१५ चैत्र २०८०, बिहीबार

आज कैलाली उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती




धनगढी / कैलाली उद्योग वाणिज्य संघले आज (आइतबार) देखि विभिन्न कार्यक्रम गरि स्वर्ण जयन्ती मनाउन लागेको छ ।

स्वर्ण जयन्तीको पूर्व सन्ध्यामा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै वर्षभरी नै छलफल, अन्तक्र्रिया, मेला महोत्सव लगायतका विभिन्न कार्यक्रम गर्न लागेको जानकारी दिएको छ ।


पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्पराज कुँवरले भने– हामीले यो वर्षभरीनै स्वर्ण जयन्तीको अवसरमा व्यवसायको प्रवद्र्धन, ठुला लगानी तथा उद्योग स्थापनाको पहलका लागि दबाब लगायतका कार्यक्रम गर्ने छौं ।

उनले आज आइतबार बिहान संघको प्राङ्गणमा रक्तदान, धनगढीको चौराहदेखि संघको कार्यालयसम्म प्रभातफेरी, स्वर्ण जयन्ती समारोह गरिने जानकारी दिए । उनले भने– साँझ पार्कमोडमा स्वर्णजयन्तीको खुशीयालीमा पार्कमोडमा दिप प्रज्ज्वलन र बजारमा दिपावली गरिने छ ।

संघले स्वर्ण जयन्तीको अवसरमा संस्थापक अध्यक्षदेखि पूर्व अध्यक्षहरूको शालिक निर्माण गरिने, स्मारिका प्रकाशन गर्नेृ लगायतका कार्यक्रम पनि गर्ने अध्यक्ष कुँवरले जानकारी दिए ।
वस्तुगत संघसंस्थाको छाता संगठनका रुपमा २०२७ सालमा दिलिपसिंह मल्लले स्थापना गरेका थिए ।

संघको स्थापनामा झोलामा कागजपत्र राखेर काम गर्नुपर्ने बाध्यता रहेको थियो । बरिष्ठ पत्रकार घनबहादुर शाहले भने– शुरुमा झोलामा संघको कागजपत्र, लेटरप्याड राखेर सञ्चालन गरिदै आएको थियो ।

अहिले आफनै भवन निर्माण गरी केही हैसियत राखेर समाजमा अगाडि बढीरहेको छ । यस क्षेत्रमा संघका सम्पूर्ण कार्यसमितिले आर्थिक उन्नयनका लागि जति सक्यो त्यति प्रयास गरिरहेको बताए ।

पछिल्लो समय यस क्षेत्रको आर्थिक विकासका लागि प्रत्यक्ष रुपमा गतिविधी गर्न नसकेपनि नीतिगत रुपमा संघले दिनुपर्ने सुझाव, सहयोग, निर्णय समय समयमा दिने गरेकै छ र विगत केही वर्षदेखि सुदूरपश्चिम महोत्सवका रुपमा मनाउदै आएको मेलाबाट प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक पाटोलाई विश्वभरी चिनाउने एउटा प्रयास गरेको छ उनले भने ।

उनले संघले फोटो तथा बुलेटिनमा प्रदेशका चिनारीहरूलाई समेटेर प्रकाशन गरि सुदूरपश्चिम पिछड्एिको नभई प्रदेश समुन्नत र विकासको सम्भावना भएको क्षेत्र भएको भनी सन्देश फैलाएको बताए ।

कैलाली उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष शंकर बोगटीले संघले विगतमा व्यवसायहरूको झगडा मिलाउनमै सिमित रहे पनि पछिल्लो समय समग्र सुदूरपश्चिम विकासका लागि विभिन्न विधामा काम गरिरहेको बताए । उनले भने– व्यवसायको हकहितसंगै समग्र प्रदेशको विकास निर्माणका कार्य, हिजोका दिनमा स्थानीय सरकार नहुँदा त्यसमा खेलेको भुमिका प्रभावकारी भएको छ ।’

संघका पूर्व अध्यक्ष दिनेश भण्डारीले संघले सुन्दर सुदूरपश्चिम अभियान, गेटा विमानस्थलमा कालोपत्रे गराउन अभियान, संघमा पुस्तकालय स्थापना लगायतका काम गरेको बताए । पर्यटन क्षेत्रको विकासका लागि एक रुपैयाँ अभियान, वस व्यवसायसंग मिलेर स्टिकर, पर्चा टाँसेर देशभरी प्रचार–प्रसार गर्यौं ।

हामी भन्दा अग्रजहरूका पालामा थुप्रै काम भए उनले भने संघको जग्गा खरिद, भवन निर्माण, थुप्रै व्यवसायीहरूलाई सदस्यता प्रदान गरियो । नेपालमा धेरै सदस्य भएको उद्योग वाणिज्य संघमा हामी पर्छौ । हामीले २०६३ सालदेखि सुदूरपश्चिम महोत्सव शुरु गर्यौ ।

कोरोना कालमा बेरोजगार र उद्योग वन्द भए संघ

कोरोना कारण सरकारले जारी गरेको लकडाउन लगायतले कैलालीमा बेरोजगारी र उद्योगहरू धरासाय भएको संघको ठहर रहेको छ ।
‘३५ देखि ४० प्रतिशत उद्योग वन्द हुन पुगेका छन् भने ४० प्रतिशत व्यक्तिले रोजगारी गुमाएका छन्’ पत्रकार सम्मेलनमा अध्यक्ष कुँवरले भने ।

उनले कोरोनाका कारण प्रभावित साना तथा मझौला उद्योगलाई माथि ल्याउन प्रदेश सरकारले एक अर्व बराबरको पुर्नकर्जा कार्यक्रम अघि बढाइरहेको बताए । उनले भने– जुन रुपमा प्रदेश सरकारले कार्यक्रम ल्याउनुपथ्र्यो ल्याउन सकेको छैन तर, यसले पनि केही हदसम्म मद्दत पुग्छ ।

पुर्व अध्यक्ष भण्डारीले कोरोनाका कारण खासगरी पर्यटन क्षेत्र धरासायी भएको बताए । उनले भने– आन्तरिक पर्यटन प्रवद्र्धनको काम सरकारले गर्नुपर्यो । खाद्यान्न र हार्डवेयरमा अलिकति कम परेको छ । हामीले भारतबाटै सामान किन्ने गरेका थियौ ।

ती सामान यही खरिद गर्दा यहाँका केही व्यवसायीहरूलाई लाभ पनि भयो । उनले कोरोनाका कारण क्षति व्यहोरेका उद्योगीका लागि सरकारले ब्याजमा सहुलियत दिनुपर्ने र केही राहतका कार्यक्रम ल्याउनुपर्ने बताए ।

संघका पूर्व अध्यक्ष उत्तम कठायतले कोरोनाका कारण साना तथा मझौला उद्योगहरूसंगै पर्यटन, होटल क्षेत्रमा प्रभाव परेको बताए । उनले भने– खाद्यान्न र हार्डवेयरमा अलिकति कम परे पनि ती क्षेत्रले पनि केही अवस्थामा हतोत्साहित भएका छन् ।’ उनले सरकारले उद्योगीहरूलाई माथि उकास्न राहतका कार्यक्रम ल्याउनुपर्ने बताए ।

उनले भने– सरकारले राहतसंगै ब्याजमा सहुलियत, करमा छुट लगायतका योजना अघि बढाए उद्योग क्षेत्रलाई पुनः पुरानै अवस्थामा ल्याउन मद्दत पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार