१० श्रावण २०८१, बिहीबार

मन्त्री भट्टको दाबी– रेशमलाल निर्दोष छन्



धनगढी । नेकपा (ओली पक्ष) का नेता एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले टीकापुर घटनामा रेशमलाल चौधरी निर्दोष भएको दाबी गरेका छन् ।

नेकपा ओली पक्षको प्रेस संगठनले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश भेलामा मन्त्री भट्टले टीकापुर घटनामा रेशमलाल अनाहक मुछिएको दाबी गरे । उनले टीकापुर घटनाका दोषी बाहिर घुमिरहेको हुनसक्ने बताए ।

नेपालमा भएका ठूला–ठूला घटनामा निर्दोष व्यक्ति फसेको र दोषीले उन्मुक्ति पाइरहेको यथार्थ कसैले बिर्सन नहुने उनको तर्क छ । मन्त्री भट्टले नेकपा (दाहाल–नेपाल पक्ष) ले धनगढीमा गरेको जनसभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूमाथि पूर्वाग्रही भएर खनिएको आरोप लगाए । ‘विगत कसको कस्तो थियो यर्थाथ लुक्दैन,’ उनले भने– धनगढीमा आएर मेरो आमालाई सम्झिनु भएछ खुसी लाग्यो ।

उनले प्रचण्डले आफूलाई दलाल भनेर आरोप लगाएकोप्रति आफ्नो खासै टिप्पणी नभएको बताए । उनले नेकपा अध्यक्ष प्रचण्ड बिक्षिप्त बन्दै गएको आरोप लगाए । ‘धनगढी सभामा प्रचण्डले त्यहाँ मेरो नाम लिएको भए जनताले ढुंगा हिर्काउँथे’ मन्त्री भट्टले भने– संस्कारबिहिन बन्दै गएपछि प्रचण्डले जे मन लाग्यो त्यो बोल्ने गर्नुभएको छ ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री बन्ने र एक नम्बर अध्यक्ष बन्ने लक्ष्य पुरा नभएपछि प्रचण्ड पार्टीबाट चोइटिएर गएको आरोप लगाए । उनले चोइटिएर गएका प्रचण्ड लाल गद्दार भएको आरोप लगाए । उनले प्रचण्ड–माधवले जनतामा भ्रम फैलाउने काम गरिरहेको बताए ।

मन्त्री चौधरीले १० बर्षे युद्धकलामा प्रचण्डसँग हिँडेको स्मरण गर्दै पार्टी एकतापछिको उद्देश्य विपरीत प्रचण्ड आफ्नो स्वार्थमा लागेको बताए । अहिले सरकारले द्वन्दकालका घाइते, अपाङ्ग र सहिद परिवारलाई आवश्यक सहयोग गर्न प्रक्रिया अगाडी बढाएको मन्त्री चौधरीले बताए ।
राष्ट्रियता र स्वाधीनताका पक्षमा सकारले काम गरिरहेको उनको दाबी छ । पत्रकारलाई यी कुराहरू जनतामाझ पु¥याउन कलम चलाउन आग्रह गरे ।

मन्त्री चौधरीले श्रमिकहरूले कोरोना महामारीका बेला भोगको समस्या हल गर्न सरकारले गत वर्ष चैतभित्रको पुरै तलब दिने, वैशाखको आधा, जेठको काम गर्न गए पुरै, काममा नगए आधा तलब दिने निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार