१५ चैत्र २०८०, बिहीबार

हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइँदै



धनगढी । कैलालीमा यस वर्ष पनि हात्तीपाईले रोगविरुद्धको औषधि खुवाइने भएको छ । नवौैं चरण अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा यस पटक पनि यो अभियान सञ्चालन हुन लागेको छ ।

सन् २०१३ मा सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लामा अभियानका रुपमा हात्तीपाईले रोग निवारण कार्यक्रम सञ्चालन गरिएको थियो । प्रदेशका पहाडी सात जिल्ला र तराईको कञ्चनपुर जिल्लामा अभियान सफल भए पनि कैलालीमा अझै हात्तीपाइले रोग निवारण भइसकेको छैन ।
कैलालीमा गत वर्ष पनि हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरिए पनि लक्ष्य अनुसारका व्यक्तिहरूले सेवन गरेका थिएनन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले नवौं चरणको अभियान अन्तर्गत कैलालीमा आगामी २९ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सञ्चालन हुने जानकारी दिए । निर्देशक डाक्टर अवस्थीले भने– गत वर्ष कैलाली र कञ्चनपुरमा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन भएको थियो । कैलालीमा यस वर्ष पनि यो अभियान सञ्चालन गरिदै छ ।

कैलालीमा हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गर्ने प्रतिशत आर्थिक वर्ष २०७४÷७५ मा ६७ दशमलव नौ प्रतिशत रहेको थियो भने अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा ६९ प्रतिशतले औषधि सेवन गरेका थिए ।

त्यस्तै, आर्थिक वर्ष २०७६÷७७ मा कैलालीमा लक्ष्यको ७५ दशमलव दुई प्रतिशत व्यक्तिले हात्तीपाइले रोग विरुद्धको औषधी खाएका थिए । लक्ष्य अनुसार सबैलाई यो औषधी खुवाउनु पर्ने भएकाले कैलालीमा नवौं चरणको अभियान सञ्चालन गर्नुपरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कैलाली स्वास्थ्य कार्यालयले यस वर्ष कुल जनसंख्याको ८० प्रतिशतलाई हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गराउने लक्ष्य लिएको छ । त्यसका लागि स्थानीय तहहरूलाई विभिन्न चरणका अन्तक्र्रिया, गोष्ठी, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, प्रचारप्रसार लगायतका कार्यक्रमहरू अघि बढाएको जनाइएको छ । स्थानीय तहहरूमार्फत सञ्चालन हुने यो अभियान १५ दिनसम्म केन्द्र र घरदैलोमार्फत औषधि सेवन गराइने बताइएको छ ।

कैलाली स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ मा हाइड्रोसिलका एक सय ६४ र एन्सिफलाईटिक हात्तीपाइलेका ५३ जना विरामी फेला परेका थिए ।

नेपाल सरकारले सन् २०२० सम्म हात्तीपाइले रोगलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्यसहित सन् २००३ देखि पर्सा जिल्लाबाट हात्तीपाइले रोगविरूद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरेको थियो ।

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र स्वयंसेवकले आफनै उपस्थितिमा खुवाउनुपर्ने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । उनले हात्तीपाइलेको औषधि घरघरमा गएर स्वास्थ्यकर्मीले वितरण गरे पनि खाने मान्छेले नखाइदिएका कारण कैलालीमा हात्तीपाईले निवारण कार्यक्रम प्रभावकारी हुन नसकेको बताए ।

महाशाखा प्रमुख कार्कीले हात्तीपाइलेको औषधि खाँदा हुन सक्ने असरबारे स्वास्थ्यकर्मीहरूले पनि राम्रोस“ग मानिसलाई बुझाउन नसकेको बताए । उनका अनुसार हात्तीपाइलेको औषधि खाँदा मान्छेको मृत्यु भएको, धेरै मान्छे बिरामी परेको जस्ता गलत र भ्रामक प्रचारका कारण औषधि लिने, तर नखाने समस्या कम हुनसकेको छैन । महाशाखा प्रमुख कार्कीले हात्तीपाइलेको औषधि खाएपछि केही व्यक्तिलाई पेट र टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने र वाकवाकी लाग्ने जस्ता सामान्य असर देखिनसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार