१० श्रावण २०८१, बिहीबार

कोरोना विरुद्धको खोप अभियान : पहिलो दिन एक हजार बढीले खोप लिए



धनगढी । कोरोना विरुद्धको खोप अभियानका क्रममा सुदूरपश्चिम प्रदेशमा पहिलो दिन बुधबार एक हजार बढीले खोप लगाएका छन ।

बुधबारदेखि शुरु भएको कोरोनाविरुद्धको खोप अभियानअन्र्तगत एक हजार ८२ जनाले खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशमा पहिलो चरण अन्तर्गत १६ हजार दुई सय ९३ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ । पहिलो दिन प्रदेशमा छ दशमलब छ प्रतिशतले खोप लगाएको जनाइएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा पहिलो दिन सबैभन्दा बढी खोप लगाउने संख्या कैलालीको रहेको छ । दुई वटा खोप केन्द्र रहेको कैलालीमा दुई सय ५७ जनाले खोप लगाएका छन भने सबैभन्दा कम दार्चुलामा रहेको छ ।

डडेल्धुरामा नगर प्रमुखलाई कोरोना खोप

डडेल्धुरामा खोपको पहलिो दिन बुधबार अमरगढी नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझालाई खोप लगाएर अभियान सुरु भएको छ ।

कोरोना विरुद्धको सुरक्षित खोप लगाउनका लागि डराउनु पर्दैन भन्ने सन्देश दिनका लागि आफूले डडेल्धुरामा सुरुमै खोप लगाएको नगर प्रमुख ओझाले बताए ।

पहिलो चरणमा एक हजार एक सय ३५ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए । उनका अनुसार डडेल्धुरा अस्पताल डडेल्धुरालाई खोप केन्द्र तोकिएको छ ।

बुधबारदेखि १८ गतेसम्म लगाइने पहिलो चरणको खोपमा अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लगाइने भएको छ ।

थप नौ जनामा कोरोना

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय २२ जनाकोे नमूना परीक्षण गर्दा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशाला, जिल्ला अस्पताल डडेल्धुरा, डोटी अस्पताल र कमलबजार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप नौ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।

उनका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५२ जनाको नमूना परीक्षण गर्दा एक जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा २१ जनाको नमूना परीक्षण गर्दा छ जना र डोटी अस्पतालको प्रयोगशालामा २२ जनाको नमूना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको छ ।

कमलबजार अस्पतालको प्रयोगशालामा २७ जनाको नमूना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशका अन्य प्रयोगशालामा भने कोरोना परीक्षण भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार