७ बैशाख २०८१, शुक्रबार

सभामुख थापाको तीर्थप्रसादको जीवन यात्रा लोकार्पण




धनगढी / सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाद्वारा लिखित “तीर्थप्रसादको जीवन यात्रा” पुस्तक बिहीबार लोकपर्ण गरिएको छ ।

बिहीबार सुदूरपश्चिम प्रदेश सभा प्रांगणमा आयोजित विशेष कार्यक्रममा प्रदेश प्रमुख सर्मिला कुमारी पन्त र मुख्यमन्त्री त्रिलोचन भट्टले संयुक्त रुपमा सो पुस्तकको लोकार्पण गरे ।

तीर्थप्रसादको जीवन यात्रा पुस्तकमार्फत सभामुख थापाले आफ्नो जीवन यात्रा प्रस्तुत गरेका छन् ।
पुस्तकमा उनको जन्मथलो बझाङको खप्तडछान्ना गाउपालिकाको देहली गाउदेखि शिक्षण पेसाका २८ वर्ष, राजनीति यात्रादेखि प्रदेश सभामुख निर्वाचित हुदासम्मको वर्णन गरेका छन् ।

पुस्तकमा ६७ वर्षीय सभामुख थापाले बाल्यकाल, शिक्षा आर्जन, शिक्षण पेसा र राजनीतिक क्षेत्रका भोगाई तथा अनुभूति प्रस्तुत गरेका छन् ।

कार्यक्रममा पुस्तकमाथि टीप्पणी गर्दै मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीले तीर्थप्रसादको जीवन यात्रा करिब तीन दशक लामो समय शिक्षक पेसामा बिताएका एक असल शिक्षकको कथा भएको चर्चा गरे ।

“यो कृति जीवनी, स्मरण र आत्मकथाको त्रिवेणी हो’ साहित्यकार जोशीले भने– यो पुस्तक विद्यार्थी, शिक्षक र राजनीतिकर्मीहरुका लागि सद्मार्गमा लाग्ने प्रेरणा स्रोत पनि हो ।


उनले भने– यो पुस्तक इतिहास, संस्कृति, शिक्षा र विकास निर्माणका योजनाको एउटा दस्तावेज पनि हो । तीर्थप्रसादको जीवनयात्रा पढेर तत्कालीन समयको समाज, शिक्षा, संस्कृति र विकास बुझ्न सहज हुने अपेक्षा गर्न सकिन्छ । पुस्तकमा वर्णीत शिक्षकले गरेका विद्यालय सुधारका पहल र सभामुख हुदा संगालेका अनुभूव रोचक र अनुकरणीय छन् ।

अर्का टिप्पणीकार उपप्रध्यापक वेदप्रसाद जोशीले पुस्तकमा बर्णित बाल्यकाल, शिक्षण अविध र अवकाशपछिको राजनीतिक अनुभूतिहरु अरुलाई पनि प्रेरणा दिने खालका रहेको टिप्पणी गरे । उनले भने– लेखकले प्रतिकात्मक रुपमा आफूलाई तीर्थप्रसादको रुपमा उभ्याएर पुस्तकको नामाकरण गरेका छन् ।

पुस्तकमाथि टिप्पणी गर्दै उपप्रधापक जोशीले भने– लेखकका आमा–बुवाले ५२ वर्षसम्म छोरा जन्माउन नसकेपछि भारतका विभिन्न तीर्थस्थलको दर्शन गरेको र त्यसपछि उहा (सभामुख थापा) को जन्म भएको रहेछ । त्यसैले तीर्थको प्रसादस्वरुप उहाले आफूलाई तीर्थप्रसाद भन्नु भएको रहेछ ।

उनले थपे– यसले छोरालाई महत्व दिने त्यतिबेलाको सामाजिक संस्कार पनि प्रतिविम्बित गर्छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु, प्राध्यापक, शिक्षक, सञ्चारकर्मी, बुद्धिजीवी, साहित्यकार, लेखक, प्रदेश सभाका अधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार