७ कार्तिक २०८१, बुधबार

हिन्दू राष्ट्रको माग गर्दै बृहत प्रदर्शन




धनगढी / सनातन हिन्दू राष्ट्रको माग गर्दै धनगढीमा शनिबार सुदूरपश्चिम प्रदेश स्तरीय भेला तथा वृहत प्रदर्शन गरिएको छ ।

सनातन संस्कृति समाज नेपाल प्रदेश समितिको आयोजनामा धनगढीको ट्राफिक चौराहदेखि पार्कमोडसम्म पञ्चेबाजासहित र्याली निकालिएको थियो ।

र्यालीमा धार्मिक संघसंस्था, मठमन्दिर, ब्रहमकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रका पदाधिकारी, नेपाल मुस्लिम समाज लगायतका धर्मावलम्बीहरूको सहभागिता रहेको थियो ।
बृहत् प्रदर्शनपछि पार्कमोडमा आयोजित भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा सनातन संस्कृति समाज नेपालका केन्द्रिय अध्यक्ष हरिबोल भट्टराइले धर्म, संस्कृतिको संरक्षण नहुँदा अहिले राष्ट्रमाथि समस्याहरु थपिदै गएको चर्चा गरे ।

‘अहिले नेपालमा धर्मसंस्कृतिको विनास भइरहेको छ । देशमा हत्या, हिंसा, बलात्कार लगायतका जघन्य अपराधहरूमा लगातार बृद्धि भइरहेको छ’ अध्यक्ष भट्टराईले भने– धार्मिक चेतनाले नै देशलाई जोगाइरहेको थियो । धार्मिक संस्कृति, चरित्र, संस्कारले सत्मार्गमा हिड्ने पाठ सिकाएको थियो । त्यसकारण हामी सभ्य, सज्जन र सुसंगठित भएका थियौ । अहिले धर्म र संस्कृति नै विनास भइरहेकाले समस्या बढेको छ ।

अध्यक्ष भट्टराईले संविधानमा नै धर्म निरपक्ष उल्लेख भएकाले मानिसमा धर्म र संस्कारप्रतिको चेतना तथा नैतिकता हराउँदै गएको बताए । उनले भने– धर्म निरपक्षेताले उत्ताउलोपन मात्रै बढाइरहेको छ ।
अध्यक्ष भट्टराइले वर्तमान संविधानलाई निस्क्रिय बनाउदै समय सापेक्ष संविधान बनाउनुपर्ने माग गरे । विदेशीको इशारा र प्रलोभनमा परेर संविधानमा धर्मनिरपेक्षता लेखिएको हो ।

यो जनताले बनाएको संविधान होइन । यो संविधानलाई निस्क्रिय पार्नुपर्छ’ उनले भने– ‘अहिलेको संविधानलाई हटाएर जनताले सोचेको संविधान ल्याउनुपर्छ । सनातन संस्कृतिसापेक्ष संविधान हुनुपर्छ । सनातन संस्कृति, चरित्र, संस्कार गर्न सक्ने खालको मार्ग पहिल्याएर देशलाई हिडाउनुपर्छ ।

उनले सनातन संस्कृतिमा नैतिक नभएका नेतालाई राजनीति गर्ने अधिकार नभएको बताए । उनले संविधानमै हिन्दू राष्ट्र घोषणा गराउन सबै नेपालीहरूले आवाज उठाउनुपर्ने बताए ।


भेलामा समाजका सहअध्यक्ष तारानाथ लुईंटेलले परम्परामा भएका सद्गुणहरूलाई कतै पनि नष्ट हुन नदिई आधुनिकतामा छलाङ मार्ने गरि सुधार ल्याउनुपर्ने बताए । उनले भने– धर्ममा भएका अवगुणहरूलाई हटाउनुपर्छ । सद्गुणहरूलाई पहिल्याउदै र निरन्तरता दिँदै धार्मिक सनातन हिन्दू राष्ट्रको बाटोमा देशलाई डो¥याउनु पर्दछ ।

कार्यक्रममा प्राध्यापक डाक्टर हेमराज पन्तले खुल्ला समाजका कारण समस्या आइरहेको चर्चा गरे । पहिले पहिले विदेशीहरूले हतियारको प्रयोगबाट अर्को देशमा आक्रमण गर्थे । अहिले संस्कृतिमाथि आक्रमण गरी सामाजिक द्वन्द्व निम्त्याएर अस्थिरतातर्फ धकेल्ने काम भइरहेको छ उनले भने– ‘समाजलाई सहि बाटोमा डोर्याउन धर्म, संस्कृति, संस्कार, र रितिरिवाजको पुनर्जागरण आवश्यक भइसकेको छ ।

उनले नेपालीहरूले आफनो संस्कृति, संस्कारमाथि गर्व गर्नुपर्ने बताए ।

समाजका वरिष्ठ उपाध्यक्ष विष्णु भट्टराइले संस्कारबाट नै मानिसलाई सुख मिल्ने बताए । उनले भने– भौतिक भन्दा पनि अध्यात्मिकबाटनै मानिस र राष्ट्रलाई सुखी, समृद्धितर्फ अघि बढाउन सकिन्छ ।
मुस्लिम समाजका नेता शेखमुनिर खाँले देशलाई धर्म निरपेक्षता घोषणा गर्दा विभिन्न धर्मप्रति आस्थावानहरू असुरक्षित बन्दै गएको बताए ।

उनले भने– अहिले क्रिश्चियन धर्मावलम्बीहरूले मुसलमान र हिन्दू धर्मप्रति आस्थावानहरूलाई विभिन्न प्रलोभन तथा झुठ्ठा आश्वासन दिई धर्म परिवर्तन गराइरहेका छन् । त्यसैले सबै धर्मको संरक्षण गर्न पनि नेपाललाई हिन्दू राष्ट्र घोषणा गरिनुपर्छ ।

जनजागरण अभियानका लागि सुदूरपश्चिम प्रादेशिक भेला आयोजक समितिका प्रदेश संयोजक पदमराज जोशीले कुनै पार्टी विशेष नभएर आफ्नो धर्मको मौलिक अस्तित्व जर्गेनाका लागि सभा गरिएको बताए ।


धर्मका बारेमा विगतमा बहस धेरै भए । हामीले नैतिकता हरायौ, उनले भने, जसले गर्दा अहिले आफ्नो धर्मकर्मलाई छोडेर समाजमा बलात्कार, हत्या र हिंसाका घटना बढ्दै गएका छन् । समाजलाई सत्मार्गमा डो¥याउन सनातन हिन्दू धर्म आवश्यक भएकैले यस्तो सभाको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार