३० चैत्र २०८१, आईतवार

छोरीको जन्म अनुपातमा कमी



धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा छोराको जन्मको तुलनामा छोरीको जन्म अनुपातमा कमी आएको तथ्यांकले देखाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा शिशु जन्ममा छोराको तुलनामा छोरीको जन्म अनुपात ५० प्रतिशत भन्दा पनि कम रहेको छ । एक दशकअघिसम्म सुदूरपश्चिम प्रदेशमा छोरीको जन्म अनुपात छोराको तुलनामा अधिक रहे पनि अहिले कमी आएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷७५ मा प्रदेशमा ४३ हजार आठ सय ६४ शिशुको जन्म भएको थियो । सो वर्ष शिशु जन्ममध्ये २३ हजार चार जना छोराको जन्म भएको थियो भने २० हजार आठ सय ६० छोरीको जन्म भएको थियो । प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सो वर्ष प्रदेशमा छोरीको जन्म अनुपात ४७ दशमलव छ प्रतिशत रहेको थियो ।

त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा सुदूरपश्चिम प्रदेशमा छोरीको जन्म अनुपातमा थप कमी आएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सो आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ४५ हजार एक सय ९० शिशुको जन्म भएकोमा छोरीको जन्म अनुपात ४६ दशमलव एक प्रतिशत रहेको थियो । सो आर्थिक वर्षमा प्रदेशमा २४ हजार तीन सय ६९ जना छोरा र २० हजार आठ सय २१ छोरी जन्मिएका थिए ।

त्यस्तै, गत आर्थिक वर्ष २०७६÷७७ मा प्रदेशमा ४५ हजार दुई सय २२ शिशु जन्मिएका थिए । सो आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा छोरीको जन्म अनुपात छोराको तुलनामा ४५ दशमलव नौ प्रतिशत रहेको थियो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा सुदूरपश्चिम प्रदेशमा २४ हजार चार सय ७२ छोराको जन्म भएको थियो भने २० हजार सात सय ५० छोरीको जन्म भएको थियो ।

त्यस्तै, चालू आर्थिक वर्ष २०७७÷०७८ को पुस महिनासम्म सुदूरपश्चिम प्रदेशमा कुल नवजात शिशु जन्ममध्ये छोरीको जन्मदर ४५ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षको पुस महिनासम्म प्रदेशमा २७ हजार सात सय १३ शिशु जन्मिएकोमा १५ हजार दुई सय ३४ जना छोरा र १२ हजार चार सय ७९ छोरीको जन्म भएको थियो ।

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर सामाजिक, शैक्षिक तथा आर्थिक रुपमा तुलनात्मक रुपमा विकसित मानिन्छ । तर, यी दुई जिल्लामै पनि कुल जन्ममध्ये छोरीको जन्मको अनुपात हरेक वर्ष कम हुदै गएको तथ्यांकले देखाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलको तथ्यांक अनुसार कैलालीमा आर्थिक वर्ष २०७४÷७५ मा १५ हजार तीन सय ५६ शिशु जन्मिएकोमा छोरीको जन्म अनुपात ४७ दशमलव तीन प्रतिशत रहेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७५÷७६ मा प्रदेशमा १६ हजार चार सय ७५ शिशुको जन्म भएकोमा छोरीको जन्म अनुपात ४३ दशमलव तीन प्रतिशत रहेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७६÷७७ मा १६ हजार चार सय पाँच जना शिशु जन्मिएकोमा छोरीको जन्म अनुपात ४४ दशमलव छ प्रतिशत रहेको थियो ।

त्यस्तै, चालू आर्थिक वर्ष २०७७÷०७८ को पुस महिनासम्म कैलालीमा नौ हजार नौ सय ६७ जना शिशु जन्मिएकोमा छोरीको जन्म अनुपात ४२ दशमलव आठ प्रतिशत रहेको छ ।

त्यस्तै, कञ्चनपुरमा आर्थिक वर्ष २०७४÷७५ मा पाँच हजार सात सय ८४ शिशुको जन्म भएकोमा छोरीको जन्म अनुपात ४६ प्रतिशत रहेको थियो ।

त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा कञ्चनपुरमा पा“च हजार आठ सय ७४ शिशुको जन्म भएकोमा छोरीको जन्म अनुपात ४५ दशमलव नौ प्रतिशत रहेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७६÷७७ मा कञ्चनपुरमा छ हजार दुई सय ५७ जना शिशुको जन्म भएकोमा छोरीको जन्म अनुपात ४४ दशमलव तीन प्रतिशत रहेको थियो । भने चालू आर्थिक वर्ष २०७७÷०७८ को पुस महिनासम्म कञ्चनपुरमा तीन हजार नौ सय एक शिशु को जन्म भएकोमा छोरीको जन्म अनुपात ४६ दशमलव पा“च प्रतिशत रहेको छ ।

‘पहिलो सन्तान जे भए पनि हुन्छ । अधिकाँस दम्पत्ति दोस्रो सन्तान पहिचान गराएर नै आउने गर्छन्’ धनगढीस्थित सेती प्रादेशिक अस्पतालका प्रसुति गृह विभाग प्रमुख यशोदा ढकालले अनुमोदनसंगको कुराकानीमा भनिन्– प्रविधिको विकास भएसंगै लिङ्ग पहिचान गराउने दम्पत्तिको संख्या बढेका छन् । छोरा भए सहज रुपमा लिन्छन् । छोरी भए प्राय पहिले नै गर्भपतन गराउँछन् ।’

कैलालीमा आर्थिक वर्ष २०७४÷७५ मा २० वर्ष मुनिका एक सय ८८ आमाले औषधी सेवन गरी गर्भपतन गराएका थिए । भने सर्जिकल विधिबाट दुई सय ८८ जना आमाले गर्भपतन गराएका थिए ।

त्यस्तै, आर्थिक वर्ष ०७५÷७६ मा औषधि सेवनबाट एक सय ३० जनाले र सर्जिकल विधिबाट एक सय ११ जना आमाले गर्भपतन गराएका थिए ।

त्यस्तै, गत आर्थिक वर्ष २०७६÷७७ मा औषधी सेवन र सर्जिकलबाट गर्भपतन गराउने आमाको संख्या ९१÷९१ रहेको कैलाली स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

मुलुकी ऐन–२०२० ले महिलाको चाहनाअनुसार सामान्य अवस्थामा १२ सातासम्मको गर्भपतन गर्न कानुनी मान्यता दिएको छ । बलात्कारबाट गर्भवती हुँदा भने स्वास्थ्य संस्थाले १८ महिनासम्म गर्भपतन गराउन सक्छन् ।

अन्यत्र निजी क्लिनक वा अस्पतालमा गई भु्रण पहिचान गरेपश्चात् गर्भपतन गर्न आएको हुन सक्ने हुँदा लिंग पहिचान गरी गर्भपतन गराउन आएको हो÷होइन भन्ने स्वास्थ्य संस्थालाई जानकारी नहुने सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेयले बताए ।

सेती प्रादेशिक अस्पतालका प्रसुति विभागकी प्रमुख ढकालले भनिन्– गर्भपतन गराउनेमा पढे, लेखेका र आर्थिक रूपमा सम्पन्न भएकानै बढी रहेका छन् ।’ उनले प्रविधिको विकास भएसंगै छोराछोरीमा विभेद पनि बढेको बताइन । उनले भनिन– अहिले नीजि स्वास्थ्य संस्थामा लुकिछिपाई भु्रण चेकजा“च भइरहेका छन् । कानुनतः सरकारले भुर्ण चेकजाँचलाई मान्यता दिएको छैन । भु्रण पहिचान गरी गर्भपतन गरे अधिकतम् पा“च वर्षसम्म जेल सजायको व्यवस्था गरिएको छ ।’ मुलुकी ऐनले गर्भपतन गराउने उद्देश्यले लिंग पहिचान गरेको खुले ६ महिनादेखि २ वर्ष कैद सजाय हुने व्यवस्था पनि गरेको छ । तर, कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनी बताउँछन् ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले विगतमा उपकरण नहुँदा छोराछोरी जन्मदरमा प्रभाव नपरेको बताए । उनले भने– पछिल्लो समय प्रविधिको विकास र कानुनी रुपमा केही खुकुलो हुँदा छोरीको जन्मदरमा कमी आउँदै गरेको छ ।’ उनले पृतसत्तात्मक सोचका कारण पनि समाजमा अहिले पनि छोराको चाहना कायमै रहेको बताए ।

छोराछोरीको जन्म अनुपातमा बढ्दै गएको अन्तरले भविष्यमा लैङ्गिक अनुपातमा प्रभाव पर्ने स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए । उनले भने– यसरी नै छोरीको जन्मको अनुपातमा कमी आउने हो भने विवाहका लागि भोली पुरुषले महिला नपाउने अवस्था आउन सक्छ ।’ उनले महिलाको जन्मदर घट्दा भविष्यमा जवरजस्ती करणी, महिलामाथिका हि“सा लगायतका घटना पनि बढ्न सक्ने बताए ।

उनले छोरीको जन्म अनुपात बृद्धि गर्न समाजमा सचेतना फैलाउनुपर्ने, छोराछोरी बराबरी भन्ने सन्देश सबैलाई बुझाउनुपर्ने र सरकारले बनाएका कानुनको प्रभावकारी कार्यान्वयन गरे केही सुधार हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार