२३ बैशाख २०८१, आईतवार

सम्पादकीय : भागरथीको न्यायका लागि



एक पटक पुनः सुदूरपश्चिम प्रदेश स्तबध भएको छ । विद्यालयबाट घर फर्किने क्रममा बैतडीको दोगडाकेदार गाउपालिकाका सत्र वर्षीया भागरथी भट्ट पापीहरुबाट सिकार भएकी छिन् । दुई महिना अघि मात्र बुबा गुमाएकी विपन्न परिवारकी भागरथीलाई कलिलो उमेरमै आततायीहरुबाट पाशविक ढंगले हत्या गरे । एक पटक फेरि समाज लज्जित भएको छ । राज्यको कानून व्यवस्थामाथि चुनौति थपिएको छ । भागरथीको बलात्कार पछि हत्या भएको उनको शवको प्रकृतिले देखाएको छ । घटनाको सत्यतथ्य प्रहरी अनुसन्धानबाट खुलासा हुने नै छ । घटनाको विरोधमा सर्वत्र प्रदर्शन भएका छन् । आवाज उठेका छन् । सरकारको ध्यानाकर्षण गरिएको छ । दुई वर्ष अघि महेन्द्रनगरकी बालिका तेह्र वर्षीया निर्मलाको बलात्कार र हत्या भएको थियो । सो घटनाको अझैं पनि सत्यतथ्य पत्ता लागेको छैन । अपराधीहरुलाई कानूनको कठघरामा उभ्याइएको छैन । निर्मला बलात्कार तथा हत्या घटनाको सत्यतथ्य पत्ता लगाउन तथा दोषीहरुलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन महेन्द्रनगर तथा देशका विभिन्न स्थानमा आन्दोलन भयो । समाजका सबै पक्ष आन्दोलनमा उत्रिए । तर, अहिलेसम्म सो घटनाको सत्यतथ्य पत्ता लगाउन सरकार असफल भएको छ । वास्तवमा सरकारको नालायकीपनको यो ज्वलन्त उदाहरण हो ।

अहिले फेरि एउटी किशोरीले अकालमा ज्यान गुमाउनु परेको छ । यो घटनामा प्रहरीले छिटो सत्यतथ्य पत्ता लगाएर दोषीहरुलाई कानूनको कठघरामा उभ्याउछ भन्ने अहिलेका लागि अपेक्षा मात्रै गर्न सकिन्छ । आम नागरिकले निर्धक्कसंग बाच्न पाउने अधिकारको समेत हनन् भइरहेको अहिलेको परिप्रेक्ष्यमा सरकारले आफ्ना पछिल्ला असफलताहरुलाई यो घटनामा पुनरावृत्ति गर्ने छैन भन्ने पनि अहिले आशा गर्न सकिन्छ । यो घटनाले फेरि एक पटक महिला हिंसाको क्रुर रुप देखाएको सन्दर्भमा समाजका सबै पक्ष, अभिभावक, अधिकारकर्मी, राजनीतिक दल सबै घटनाको विरोधमा सशक्त ढंगले अगाडी आउनु पर्दछ । सुदूरपश्चिम प्रदेशकी चेली निर्मलाले दुई वर्षसम्म पनि न्याय पाउन नसकेको दुर्भाग्यपूर्ण स्थिति फेरि पनि दोहोरियो भने सबैका लागि योभन्दा लज्जाको विषय अर्को हुनेछैन ।

आजदेखि सुदूरपश्चिम प्रदेश सभाको हिउदे अधिवेशन शुरु हुदैछ । प्रदेश सभामा प्रदेश सभा सदस्यहरु तथा सिंगो सदन भागरथीको बलात्कार तथा हत्या घटनामा कसरी प्रस्तुत हुन्छ ? हेर्न बाकी नै छ । संसदले किशोरी भागरथीको हत्या घटनालाई कति गम्भीरतापूर्वक लिन्छ ? प्रदेश सरकारले यो घटनामा कत्तिको संवेदनशीलता तथा गम्भीरता देखाउछ ? यस प्रदेशका आम नागरिकको अहिलेको चासोको विषय बनेको छ, बन्नु पर्दछ । अब कुनै पनि बहानामा यो घटनाको सत्यतथ्य छानबिन तथा दोषीहरुलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याउन ढिलाई गरियो भने प्रदेश वा संघीय सरकारका लागि अभिसाप हुृनेछ भन्ने पनि बोध हुनुपर्दछ । त्यसका लागि सुदूरपश्चिम प्रदेशको सिंगो समाजले अत्यन्त सजगतापूर्वक दबावलाई निरन्तरता दिनु आवश्यक छ । एक पटक फेरि अधिकारकर्मी, नागरिक समाज, युवा विद्यार्थी, अभिभावक, राजनीतिकर्मी सहित समाजका सबै पक्षले यो घटनाको छिटोभन्दा छिटो सत्यतथ्य पत्ता लगाउन तथा दोषीहरुलाई पक्राउ गरी कडा कानूनी कारबाहीको दायरामा ल्याउन एकजुट भएर निरन्तर दवाव बढाइराख्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार