६ बैशाख २०८१, बिहीबार

जनतासंग सांसद अन्तरसंवाद : जनमैत्री कानून निर्माणदेखि विकास निर्माणका चर्चा




हसुलिया (कैलाली)/ प्रदेश सभा सदस्य तथा जनताबीच संवादको संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यसहित बिहीबार कैलालीको कैलारी गाउ“पालिका वडा नम्बर ३, उत्तरभड्रीमा जनतासंग सांसद अन्तरसंवाद कार्यक्रम भएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयको आयोजना तथा युएनडीपी, संसद सहयोग परियोजनाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा प्रदेश सभा सदस्यद्वय वीरमान चौधरी र सुशीला बुढाथोकी, गाउपालिका अध्यक्ष तथा अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संसद सचिवालयका अधिकारी, स्थानीय क्लव, शिक्षक, बुद्धिजीवी, भलमन्सा, किसान, युवा विद्यार्थी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुले कैलारी गाउपालिकाका मोहनपुर, शिवरत्नपुर, हौसलापुर लगायतका स्थानमा झोलुंगे पुल नहुदा स्थानीयले भोग्नु परेका कठिनाई, मुक्त कमैया तथा भूमिहीन सुकुम्बासीका समस्या, ऐलानीपर्ती जमिनमा बसोबास गरिरहेका परिवारका सवाल, रोजगारी, विकास निर्माण योजना र जनताको सरोकार आदि विषयमा आफ्ना धारणा, जिज्ञासा तथा टिप्पणी प्रस्तुत गरेका थिए ।

सहभागीहरुले महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक, लोपोन्मुख समुदाय, विपन्न वर्ग, लगायतका वर्ग र समुदायका अधिकार सुनिश्चित गर्नका लागि सरकारका नीति र ऐनकानून तथा कार्यक्रम, बजेट लगायतका विषयमा पनि जिज्ञासा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य वीरमान चौधरीले कार्यक्रमले आम नागरिक र जनप्रतिनिधिबीच जनताका सवालमा खुला रुपमा छलफल गर्ने वातावरण सिर्जना गरेको बताए । उनले प्रदेश सभाले आम नागरिकका सरोकार, आवश्यकता र चाहनाका आधारमा जनमैत्री कानून निर्माण तथा जनसहभागितामा आधारित विकास निर्माणमा केन्द्रीत रहेको चर्चा गरे । उनले अहिले पनि कतिपय सवालमा प्रदेश तथा संघीय सरकारबीच बलियो सहकार्य र समन्वयको कमी रहेको बताए ।

प्रदेश सभा सदस्य सुशीला बुढाथोकीले प्रदेश सभाले महिला, दलित लगायतका सिमान्तकृत समुदाय र वर्गको सशक्तिकरणका पक्षमा नीति र कार्यक्रम तथा बजेटको प्रबन्ध गरेको चर्चा गरिन् । प्रदेश सांसद बुढाथोकीले लक्षित समुहले पनि प्रदेश सरकारका लक्षित समुह कार्यक्रममा चासो लिएर लाभ लिन आग्रह गरिन् ।

कार्यक्रममा गाउपालिका अध्यक्ष लाजुराम चौधरीले गाउपालिकाले समग्र जनताको विकास तथा गाउको दीगो विकासका लागि हरसम्भव प्रयास गरिरहेको बताए ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष कैलाश चौधरी, वडा सदस्यहरु पार्वति विक, सिताराम चौधरी, गोविन्द चौधरी, पुनाराम चौधरी र डेरलाल चौधरीले धारणा र जिज्ञासा व्यक्त गरेका थिए ।
त्यस्तै, भलमन्सा मतवा महासंघका केन्द्रीय सदस्य खुसीराम चौधरी, स्थानीय राम कुमाल, लक्ष्मीदेवी चौधरी, योजन्ना चौधरी, भोजलाल चौधरी, मुन्ना चौधरी, रमेश चौधरी, दयाशंकर चौधरी, गीता देवी चौधरी, दिपक कुमार, फिरुवा चौधरी, जगन्नाथ चौधरी, र सैंचुराम चौधरीले पनि आफ्ना धारणा र जिज्ञासा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सचिवालयका अधिकृत युवराज जैशीले स्वागत गर्नुका साथै कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए । कार्यक्रममा युएनडीपीका प्रतिनिधि लक्ष्मी विक, संसद सहयोग परियोजनाका पार्वतीकुमारी भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार मनमोहन स्वारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार