१५ चैत्र २०८०, बिहीबार

प्रचण्डलाई १७ सय वर्ष जेल हुनुपर्छ– महत्तो



धनगढी / जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई १७ सय वर्ष जेल राख्नुपर्ने बताएका छन ।

‘अधिकार र पहिचानका लागि लड्ने रेशमलाल चौधरी र लक्ष्मण थारुले आजिवन कारावास बस्नुपर्ने ?’ उनले प्रश्न गर्दै भने– प्रचण्डको जनयुद्धमा १७ हजार मान्छे मारिए । उनले १७ सय वर्ष जेल बस्नुपर्ने होइन ?

उनले अधिकार र पहिचानका लागि अन्तिम लडाइ गर्नुपर्ने बताए । अधिकार र पहिचान माग्नुपर्ने अपराध हो र जेलमा बस्नुपर्ने हो भने हामी तयार छौं’ उनले भने– ‘थारु दाजुभाईको मनमा पहिलेदेखि नै आगो लागेको छ । रातो टिसर्ट लगाएका युवाहरुमा त्यो पिडा, आक्रोस मार्चपासमा देखेको छु ।

नेता महतोले टीकापुर घटना मात्र नभएर विद्रोह रहेको बताए । उनले भने– अधिकार र पहिचानका लागि थारुले विद्रोह गरेको हो । शासकहरुले घटना बनाएर झुठा मुद्दा लगायो ।
उनले संविधान संशोधन गर्न आवश्यक रहेको बताए । ‘संविधानमा थारु लगायत उत्पीडन वर्गको अधिकारलाई नसमेट्नु यो संविधान प्रतिगमनमाथिको प्रतिगमन हो ।’

सभामा थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रिय संयोजक लक्ष्मण थारुले आफूलाई पक्राउ गर्ने तयारी भएको भन्दै अडियोमार्फत आफना धारणा व्यक्त गरे ।

शनिबार कैलालीको हसुलियामा भएको शान्ति सद्भाव न्याय र अधिकारको लागि दासता विरुद्धको थरुहट थारुवान विशेष राष्ट्रिय सम्मेलनमा संयोजक थारुले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।
बिहिबार हसुलियामै पत्रकार सम्मेलन गरी संयोजक लक्ष्मणले आफू भूमिगत नभएको र खुल्ला रुपमा घुमिरहेको दाबी गर्दै सभामा आफनो उपस्थिति रहने बताएका थिए ।

तर, शनिबार उनले अडियो पठाएर कार्यक्रमको सफलताको शुभकामना सन्देश व्यक्त गर्नुका साथै थारु आन्दोलन थप शसक्त बनाइने दाबी गरे ।

अडियोमा संयोजक लक्ष्मणले भनेका छन्– उच्च अदालत दिपायलले नश्लीयपूर्ण, पूर्वाग्राही फैसला सुनाएर जन्मकैदको फैसला सुनाएको छ । मलाई गिरफ्तार गर्ने र जेल पठाउने आदेश भएका कारण बाध्यताबस मञ्चमा आउन सकिन ।

उनले भने– यो हाम्रो भेला संगठन, हाम्रो एकता, हाम्रो अभियान र हाम्रो आन्दोलन दासता विरुद्धको विद्रोहको तयारी हो । अब यो कसैले पनि रोकेर रोकिदैन ।

सभामा नेपाली काग्रेसका केन्द्रीय सदस्य डाक्टर गोपाल दहितले टीकापुर घटना राजनीतिक घटना भए पनि थारुमाथि दमन गरी राज्यले निर्दोष थारुलाई पक्राउ गरी मुद्दा लगाएको टिप्पणी गरे ।
उनले तत्कालिन सरकारले टीकापुर घटना राजनीतिक आन्दोलन हो भन्दै मुद्दा खारेज गर्ने निर्णय गरे पनि कार्यान्वयनमा नआएको बताए ।

थरुहट थारुवान मोर्चाले उठाएको मुद्दा सम्बोधनमा आफ्नो साथ समर्थन रहेको भन्दै कांग्रेस केन्द्रीय सदस्य दहितले भने– पार्टीभित्र अन्तरसंघर्ष गर्दै टीकापुर घटनालाई राजनीतिक मुद्दा बनाएर जेलबन्दीलाई रिहाई गराउनुपर्छ ।

मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज थारुले वर्तमान संविधानले थारुमाथि विभेद कायमै राखेकाले संविधान संशोधन गर्नुपर्ने बताए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले थरुहट आन्दोलनमा लिम्बुवानको साथ रहेको बताए ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले पञ्चायतकालदेखि थारु कल्याणकारिणी सभाले संघीयताको कुरा उठाएको चर्चा गरे । मगरात संघर्ष समितिका संयोजक राम मगरले अव पार्टीभन्दा माथि उठेर जातीय सचेतना आवश्यक रहेको बताए ।

कार्यक्रममा पूर्वमन्त्री रामजनम चौधरी, भानुराम चौधरी, मोर्चाका सल्लाहकार गणेशमान महतो, प्रभा चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार