१० श्रावण २०८१, बिहीबार

भागरथीको अन्तिम दाहसंस्कार गरियो



धनगढी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शुक्रबार अन्तिम दाहसंस्कार गरिएको छ ।


उनको हत्या भएको १७ दिनमा शुक्रबार उनका आफन्तले शव बुझेका थिए । भागरथीको दशरथचन्द नगरपालिका वडा नम्बर ६ सेरास्थित महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको उनका काका शिवराज भट्टले जानकारी दिए । अन्तिम दाहसंस्कार अघि उनको शवमा राष्ट्रिय झण्डा ओडाइएको थियो ।

भागरथीको शव जिल्ला बैतडी जिल्ला अस्पतालको शवगृहमा राखिएको थियो ।
भागरथीको शवयात्रामा उनका परिवारका सदस्य, आफन्त, शुभेच्छुक, विद्यार्थी, जनप्रतिनिधि, राजनीतिक दल तथा ठूलो संख्यामा स्थानीयको सहभागिता रहेको थियो ।

उनको शवयात्राका क्रममा रुवाबासी समेत चलेको थियो ।

गत माघ २२ गते जंगलमा मृत अवस्थामा भेटिएकी भागरथीको हत्यामा संलग्न अपराधीलाई पक्राउ नगरेसम्म आफन्तले उनका शव बुझ्न अस्वीकार गर्दै आएका थिए ।

प्रहरीले चडेपानीकै १६ वर्षका दिनेश भट्टलाई भागरथी बलात्कार तथा हत्या घटनामा संलग्न रहेको अभियोगमा पक्राउ गरी बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो ।

सार्वजनिक गरेको दिनसम्म दिनेशले आफूले भागरथीको हत्यामात्रै गरेको बताउ“दै आएका थियो । तर, बिहीबार उसका बुबालाई समेत राखेर सरकारी वकिलमा गरिएको बयानमा भने दिनेशले आफूले नै बलात्कार गरी हत्या गरेको स्वीकार गरेको थियो । त्यसपछि मात्रै भागरथीका आफन्तले शव बुझ्न मानेका हुन् ।

शव बुझ्नुभन्दा पहिला बिहान पीडित परिवारले प्रहरी अधिकृत तथा सम्बन्धित निकायलाई जिल्ला प्रशासनमा भेटेर अभियुक्त भनिएका दिनेशले बयान फेरिरहेकाले अझै पनि अनुसन्धान निष्पक्ष रुपमा गर्न आग्रह गरेका थिए । बुधबार नै भागरथीका दाइ शंकर भट्टले दिनेशका विरुद्ध कर्तव्य ज्यान र बलात्कार सम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट म्याद थप गरी पा“च दिन अनुसन्धानका लागि अनुमति दिइसकेको छ ।

भागरथी र दिनेश एकै गाउँ चडेपानीका हुन् । नाताले दुवै दिदीभाइ पर्छन् । दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ श्रीकोटस्थित सनातन धर्म माविमा भागरथी कक्षा १२ र दिनेश कक्षा ११ मा पढ्थे ।

गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लबलेक जंगलमा वीभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार