१० श्रावण २०८१, बिहीबार

लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन मिडियाको अहम् भूमिका– मुख्यमन्त्री



नेपाल पत्रकार महासंघको साधारण सभा

गोदावरी (कैलाली) । नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम प्रदेशको दोस्रो साधारण सभा छ बु“दे घोषणाापत्र जारी गर्दै शुक्रबार कैलालीको गोदावरीमा भएको छ ।


महासंघको साधारण सभाले प्रेस स्वतन्त्रता तथा सञ्चारकर्मीहरुको भौतिक तथा पेसागत सुरक्षा र अधिकार संकुचन गर्ने खालका कुनै पनि ऐन, नियम, निर्णय तथा कार्यहरु नगर्न नराउन सबै तहका सरकारहरुलाई आग्रह गरेको छ ।

महासंघले महासंघका जिल्ला शाखाका भवन लगायतका भौतिक संरचना निर्माणका साथै संस्थागत विकासका लागि प्रदेश तथा स्थानीय सरकारहरुलाई आग्रह गरेको छ ।

यसअघि साधारण सभाको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय पद्धतिको विकासमा मिडियाको अहम् भूमिकाको चर्चा गर ।
उनले भने– संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुभएको छ । हामीलाई अदालतबाट जनताको पक्षमा फैसला आउने विश्वास छ । त्यसका लागि जनतालाई जागरुक बनाउन मिडियाले नै अहम् भूमिका निर्वाह गर्नु पर्दछ ।
मुख्यमन्त्री भट्टले समाजका मुलभूत तथा ज्वलन्त सवालमा तथ्यगत रुपमा खोजमुलक

समाचारमा सुदूरपश्चिमको मिडियाले विशेष ध्यान दिन आग्रह गरे ।

आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले अहिले मुलुकमा मै नै राज्य हु भन्ने दम्भपूर्ण प्रवृत्ति बढेको बताए ।

उनले भने– सात दशकको अवधिमा भएका हरेक राजनीतिक परिवर्तनका उपलब्धीहरु षडयन्त्रमुलक ढंगले असफल पारिएका छन् । जसरी अहिले गणतन्त्रका सबैभन्दा ठूला विरोधी नै गणतन्त्रका महानायक बनेको भ्रम दिइरहेका छन् ।

उनले संसद मरे पनि ठिक र ब्यु“झे पनि ठिक भन्ने राजनीतिक निर्णय बिडम्बनापूर्ण भएको चर्चा गरे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता डाक्टर रणबहादुर रावलले अहिले नेकपाका दुवै समुहबाट असंवैधानिक गतिविधि भइरहेको आरोप लगाए ।

प्रमुख प्रतिपक्षी नेता रावलले अहिले अवरुद्ध हुन थालेको संवैधानिक विधि र प्रक्रिया जोगाउन मिडियाले भूमिका निर्वाह गर्न आग्रह गरे ।

साधारण सभामा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउलेले सुदूरपश्चिम प्रदेश र व्यवसायिक पत्रकारिता, महासंघको मुख्य दायित्व र भूमिका, वर्तमान अवस्थामा मिडियाका कन्टेन्ट लगायतका विषयमा प्रस्तुति गरेका थिए ।

साधारण सभामा महासंघका क्षेत्रीय संयोजक तथा केन्द्रीय सदस्य मीन बम, महासंघका केन्द्रीय सदस्यहरु उत्तर बिष्ट, श्याम भट्ट र सिर्जना अर्याल, नेपाल प्रेस युनियनका क्षेत्रीय संयोजक लालबहादुर ऐरी, महासंघका पूर्व उपसभापति चित्राङ्ग थापा, डिआर पन्त, पूर्व क्षेत्रीय संयोजक मनमोहन स्वार, प्रेस संगठनका प्रदेश संयोजक रामसिंह ठगुन्ना, बानका प्रदेश अध्यक्ष ज्ञानेन्द्र महता, इन्सेकका प्रदेश संयोजक खडगराज जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रम महासंघका प्रदेश अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा भएको थियो । महासंघका प्रदेश उपाध्यक्ष चादनी आचार्यले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव योगेश रावलले गरेका थिए ।

पत्रकारद्वय थापा र स्वारलाई अग्रज पत्रकारिता सम्मान

१४ जना पत्रकार र मिडिया गृह पुरस्कृत

सुदूरपश्चिम प्रदेशका पत्रकारद्वय चित्राङ्ग थापा र मनमोहन स्वार अग्रज पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् ।

महासंघको शुक्रबार भएका साधारण सभाले पत्रकारद्वय थापा र स्वारलाई जनहरी साढे बाह्र हजार रुपैया राशीको सम्मान प्रदान गरियो ।

सो अवसरमा मुख्यमन्त्री भट्टले सम्मानपत्र प्रदान गरेका थिए ।

साधारण सभामा डडेल्धुराका पत्रकार डिआर पन्तलाई लीलाना ओझा पत्रकारिता पुरस्कार प्रदान गरियो ।


त्यस्तै, बझाङका बसन्तप्रकाश सिंहलाई कर्ण बोहरा स्मृति पुरस्कार, बाजुराका प्रकाशबहादुर सिंहलाई जेपी जोशी पत्रकारिता पुरस्कार प्रदान गरियो ।


त्यस्तै, कञ्चनपुरका दूर्गा उपाध्याय, बैतडीका तृप्ती शाही र अछामका गीता कुवरलाई के आइ सिंह सम्मान, डोटीका खगेन्द्र बहादुर सिंह, कैलालीका उन्नती चौधरी र दार्चुलाका मनोज बडुलाई जयपृथ्वीबहादुर सिंह पत्रकारिता पुरस्कार प्रदान गरियो ।
सबै पुरस्कारको राशी १२ हजार रुपैया रहेको छ ।


त्यस्तै, दार्चुला जिल्लालाई उत्कृष्ट शाखा सम्मान तथा कैलालीको पहुरा दैनिकलाई उत्कृष्ट दैनिक पत्रिका सम्मान प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार