११ श्रावण २०८१, शुक्रबार

सेवा प्रदायकको कार्यक्रम, कार्यनीति र प्रक्रियाबारे अभिमुखीकरण



धनगढी । सेवा प्रदायक निकायको कार्यक्रम, कार्यनीति र प्रक्रियाबारेमा जानकारी गराउन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

परिवर्तनका लागि कार्यरत युवा समूह, नेपाल (याक नेपाल) ले मंगलबार धनगढी उपमहानगरपालिकाको कार्यक्रम, कार्यनीति र प्रक्रियाबारे भूमिहीन सुकुम्बासी तथा सीमान्तकृत वर्गलाई जानकारी कार्यक्रम आयोजना गरेको हो । धनगढी उपमहानगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरुलाई धनगढी उपमहानगरपालिकाका कृषि, शिक्षा, स्वास्थ्य तथा उद्यम विकास शाखाका अधिकृतहरुले उपमहानगरपालिकाको कार्यक्रम र त्यसलाई कार्यान्वयन गर्ने प्रक्रियाबारे जानकारी गराएका थिए ।

कार्यक्रम उद्घटन गर्दै धनगढीका नगर प्रमुख नृपबहादुर वडले सहभागीहरुलाई उद्यममा लाग्न आव्हान गरेका थिए । उनले उद्यममा लाग्ने नगरबासीलाई उद्यम विकासका लागि सहयोग गर्ने कार्यक्रम रहेको बताउँदै ज्याला मजदुरी गर्नु भन्दा उद्यमबाट जीवनयापन गर्न निकै सहज हुने बताए । उनले धनगढी–१७, धुरझन्नाको सुकुम्बासी वस्तीलाई उपमहानगरपालिकाले यातायात, खानेपानी र शिक्षाको पहुँचमा विभिन्न योजना ल्याएको बताए ।

उनले खुटिया नदी कटान रोक्नका लागि तटबन्धको योजना पनि रहेको बताए । विकासको काम गर्दै गोदावरीका सुकुम्बासीलाई झुरझन्नामा ल्याएर राख्ने सरकारसंग पनि लडाई जारी राखेको उनले बताए । उनले कोरोनाका कारण सम्झौता भएपनि कार्यान्वयन हुन नसकेको योजनाको बजेट संघीय सरकारले फिर्ता लगेको हुनाले उपमहानगरपालिकासंग अहिले बजेट अभाव भएको बताए । उनले बजेट अभावमा १० हजारको चेक काट्नका लागि व्यापारीहरुबाट कर भुक्तानी हुन तीन दिन पर्खिनुपर्ने भएको बताए ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले संविधानले नै शिक्षा, स्वास्थ्य, कृषि, उद्यम गर्न पाउने अधिकारको व्यवस्था गरेको हुनाले उपमहानगरपालिकाले पनि सोही अनुसार कार्यक्रम ल्याएको बताए । उनले संविधानमै समानताको हक समेत रहेको बताउँदै त्यसका लागि पनि नगरपालिकामा कार्यक्रम रहेको बताए ।

कार्यक्रममा धनगढी उपमहनगरपालिकाको वडा नम्बर १, २ र १७ बाट भूमिहीन सुकुम्बासी तथा सीमान्तकृत समुदायका व्यक्तिहरुको सहभागिता थियो । कार्यक्रममा धनगढी उपमहानगरपालिकाकका रोजगार संयोजक चन्द्रबहादुर महरा, पशु शाखा अधिकृत पदमबहादुर रौले, स्वास्थ्य शाखा अधिकृत कुम्भराज उपाध्याय, कृषि शाखा अधिकृत लोकराज उपाध्याय र कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत जनकराज बोहराले सहजीकरण गरेका थिए ।

याक नेपालका अध्यक्ष धनबहादुर रावलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा याक नेपालका कार्यकारी निर्देशक डबल बमले स्वागत तथा कार्यक्रमको उद्देश्य बारे जानकारी गराएका थिए भने याक नेपालका कार्यक्रम संयोजक देवी खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।

वस्तीको समस्या समाधान गर्न माग

कार्यक्रममा धुरझन्ना सुकुम्बासी शिविरका बासिन्दाले नगरप्रमुख वडलाई वस्तीको समस्या समाधान गर्न माग गर्दै ज्ञापन पत्र समेत बुझाएका थिए । गोदावरी नगरपालिका–६, हरैयाबाट धुरझन्नामा सारिएका ६२ परिवार सुकुम्बासीहरुले नयाँ ठाउँको समेत लालपुर्जा पाउन नसकेको गुनासो गरेका छन् ।

उनीहरुले जिर्ण आर्थिक अवस्था भएका कारण घर निर्माण गर्न नसक्दा अस्थाई टहरामा बसोवास गर्न वाध्य भएकोले हावा, हुरी बतास, चिसो, घाम पानी, विषलु जिव जनावरको जोखिम रहेको ज्ञापन पत्रमा जनाएका छन् । उनीहरुले जिविकोपार्जनको स्रोत दैनिक ज्यालादारी नै रहेपनि स्थानियस्तरमा ज्यालादारीमा काम नपाउने गरेको गुनासो गरेका छन् ।

सुकुम्बासी बस्तीको ज्ञापन पत्रमा खानेपानी तथा शौचालयको व्यवस्था तुरुन्त गर्न, जिविकोपार्जनका लागि आयआर्जन र व्यवसायिक सीप तालिम र रोजगारको व्यवस्था गर्न, सुरक्षित आवास निर्माण गरिदिन, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १०० दिनको रोजगार उपलब्ध गराउन, विद्युत सेवा उपलब्ध गराउन र शिवगंगा नदीमा पक्की तटबन्ध निर्माण गर्न माग गरिएको छ । सो समुदायको तर्फबाट मुकेश बोहराले नगरप्रमुख वडलाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार