५ बैशाख २०८१, बुधबार

वर्षौदेखि सुनसान यातायात कार्यालय



डोटी । डोटीको दिपायल, राजपुरमा रहेको यातायात व्यवस्था कार्यालय वर्षौ“देखि सुनसान अवस्थामा रहेको छ ।

दिपायलसिलगढी नगरपालिका वडा नम्बर ४ राजपुरमा रहेको सो कार्यालयमा कर्मचारीहरुको पनि अभाव रहेको छ ।

राजपुर यातायात कार्यालय स्थापना भएको पाँच वर्ष भइसक्दा पनि कर्मचारीहरुको अभावका कारण पूर्णरूपमा सेवा सञ्चालन हुन नसकेको स्थानीयको गुनासो छ ।

आठौं तहका कार्यालय प्रमुख रहने दरबन्दीको संरचना अनुसार स्थापना गरिएको कार्यालयमा गत साउनदेखि कार्यालय प्रमुख नै छैनन् । सो कार्यालयमा सात जना कर्मचारीको दरबन्दी रहेको छ । हाल छैठौं तहको अधिकृत सहित चार जना कार्यरत रहेका छन् ।

निमित्त कार्यालय प्रमुख चेतराज भट्टले भने– हामीसँग आवश्यक प्राविधिक कर्मचारी छैनन् । प्राविधिक कर्मचारी नहु“दा कार्यालयले सेवा प्रदान गर्न सक्दैन ।

शैलेश्वरी यातायात प्रालिका कार्यालय प्रमुख प्रेम रावलले भने– डोटी, अछाम र बाजुराका सेवाग्राहीलाई लक्षित गरेर यो कार्यालय खोलिएको भए पनि सामान्य सेवा लिन पनि अझैं कैलाली नै धाउनु परेको छ।

सवारी दर्ता र नवीकरण, नामसारी, सवारी चालक अनुमतिपत्र जारी र नवीकरण, सडक इजाजतपत्र जारी र नवीकरण, यातायात सेवा पञ्जीकरण, सवारी जाँचपास, सेती अञ्चल यातायात व्यवस्था कार्यालयबाट जारी भएका चालक अनुमतिपत्र नवीकरण, पट्के बाटो इजाजत, सवारी अनुगमनलगायतका कार्य गर्नका लागि स्थापना गरिएको भए पनि हालसम्म कार्यालयले चालक अनुमतिपत्र नवीकरण, बाटो इजाजत नवीकरण, पट्के बाटो इजाजत, पञ्जीकरणको काम नै शुरु नगरेको यातायात व्यवसायीहरुको गुनासो छ ।

कार्यालय खोलिए पनि यातायात सेवा कार्यालयबाट प्रदान हुने सेवा लिन सेवाग्राहीले कैलाली जिल्ला जानुपर्ने बाध्यता यथावत् रहँदै आएपछि सो कार्यालय पनि अन्यत्र सार्नुपर्ने स्थानीयवासीको माग रहेको छ ।

त्यस्तै सवारी चालक अनुमतिपत्रका लागि लिइने सीप परीक्षण गर्न र निर्माण गर्न लागिएको ट्रायल सेन्टर निर्माणको काम पनि हालसम्म अधुरै रहेको छ ।

गत जेठ मसान्तसम्म निर्माण भइसक्ने र असारदेखि सवारी चालक अनुमतिपत्र वितरण गर्ने लक्ष्यका साथ निर्माण कार्य भएको ट्रायल सेन्टर तोकिएको समयभन्दा आठ महिना बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन ।

२७ लाख ८१ हजार रुपैयाको लागतमा राजपुरमा निर्माण गर्न लागिएको ट्रायल सेन्टरको गत वर्षको चैत महिनामा तत्कालीन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री पठानसिंह बोहराले शिलान्यास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार