१० श्रावण २०८१, बिहीबार

भागरथीको हत्यामा दिनेशतर्फ यसरी सोझियो प्रहरी



धनगढी । बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको हत्यामा संलग्न रहेको निष्कर्षसहित प्रहरीले दिनेश भट्टलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । प्रहरीका अनुसार दिनेश स्वयंले अपराध स्वीकार गरिसकेको अवस्थामा उनलाई सार्वजनिक गरिएको हो ।

सो घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार दिनेश नै अभियुक्त हो भन्नेमा मुख्य तीन आधार देखिएको छ । अभियुक्तको बयान, परिस्थितिजन्य प्रमाण र मोबाइल कल डिटेल, लोकेसन लगायत प्राविधिक प्रमाणका आधारमा दिनेश नै उक्त घटनामा संलग्न रहेको निष्कर्षमा पुगिएको ती प्रहरी अधिकृतले बताए ।

‘पहिलो कुरा त, अभियुक्त आफैले अपराध स्वीकार गरिसकेको अवस्था छ,’ ती अधिकृतले भने, ‘परिस्थितिजन्य प्रमाण पनि उनको बयानसँग मिल्दोजुल्दो छ, कल डिटेल, लोकेसन लगायत अन्य प्राविधिक प्रमाणले पनि उनलाई नै संकेत गरेको अवस्था छ ।’

भागरथी हत्याको १३ दिनसम्म प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गरी विभिन्न संदिग्धसँग बयान लिनुका साथै घटनास्थल आसपासका कयौं स्थानीयवासीसँग घटना भएको दिन र समयको सेरोफेरोमा भएका गतिविधिबारे सोधपुछ गरेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले केही व्यक्तिलाई आफ्नो राडारमा राखेको थियो । परिस्थितिजन्य प्रमाण, लोकेसन, आसपासका मानिहरुको भनाइ लगायतका ‘क्लु’ का आधारमा प्रहरीले करिब एक सातादेखि अनुसन्धानको दायरालाई सीमित व्यक्तिमा केन्द्रित गर्दै आएको थियो ।

सोही क्रममा प्रहरीले दिनेशसँग समेत पटक पटक सोधपुछ गरेको थियो । मंगलबार अबेर सोधपुछका क्रममै दिनेशले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ । दिनेश र भागरथी एउटै विद्यालयमा अलग अलग कक्षामा पढ्दथे । उनीहरु एकै गाउँ निवासी पनि हुन् ।

१७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न आरोपी दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भट्टको हत्यामा संलग्न रहेको अभियोगमा सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने दिनेश पक्राउ परेका हुन् । भागरथी पनि सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् । 

पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तम राज सुवेदीले प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा दिनेशलाई पक्राउ गरिएको बताए । 
१६ वर्षीय भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलार्इ साविती बयान दिएका छन् ।

उनले उनीविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने पनि बताए । 

माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार