । सो घटनाको थारु समुदायले राजनीतिक समाधान खोज्नु पर्ने माग गर्दै आएको छ ।
सोही घटनामा कैलाली जिल्ला अदालतको फैसलालाई उल्ट्याउ“दै उच्च अदालत दिपायलले फैसला सुनाएपछि मोर्चाले पुनः आन्दोलनका कार्यक्रम गर्न थालेको छ ।