२२ बैशाख २०८१, शनिबार

सहजै रोजगारी पाउने दक्ष प्राविधिक उत्पादन गर्नुस्– मुख्यमन्त्री भट्ट



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बजारमा सहजै रोजगारी पाउन सक्ने गरी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटि) ले प्राविधिक शिक्षा नीति तर्जुमाका लागि सुझाव संकलन गर्न बिहीबार यहाँ आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले बजारमा विक्ने प्राविधिक शिक्षा आवश्यक रहेको बताए ।

उनले प्राविधिक शिक्षा लिएर पनि काम गर्न नसक्ने जनशक्ति उत्पादन गर्दा त्यसको औचित्य नरहने बताए ।

‘तालीमका लागि तालीम आवश्यक छैन’ मुख्यमन्त्री भट्टले भने– यसमा आर्थिक, समय र विज्ञहरूको विद्वता मात्रै खर्च हुन्छ । प्राविधिक शिक्षा लिएर प्रमाणपत्र हातमा पर्ने वित्तिकै रोजगार सुनिश्चित हुने दक्ष जनशक्ति उत्पादन गर्न जे गर्नुपर्छ त्यो सबै गर्नुस् ।’

उनले विद्यालयमा प्राविधिक शिक्षा पढाई गर्नुका साथै विद्यालयहरूले उद्योग व्यवसायीहरूसंग आफ्ना विद्यार्थीको सम्पर्क गराउन सुझाव दिए । उनले यसले गर्दा उत्पादन भएको जनशक्तिले पढाईसंगै रोजगारीको अवसर प्राप्त गर्न सक्ने बताए । ‘यस्तो गरेमा सरकार र तपाइँहरूले गरेको काम र खर्च परिणाममुखी हुन्छ,’ मुख्यमन्त्री भट्टले भने– ‘शिक्षामा लगाएको श्रम र खर्च परिणाममुखी हुन सकेको छैन ।’

उनले नेता र शिक्षकले आफूमाथि आफैले विश्वास नगरेको हुनाले पनि शिक्षामा गरेको लगानी परिणाममुखी हुन नसकेको बताए ।

विद्यालय व्यवस्थापन समिति गठन गर्न दलीय रुपमा चुनाव गर्ने र उम्मेदवारले खर्च गर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताउँदै मुख्यमन्त्री भट्टले प्राविधिक विद्यालयहरूमा पनि स्वस्थ प्रतिस्प्रर्धा आवश्यक रहेको बताए । उनले प्रतिस्प्रर्धा गर्नु राम्रो भए पनि आवश्यकताको आधारमा प्राविधिक विद्यायलहरू स्थापना गर्नुपर्ने बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्राविधिक शिक्षालयबाट उत्पादन भएका जनशक्ति कहाँ र के काम गर्दैछन् तथा कस्तो आम्दानी गर्दैछन् भन्ने तथ्यांक राख्न जरुरी रहेको बताए । उनले तालीमहरूलाई पनि पुनर्विचार गर्न आवश्यक रहेको बताउँदै ४० कोटा दिनु भन्दा २० कोटा दिएर भए पनि तालीम लिइसक्ने वित्तिकै स्वरोजगार गर्न प्रविधि र उपकरण अनुदान दिन आवश्यक देखिएको बताए । उनले पनि श्रमबजारमा सजिलै विक्न सक्ने दक्ष प्राविधिक जनशक्ति उत्पादनमा जोड दिए ।

सुदूरपश्चिमको नीति तथा योजना आयोगका सदस्य मोहनदेव विष्टले सिटिईभिटिले दिएका सुझावहरू प्रदेश सरकारको नीतिमा समेत्ने प्रतिबद्धता जनाए । उनले तत्काल रोजगारीमा लाग्न सक्ने दक्ष जनशक्ति उत्पादनमा प्राविधिक शिक्षा तथा सीपमुलक तालीमले सहयोग गरेको बताए । उनले पनि रोजगारी सिर्जनाका लागि उद्योगी र निर्माण व्यवसायीसंग विद्यालयहरूले सम्पर्क गर्न सुझाव दिए ।

महेन्द्र मावि दार्चुलाका प्रधानाध्यापक रामदत्त जोशीले युवाहरूलाई स्वरोजगार बनाउने र स्थानीयस्तरमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने खालको प्राविधिक शिक्षा नीति आवश्यक भएको बताए । उनले शिक्षालाई समेत व्यवसायिक बनाएर युवाहरूलाई व्यवसायमा लाग्न उत्प्रेरित गर्ने प्राविधिक शिक्षा चाहिएको बताए । उनले सरकारले पनि दक्ष जनशक्तिलाई प्रोत्साहन गर्ने नीति लिन आवश्यक रहेको बताए ।

प्राविधिक शिक्षाले स्वरोजगार समेत विकास गरिरहेको हुनाले प्रदेश र स्थानीय सरकारले पनि प्राविधिक शिक्षा नीति बनाएर सीप विकासका काम गर्नुपर्ने सिटिइभिटिका निर्देशक डाक्टर कुष्माकर भट्टले बताए । उनले कोभिडका कारण श्रम बजारमा दक्ष जनशक्तिको अभाव देखिएकाले तत्काल दक्ष जनशक्ति उत्पादन गर्न तीन हजार जनालाई सीपमुलक तालीम दिने कार्यक्रम समेत रहेको बताए । दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि स्थानीय तहले आफैले सीपमुलक तालीम सञ्चालन गर्नु भन्दा स्थानीय तहमा रहेका सामुदायिक प्राविधिक विद्यालयहरूलाई सोको जिम्मेवारी दिनुपर्ने निर्देशक डाक्टर भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार