१० श्रावण २०८१, बिहीबार

भागरथी हत्या घटना : बलात्कारपछि हत्या भएको पुष्टि



धनगढी । बैतडीको दोगडाकेदार गाउपालिका वडा नम्बर ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार भागरथीको शवको पोस्टमार्टम रिपोर्टमा उनको बलात्कार पछि घाटी थिचेर हत्या भएको पुष्टि भएको छ । बैतडी जिल्ला अस्पताल शवको पोस्टमार्टम भएको थियो ।

एक उच्च प्रहरी अधिकृतका अनुसार पोष्टमार्टम रिपोर्टमा “भागरथीको बलात्कार पछि घाटी थिचेर हत्या भएको पुष्टि भएको छ । उनको घा“टी निमोठेको र शरीरका भित्रि भागमा पनि चोट रहेको” उल्लेख छ । उनको यौनाङ्गमा गहिरो चोट लागेको र टाउको र हातमा समेत चोट लागेको पाइएको छ ।

त्यस्तै, शरीरको विभिन्न भागमा निला दाग रहेको पाइएको छ । घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले भागरथीलाई घिसारेको हुनसक्ने बताए । शव भेटिएको वरपर झाडी मडारिएको पाइएको छ ।

यसैबीच, भागरथी बलात्कार तथा हत्या घटनाको अनुसन्धानका क्रममा प्रहरीले शंकास्पदहरुको “क्लोज रिङ” बनाएको छ । प्रहरी स्रोतका अनुसार विभिन्न तथ्य र सूचनाका आधारमा शंकास्पदहरुको “क्लोज रिङ” बनाइएको छ । प्रहरीले सो बलात्कार तथा हत्या घटनामा भागरथीका नजिकका व्यक्तिको संलग्नता हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेको बताइन्छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (बरिष्ठ प्रहरी उपरीक्षक) मुकेश सिंहले सूक्ष्म रुपमा घटनाको अनुसन्धान अघि बढिरहेको बताए । उनले भने– केही क्लुहरु भेटिएका छन् । विभिन्न कोणबाट अनुसन्धान जारी छ । केही सामग्री अनुसन्धानका लागि विधि विज्ञान प्रयोशालामा पठाएका छौं ।

प्रहरीले भागरथीले प्रयोग गरेको मोबाइल फोनको कल डिटेल लगायत प्राविधिक पक्षको अनुसन्धान पनि अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई मोबाइलमा केही कल आएको भए पनि उनले रिसिभ र कलब्याक भने नगरेको पाइएको छ ।

उनीसंगै विद्यालयबाट निस्किदा चार जना साथी रहेको र घरमा आमा एक्लै छन् भन्दै उनी साथीहरुबाट छुट्टिएर एक्लै हिडेकी थिइन् । बिहीबार बिहान उनी मृत फेला परेकी थिइन् । भागरथीको कपडा च्यातिएको, शरीरमा नीलडाम, घाउ, घाटी निमोठेको पाइएको छ । शवको प्रकृति हेर्दा भागरथीले अपराधीसंग संघर्ष गरेको देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरुको अनुमान छ ।

घटनाको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धान गरिरहेको छ ।

घटनाबारे जानकारी लिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी बैतडीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार