१५ चैत्र २०८०, बिहीबार

भूमिहीनहरुको फाराम भर्दा सावधानी अपनाउनुस्– विज्ञ सदस्य देउजा



लम्की । भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय विज्ञ सदस्य जगतबहादुर देउजाले भूमिहीन तथा अव्यवस्थित तथ्यांक फाराम भर्दा सावधानी अपनाउन सबैमा आग्रह गरेका छन् ।

भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुको तथ्यांक संकलन इकाई कार्यालय लम्कीले आईतबार आयोजना गरेको कार्यक्रममा विज्ञ सदस्य देउजाले वडास्तरबाटै समस्या नआउने गरी तथ्यांक फाराम भर्न आग्रह गरे ।

उनले भने– नगरपालिकाले अनुमोदन नगरेसम्म आयोगले कसैको पनि फाइल नबुझ्ने भएकोले वडास्तरबाटै राम्रोसंग फाराम भर्नुहोला ।

उनले आयोगमा व्यक्ति परिवर्तन हुनसक्ने, तर आयोग नै विघटन भने नहुने बताए ।

उनले व्यक्तिले भोगचलन गरेको जग्गा नापिने भएकोले दोहोरो स्वामित्व कायम हुनेगरि जग्गा दिन नमिल्ने बताए । उनले भने– जो जहाँ बसेको भए पनि सबैले फाराम भर्नैपर्ने हुन्छ । फाराम भर्दा गलत विवरण दिने व्यक्ति स्वयं कारबाहीको भागेदार हुनेछ ।

कार्यक्रममा लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईंले लम्कीस्थित मुक्त कमैया एकता शिविरलाई वैधानिकता दिन तथा बल्चौर बादी वस्तीलाई व्यवस्थित बनाउने गरि काम भइरहेको बताए ।

भूमिहीन, सुकुम्वासी तथा अब्यवस्थित बसोबासीहरुको तथ्यांक संकलन इकाई कार्यालय लम्कीका अधिकृत वीरेन्द्र शाहीले नौ दिनको अवधिमा पाच हजार सात सय घरधुरीको लगत संकलन भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार