१० श्रावण २०८१, बिहीबार

प्रतिनिधि सभा विघटन विरुद्ध नेकपा प्रचण्ड–माधव समुहको शक्ति प्रदर्शन



धनगढी । संसद (प्रतिनिधि सभा) विघटनको विरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले शनिबार धनगढीमा शक्ति प्रदर्शन गरेको छ ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा भएको व्यापक प्रदर्शन तथा बृहत विरोध सभामा नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले सम्बोधन गरे ।

गत महिना प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले धनगढीमा आयोजना गरेको आमसभा र शनिबार आफ्नो पक्षको विरोध सभामा भएको जनसहभागिताको तुलना गर्दै वक्ताहरुले ओलीसंग सडकमा पनि एक तिहाई मात्रै भएको टिप्पणी गरे । सभास्थल खुलामञ्च तथा बाहिर सडकहरु र वरपरका घरका छतमा समेत मानिसको भीड देखेपछि सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले टिप्पणी गरे– ओलीजीसंग संसदमा एक तिहाई मात्रै मत रहेको थियो । अहिले सडकमा पनि एक तिहाई मात्रै रहेछ ।

विरोध सभामा अध्यक्षद्वय नेपाल तथा प्रचण्ड र अन्य वक्ताहरुले सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीको कटु आलोचना गर्नुका साथै संसद विघटन नै नभएको जिकिर समेत गरे ।
अध्यक्ष प्रचण्डले संसद बोलाएर प्रधानमन्त्री ओलीलाई कारबाही समेत गर्न सकिने दाबी गरे । नेकपा नेताहरुले प्रतिनिधि सभा पुनस्र्थापना तथा प्रधानमन्त्री ओलीको बहिर्गमन समेत हुने दाबी गरे ।

वक्ताहरुले सर्वोच्च अदालतले संविधान तथा लोकतान्त्रिक मुल्यमान्यता अनुसार राष्ट्र र जनताको पक्षमा फैसला गर्ने विश्वास पनि व्यक्त गरे ।

विरोध सभामा केकपा स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डाक्टर भीमबहादुर रावल, सहइञ्चार्ज खगराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, नेता लक्ष्मण दत्त जोशीले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रम नेकपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष भानुभक्त जैशीको अध्यक्षतामा भएको थियो ।
विरोध सभा अघि धनगढीको ट्राफिक चौराहा, क्याम्पस रोड लगायतका स्थानबाट विभिन्न जिल्ला तथा समुदायको सांस्कृतिक झाँकीसहित विरोध जुलुश प्रदर्शन गरिएको थियो । विरोध जुलुश र विरोध सभामा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका नेकपाका नेता, कार्यकर्ता तथा समर्थकहरुको सहभागिता थियो ।

प्रतिनिधि सभा पुनस्र्थापना र केपीको बहिर्गमन– अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभाको पुनस्र्थापनासंगै प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन हुने बताएका छन् ।

नेकपा (प्रचण्ड–माधव समूह) ले शनिबार धनगढीमा आयोजना गरेको बृहत विरोध सभामा अध्यक्ष नेपालले छिट्टै प्रतिनिधि सभा पुनस्र्थापना भएर प्रधानमन्त्री ओलीको बहिर्गमन हुने दाबी गरे ।

प्रधानमन्त्री ओली समुहले पछिल्ला दिनमा नियुक्ति गरेका केन्द्रीय सदस्यहरुबारे उनले कटाक्ष गर्दै भने– उनको (प्रधानमन्त्री ओली) समुहमा म्यादी प्रहरीको भर्ना खुले जस्तै भर्ना खुलेको थियो । थुप्रै केन्द्रिय सदस्य बनेर मख्ख परेका थिए । अहिले विचराहरुको टायँटायँ फिस्स भएको छ । हिस्स बुढि खिस्स दाँत भयो । विचराहरु लाजले भुतुक्कै होलान् । अनुहार छोप्न मास्कले नपुगे बुर्का नै ओढाई दिनु ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओली लोकतन्त्र स्थापनाको आन्दोलनमा सहभागी नै नभएको दाबी गरे । उनले प्रधानमन्त्री ओलीलाई लोकतन्त्रको कुनै चासो र सरोकार नै नरहेको दाबी गरे । उनले भने– देश भाडमा जाओस्, तर केपीलाई मतलब छैन । केपीले लोकतन्त्रको हत्या गरेका छन् । प्रतिनिधि सभा विघटन गरेर देशलाई प्रतिगमनमा धकेलेका छन् ।

अध्यक्ष नेपालले तस्करलाई वनमन्त्री बनाएर केपी सरकारले वन सखाप पार्ने अभियान शुरु गरेको आरोप लगाए ।

उनले आफूहरुसंग नै नेकपा आधिकारिक पार्टी रहेको दाबी गरे । ओली पक्षमा लागेर आफ्नो भविष्य अन्धकार नबनाउन कार्यकर्ताहरुलाई आग्रह गरे । “केपीको नक्कली पार्टी हो’ अध्यक्ष नेपालले भने– तपाईंहरु कोही केपीको पार्टीमा जानु भएको छ भने तपाईंको भविष्य अन्धकार छ । फर्किहाल्नुस् । उज्यालो भविष्य हामीसंगै छ । चाडै आउनु भयो भने सम्मानपूर्वक राख्छौं, आउनु भएन भने भीरबाट खस्ने गाईलाई राम राम मात्रै भन्न सकिन्छ ।

उनले आफूहरुतिर नफर्किने नेताकार्यकर्ताहरु केपीसंगै सति जाने बताए । भने– त्यसपछि हामीले केही गर्न सक्दैनौं । विचरा सति गएछ भन्छौं ।

केपीलाई कारबाही गर्ने तागत हामीसंग छ– अध्यक्ष प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई कारबाही गर्ने तागत आफूहरुसंग रहेको बताएका छन् ।

विरोध सभामा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको हुनाले मात्रै आफूहरु चुप लागेर बसेको बताए । उनले भने– यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन नभएको भए अहिलेसम्म संसद् बैठक बोलाएर केपी ओलीलाई कारबाही गरिसक्थ्यौ ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले विघटन गरे पनि संविधानतः संसद विघटन नभएको जिकिर गरे । उनले भने– केपीजीले जालझेल गरेर संसद मरेको भने पनि संविधान अनुसार संसद जिउदै छ ।

उनले सर्वोच्च अदालतले सविधानको भावना अनुसार निर्णय गर्नेमा आफूहरु विश्वस्त भएको बताए ।

उनले कसैको सनकका भरमा प्रतिनिधिसभा विघटन हुननसक्ने बताए । भने– अझै पनि प्रतिनिधि सभाका सांसदहरु जीउदै रहेका छन् । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध सभामुखले बैठक बोलाउने अधिकार रहेको छ र संसदले उनले राष्ट्रघात गरेको ठहर गर्दै प्रधानमन्त्रीबाट हटाउन सक्छ ।

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दाको सही फैसला गर्नेमा आफूहरु पूर्ण रुपमा विश्वस्त रहेको बताए । उनले भने– ओलीजीले संविधान मिचेर जनताको सार्वभौम अधिकार नै कुल्चेको छन् । प्रधानमन्त्री ओलीले सेटिङमा चालेको कदमलाई जनताको सेटिङले भत्काउने छ ।

उनले प्रधानमन्त्री ओली आफ्नै बुद्धि र कर्मले कलंकको टीका लगाएर पतनको बाटोमा हिडेको आरोप लगाए ।

विरोध सभामा देखिएको जनसहभागिताबाट निकै हौसिएका अध्यक्ष प्रचण्डले भने– अरु स्थानमा पनि निकै ठूलो जनसहभागिता थियो, तर सुदूरपश्चिम प्रदेशमा अभूतपूर्व भएको छ । सुदूरपश्चिम प्रदेशका जनताले प्रतिनिधिसभा विघटनको नाममा भएको प्रतिगमनलाई परास्त गर्ने छन् भन्ने विश्वास भएको छ ।

उनले थपे– प्रधानमन्त्री ओलीले सुदूरपश्चिमेली जनतालाई उत्ताउलो भनेका थिए । तर, तपाईं सुदूरपश्चिमेली जनता महान हुनुहुन्छ । सुदूरपश्चिम प्रदेशमा मन्त्रीको चारो फाल्दा पनि ९५ प्रतिशत तपाईंहरु हल्लिनु भएन । प्रतिगमनको विरुद्धमा खरो रुपमा उत्रिनु भएको छ ।

अध्यक्ष प्रचण्डले उद्योग बाणिज्य मन्त्री लेखराज भट्टप्रति संकेत गर्दै “दलालको पनि दलाल” को संज्ञा दिए । मन्त्री भट्टको नाम नलिएरै अध्यक्ष प्रचण्डले भने– उनी ओलीका दलाल बने । केपी ओली आफै दलाल हुन् । उनी (भट्ट) दलालका पनि दलाल बने ।

उनले आफूले पटक पटक लेखराज भट्टका पक्षमा दिएको धारणा स्मरण गरे । भने– मैले पटक पटक तपाईहरुलाई तपाईंहरुको ठूलो नेता उनै हुन् भने । मैले उनलाई पटक पटक मन्त्री बनाए । अहिले उनी ओलीको वरिपरि घुमिरहेका छन् ।

उनले प्रधानमन्त्री ओली अमानवीय, रुखो, निर्मोही भएको टिप्पणी गरे । गत निर्वाचनमा केपी ओलीको क्षेत्रमा चुनावी प्रचारप्रसारका लागि गएको वेला आफ्नो छोराको मृत्यु भएको स्मरण गर्दै उनले भने– म ओलीको चुनावी क्षेत्रमा प्रचार–प्रसार गर्न गएको दिन मेरो छोराका ह्दयघातबाट कारण मृत्यु भयो । तर, उनलाई कुनै फरक परेन ।

उनले नेकपाका नेता बामदेव गौतम पनि आफ्नो पक्षमा आउने दाबी गरे । “बामदेवजीले हिजो मलाई फोन गरेर म तपाईंसंगै छु भनेका छन् । केही दिनपछि तपाईसंगै भाषण गर्न आउछु भनेका छन् ।

केपी भ्रष्टाचारीका नेता– डाक्टर रावल

नेकपा स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज डाक्टर भीमबहादुर रावलले प्रधानमन्त्री केपी ओली भ्रष्टाचारीहरुको नाइके भएको आरोप लगाए । विरोध सभामा उनले भने– प्रधानमन्त्री ओली भ्रष्टाचारीहरुको अगुवा हुन् ।

उनले भने– ७० करोड, ओम्नी प्रकरण, यति, वाइडबडी सबैतिर भ्रष्टाचार गर्नेलाई उहा“ले संरक्षण गर्नुभयो । सबै भ्रष्टाचारहरुको अगुवा ओली नै हुन् ।

नेता रावलले प्रधानमन्त्री ओलीले विदेशी नागरिकलाई नागरिकता दिलाउन खोज्दा आफूहरुले रोकेको बताए । उनले भने– हामीले उहा“ (प्रधानमन्त्री ओली) लाई विदेशी नागरिकलाई नेपाली नागरिकता दिन रोकेकै हो । एमसिसि ल्याउन रोकेकै हो । नेपाली किसानलाई पेशाबिहीन बनाउने सरकारको कार्य रोकेकै हो । त्यसैलाई लिएर असहयोग गरेको भनेर उहो केन्द्रिय समितिको बैठकबाट भाग्न थालेका हुन् ।

उनले प्रधानमन्त्री ओली पार्टीका बैठकहरुबाट भाग्दा भाग्दै प्रतिनिधि सभाबाट पनि भागेको आरोप लगाए ।

अोली आफ्नै कर्तुतले खलनायक बने : खगराज भट्ट

कार्यक्रममा नेकपाका सुदूरपश्चिम प्रदेश सहइञ्चार्ज खगराज भट्टले प्रधानमन्त्री ओलीलाई लोकतन्त्रले महानायक बनाएको भए पनि आफ्नै कर्तुतले खलनायक बनेको टिप्पणी गरे ।। उनले प्रधानमन्त्री ओली अरिंगाल रहेको र केपीबाट मह नबन्ने बरु टोक्ने काम मात्रै हुने आरोप लगाए । भने– ओलीले प्रतिनिधि सभा र लोकतन्त्रलाई टोकेको छन् ।

प्रतिनिधि सभा पुनस्र्थापना गर्नुको विकल्प छैन : लक्ष्मणदत्त जोशी

नेकपाका अर्का प्रदेश सहईञ्चार्ज लक्ष्मणदत्त जोशीले संविधानमा मध्यावधि निर्वाचनको व्यवस्था नभएकाले ओली सरकारले घोषणा गरेको चुनाव हुनै नसक्ने बताए । उनले प्रतिनिधि सभा पुनस्र्थापना गर्नुको विकल्प नरहेको बताए । उनले ओलीले सुदूरपश्चिमेली जनतालाई उत्ताउलो. भन्दै कोरोना महामारीको बेला नागरिकहरुलाई स्वदेश प्रवेश गर्न नदिएको स्मरण गरे ।

केपी सरकारले सुदूरपश्चिमलाई पर्याप्त स्रोत दिएन– मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयतालाई नै कमजोर बनाएको आरोप लगाएका छन् ।

शनिबार धनगढीमा भएको विरोध सभामा मुख्यमन्त्री भट्टले संघीयता विरोधी भएका कारण नै ओली सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई स्रोतमा विभेद गरेको आरोप लगाए ।

उनले भने– पश्चिम सेती जलविद्युत आयोजना जस्ता आयोजना बनाउन ओली सरकारले कुनै चासो लिएन । सुदूरपश्चिम प्रदेशको विकासमा प्रधानमन्त्री ओली नै बाधक बनेको छन् ।

उनले ओली नेतृत्वको सरकारले सुदूरपश्चिम प्रदेशको विकासका लागि कहिल्यै पनि पर्याप्त आर्थिक स्रोत दिन आनाकानी गर्ने गरेको बताए । मुख्यमन्त्री भट्टले सुदूपश्चिम प्रदेश प्रतिगमनको विरुद्धमा रहेको दाबी गरे । भने– प्रधानमन्त्री ओलीले पार्टीको विधान, नीति र अघिल्लो चुनावको घोषणापत्र समेत उलंघन गर्नुभएकाले समस्या आएको छ ।

उनले “प्रतिनीधि सभा विघटन गर्ने अनि सुदूरपश्चिम प्रदेशबाट मन्त्री धेरै बनाए भन्ने” विरोधाभाषी र सुदूरपश्चिममा विभाजन ल्याउन मात्रै गरिएको चाल भएको दाबी गरे । भने– एकतामा बा“धिएको सुदूरपश्चिम प्रदेशलाई मन्त्रीको चारो फ्याँकेर फुटाउन खोजेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार