१५ चैत्र २०८०, बिहीबार

भागी विवाह गर्दा…




धनगढी / कञ्चनपुरका बल बहादुर सार्कीले प्रेम गरी मायासंग भागी विवाह गरे । विवाह गरी श्रीमतीसहित भारत जान लागेका उनी दुवैलाई माइती नेपालको सहयोगमा प्रहरीले पक्राउ गरे । श्रीमतीकै जाहेरीमा बलबहादुरले बेचविखनको मुद्दा खेप्नुपर्यो । श्रीमतीकै बयानबाट उनी डेढ वर्ष मै जेलबाट छुटे ।

कैदमुक्त भएपछि सहज जीवनयापन गरिरहेका उनले पुनः कैद जीवन विताउनुपर्छ भन्ने सोचेका थिएनन । एक्कासी यही मंसिर २८ गते उनलाई पक्राउ गरी कैद गरेको छ । श्रीमती मायाले भनिन– मलाई बेचेको आरोपमा अहिले कैद जीवन विताइरहनु भएको छ । तर, मलाई उहाँले वेच्नु भएको थिएन ।’

अनुमोदनसंगको कुराकानीमा मायाले भनिन– अदालतले डेढ वर्ष कैद सजाय तोकेपछि छुटमुक्त भएपछि रोजगारीका लागि भारत जाने र स्वदेश फर्कने क्रम चलिरह्यो तर, एक्कासी अहिले प्रहरीले पक्राउ गर्दा हामी अच्चमित परेका छौं ।’

कानुनको अज्ञानता र प्रक्रियाबारे जानकारी नहुँदा अहिले बलबहादुरले कैद जीवन विताउनु परिरहेको छ । कञ्चनपुर जिल्ला अदालतमा श्रीमती मायाले आफुहरुले भागेर विवाह गरेको तर, बेचविखन गर्ने श्रीमानको कुनै उद्देश्य नरहेको बयान दिएकी थिइन । सोही वयानका आधारमा मानव ओसारपसार अन्तरगत डेढ वर्ष कैद सजाय तोकेको थियो ।

जिल्ला अदालतको फैसलापछि सो मुद्दा पुनरावेदन अदालतमा पेश भएको थियो । २०६८ साल जेठ १० गते पुनरावेदन अदालतले बलबहादुरलाई १० वर्ष कैद तोकेको थियो । मायाले भनिन– जिल्ला अदालतपछि मुद्दा पुनरावेदनमा गएकोबारे जानकारी नै पाएनौं ।’

पुनरावेदन अदालतले फैसला गरेलगतै ७० दिने म्याद तामेली बुझेको भनी कार्तिक २४ गते पत्र बनाएको थियो । मायाले भनिन– पुनरावेदनमा मुद्दा चलेको र फैसला भइ आएको बारे हामीलाई जानकारी नै भएन ।’ पुनरावेदनको म्यादतामेली मायाकी आमा खिमादेवीले बुझेको जनाइएको छ ।

माया र बलबहादुरका तीन छोराछोरी छन । मायाले भनिन– कमाइ गर्ने श्रीमान झुठा मुद्दामा जेल गए । अब परिवारको जीविकोपार्जन कसरी गर्ने भन्ने पनि समस्या रहेको छ ।’ उनी अहिले खुटियाको किनारमा गिट्टी कुटेर दैनिक जोहो गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार