१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेश सभाको हिउदे अधिवेशन शुरु : नेकपाको दुबै गुटका सांसद् एकै साइडमा



भागरथी बलात्कार तथा हत्या घटनाबारे व्यापक चासो र चिन्ता

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउदे अधिवेशन सोमबारदेखि शुरु भएको छ । हिउदे अधिवेशनको पहिलो दिन बैतडी दोगडाकेदार गाउपालिकाकी १७ वर्षीया भागरथी भट्टको बलात्कार तथा हत्या घटनाबारे व्यापक चासो र चिन्ता व्यक्त भएको छ ।

प्रदेश सभाका सातौ अधिवेशनको पहिलो बैठकको छलफलमा भाग लिएका प्रदेश सभा सदस्यहरुले किशोरी भागरथीको बलात्कार तथा हत्या घटनाको सत्यतथ्य पत्ता लगाएर अपराधीलाई कडा कानूनी कारबाहीको दायरामा ल्याउन माग गरे ।

प्रदेश सभा सदस्यहरुले कञ्चनपुरकी बालिका निर्मला पन्त बलात्कार तथा हत्या घटनाको दुई वर्षसम्म पनि सत्यतथ्य पत्ता नलागेको र दोषीहरुमाथि कारबाही नभएको जस्तो नियति भागरथीको घटनामा दोहोरिन नदिन सरकारलाई चेतावनी दिए ।

प्रदेश सभाको पहिलो दिन विशेष समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले भागरथी बलात्कार तथा हत्या भएको छ दिन भइसक्दा पनि घटनाको सत्यतथ्य पत्ता लाग्न नसकेको र अपराधीहरु पक्राउ गर्न नसकेकोप्रति दुःख व्यक्त गरे । उनले किशोरी भागरथीको जस्तो घटना प्रदेशमा दोहोरिन नदिन सरकारले सजगता अपनाउन माग गरे ।
प्रमुख प्रतिपक्षी नेता डाक्टर रावलले प्रदेश सरकारले जनताको जिउ धनको सुरक्षा तथा जनतालाई शान्तिको प्रत्याभूति दिलाउन नसकेको तथा छोरीबेटीहरुको अस्मिताको रक्षा गर्न असफल रहेको आरोप लगाए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले बैतडीकी किशोरी भागरथी बलात्कार तथा हत्या घटनाको अनुसन्धान कार्य केन्द्रीय सरकारमा मात्रै निहित देखिएको बताए । उनले केन्द्रीय सरकारले सबै अधिकार आफ्नै हातमा लिएकोले बलात्कारका घटना दिनप्रतिदिन बढिरहेको र अपराधीहरु खुलेयाम घुमिरहेको आरोप लगाए ।

जनता समाजवादी पार्टीका नेता कृष्णबहादुर चौधरीले भागरथी हत्याको घटनामा संलग्नलाई चाँडै कानुनी दायरामा ल्याउनुपर्ने माग गरे । उनले भागरथीका अपराधीलाई न्याय दिलाउन तीनै तहका सरकारले लाग्नुपर्ने बताए । ‘अपराधीलाई छिटोभन्दा छिटो पत्ता लगाउनु पर्छ,’ उनले भने, ‘निर्मलाको केसले सारा जनता रोएका छन् । भागरथीको केसमा कुनै ढिलाई नहोस् ।’
प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले पनि घटनाको सत्यतथ्यका लागि सम्बन्धित निकायले ध्यान पुर्‍याउनु पर्ने माग गरिन् ।

सदन शुरु हुने वित्तिकै प्रदेश सभा सदस्य लिलाधर भट्टले समय लिंदै छ दिन बितिसक्दा समेत भागरथीका हत्यारा तथा बलात्कारी पत्ता लाग्न नसकेको भन्दै दुःख व्यक्त गरे । उनले यो अवस्थामा प्रदेश सरकारका मन्त्रीहरूले उनको न्यायका निम्ति लड्नुपर्ने बताए । उनले घटनाको अनुसन्धान तथा छानविन प्रति प्रदेश सरकार ध्यान नदिएको भन्दै विरोध जनाए ।
दोगडाकादार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथीको शव माघ २५ गते जंगलमा क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

कृषि मन्त्रालयको तीन विधेयक टेबुल

सुदूरपश्चिम प्रदेश सभाको सातौं अधिवेशनको पहिलोमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तीन वटा विधेयक टेबुल भएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले सुदूरपश्चिम प्रदेशको बीऊ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, पशु सेवा स्वास्थ्य सम्बन्धी व्यवस्था बनेको विधेयक र प्रदेशको दुग्ध विकास बोर्ड स्थापना र व्यवस्था गर्न बनेको विधेयक संसद्मा टेबुल गरेकी हुन् ।
सभाको अर्को बैठक फागुन ६ गते बिहीबार दिउँसो १ बजे बोलाइएको छ ।

त साउन ३१ गते प्रदेशसभाको छैटौँ एवम् बजेट अधिवेशन अन्त्य भएको थियो । छैटौँ अधिवेशनसम्म प्रदेश सभामा दर्ता भएका ४४ विधेयक मध्ये ४२ वटा विधेयक पारित भएका थिए । प्रदेश सभाको छैठौं अधिवेशन सकिएको झण्डै छ महिना पुग्नै लाग्दा सातौं अधिवेशन शुरु भएको छ ।

नेकपाको दुबै गुटका सांसद् एकै साइडमा

पार्टी विभाजनको अन्तिम चरणमा पुगेको नेकपाका दुबै पक्षका सांसद्हरुले सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा एकै साइडमा बसेका छन् । पार्टी औपचारिक रुपमा विभाजन नभइसकेको हुनाले नेकपाको ओली र प्रचण्ड–माधव समूहका सांसद्हरुका लागि प्रदेश सभाले कुर्सी अगल व्यवस्था नगरेको हो ।

नेपाका दुबै गुटका सांसद्हरुले सत्तारुढ दल बस्ने साइडमै बसेर प्रदेश सभाको बैठक सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार