१३ बैशाख २०८१, बिहीबार

थरुहट/थारुवानको विशेष भेला




धनगढी / कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियामा थरुहट/थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन सुरु भएको छ । सद्भाव, न्याय र अधिकारका लागि भन्दै थरुहटले युवा दस्तासहित सम्मेलन सुरु गरिएको हो ।

सम्मेलनको जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले उद्घाटन गरे । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रामजनम चौधरी पनि सहभागी भएका छन् ।
सम्मेलनको उद्घाटन पुर्व यूवा दस्तासहित मार्चपास गरिएको थियो ।

मार्चपासको नेतृत्व थरुहट युवा मोर्चाका केन्द्रीय अध्यक्ष सीताराम थारुले गरेका थिए । हसुलिया बजारदेखि शुरु भएको मार्चपास सुर्मीनाला हुँदै कार्यक्रमस्थल पुगेर समापन भएको थियो ।

मार्चपासमा कैलालीको कैलारी गाउँपालिकाका यूवाहरू थरुहट/थारुवान राष्ट्रिय मोर्चा लेखिएको फेटा सहित रातो ड्रेसमा उत्रिएका थिए । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका थारु समुदायका व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

टीकापुर घटनाको मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला र संविधानको धारा विभिन्न धारामा थारु समुदायको असन्तुष्टि, राज्य पुनःसंरचना गर्दा गरिएको सिमांकन र नामांकनप्रति रहँदै आएको विमति लगायतका सवालमा सम्मेलनमा गहन ढंगले छलफल गरिने केन्द्रीय प्रवक्ता मिनराज थारुले बताए ।

सम्मेलन उद्घाटनपछि बन्दसत्र सुरु भएको थियो भने आज (आईतबार) घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार