१६ चैत्र २०८०, शुक्रबार

जन्मान्तरप्रति सचेतना बृद्धि



धनगढी । कैलालीको जानकी गाउँपालिकाका कमला विककी पहिलो सन्तान छोरीको उमेर चार वर्ष पुग्यो । उनी र उनका श्रीमानले अहिले अर्को बच्चाको योजना बनाएका छन् । उनकी छोरी विद्यालय जान थालेपछि अर्को बच्चाको योजना बनाएको उनले बताइन् ।

‘हामी दुवै जना दुई बच्चाबीच जन्मान्तर हुनुपर्छ भननेर पहिलेदेखि नै सचेत थियौ । छोरी जन्मिएको अर्को वर्षदेखि नै परिवारका अरुहरूले अर्को बच्चा जन्माउन निकै दबाब दिए, तर हामीले जेठी छोरी पा“च वर्ष पुगेपछि मात्र अर्को बच्चा पाउने सल्लाह गरेका थियौं’ कमलाले भनिन्– जेठी छोरी विद्यालय जान थालिन् । अब बल्ल हामी पनि अर्को बच्चा पाउने योजना बनाउँदैछौं ।

कमला पति छविन्द्र विक पनि पहिलो बच्चा हुर्केपछि अर्को बच्चा पाउँदा आमा र बच्चाको स्याहार हुने तथा स्वास्थ्य राम्रो हुने भएकाले आफूहरूले जन्मान्तर गरेको बताउछन् ।

जानकी गाउ“पालिकाकै सुनिता बुढाका दुई सन्तान छन् । उनको पहिलो र दोस्रो सन्तानबीचको जन्मान्तर पा“च वर्षको छ । सुनिताले पहिलो सन्तान जन्माइसकेपछि आफूले उच्च मावि तहको पढाइ शुरु गरिन् । पछि पतिको सल्लाहअनुसार दोस्रो सन्तान जन्माइन् । उनले आफूरुले दुई सन्तानबीच जन्मान्तर गरेकाले आमा र बच्चाको स्वास्थ्य र पोषणका दृष्टिले समेत राम्रो रहेको बताइन् ।

‘विवाह लगत्तै पहिलो बच्चा जन्मियो । पहिलो बच्चा एक वर्षको भएपछि म पुनः कलेज जान थाले । ११ र १२ कक्षा उत्तीर्ण गरे’ सुनिताले भनिन्– हामी दम्पतीबीचको सल्लाह बमोजिम पा“च वर्षपछि अर्को बच्चा पायौ“ । अहिले हामीलाई बच्चा हुर्कान सजिलो भएको छ ।

सुनिताले पनि जन्मान्तरका कारण आफ्नो स्वास्थ्यमा समेत ख्याल गर्न भ्याएको बताइन् ।
उनले भनिन्– ‘लगातार वा बर्षेनी बच्चा जन्माएका आमाको स्वास्थ्य जोखिममा पर्छ । बच्चाहरूको खानपान तथा स्याहारसुसारमा कमी हुन्छ । हामीले मेरो र बच्चाको स्वास्थ्य र पोषणका लागि हामीबीच सहमति गरेका थियैं । पहिलो बच्चापछि अस्थायी साधन प्रयोग ग¥यौ । यसले जन्मान्तरमा सघायो ।’

कैलालीको टीकापुर नगरपालिकाका धना साउद सुत्केरी भएको एक महिना पुगेको छैन । यो उनको पहिलो सन्तान हो । उनी अब करिब तीन÷चार वर्षपछि मात्रै अर्को सन्तान जन्माउने योजनामा छिन् । ‘जन्मान्तर बिना लगातार बच्चा जन्माएका आमामा धेरै स्वास्थ्य समस्या देखेकी छु । विशेषगरी ढाड र पाठेघरसम्बन्धी समस्या बढी देखिने गरेका छन्’, धना भन्छिन्– म त जन्मान्तर गर्नुपर्छ भनी सचेत छु । सन्तान त योजनाबिना जन्माउने कुरा होइन । दम्पतीबीच सल्लाह गरेर जन्माउने हो । हामीबीच सल्लाह छ ।

दुई सन्तानबीचको फरक नभई वर्षेनी बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पर्ने गर्दछ । जसको उदाहरण छिन् कैलाली टीकापुरकी सीतादेवी विक । उनी तीन सन्तानको आमा हुन् । उनको दोस्रो र तेस्रो सन्तानबीचको अन्तर १५ महिना मात्र छ । जन्मान्तर कम भएका कारण हाल उनले धेरै समस्या भोगिरहेकि छिन् ।

उनका श्रीमान रोजगारका सिलसिलामा भारतमा छन् । यसले गर्दा उनलाई झन् समस्या भइरहेको छ । ‘मेरो स्वास्थ्यमा धेरै समस्या छ । पाठेघरमा समस्या भएका कारण आजभोलि भारी गरुंगो काम गर्न सक्दिन । तल्लो पेट दुख्ने, ढाड दुख्नेजस्ता समस्याले सताएको छ’ सीतादेवीले भनिन्– चिकित्सककहाँ उपचारमा जाँदा सुत्केरी अवस्थामा स्याहार भएन भन्छन् । मैले लगातार बच्चा जन्माएकै कारण यस्तो समस्या भोगेकी हु ।’

वर्षेनी सन्तान जन्माएकै कारण समस्या भोगेकी टीकापुर–७ की सुदेश्नी डगौराको र बच्चाको स्वास्थ्यमा समस्या छ । डगौराले पाँच वर्षमा तीन बच्चालाई जन्म दिइन् । ‘पहिलो बच्चा छोरा जन्मियो, पहिलो बच्चा १७ महिनाको थियो, छोरी जन्मिइन्, दोस्रो सन्तान पनि हुर्कन नपाउ“दै अर्को छोरी जन्मिइन’, सुदेश्नीले भनिन्, ‘पाँच वर्षमुनिका तीन बच्चा कसरी स्याहार्नु ? मलाई निकै दुःख छ । पति ज्यालादारी गर्न दिनभरि घरबाहिर हुन्छन् । म एक्लैले तीन बच्चा स्याहार्न कठिन भएको छ ।’

सुदेश्नीको स्वास्थ्य कमजोर छ । उनको मात्र होइन तीनै बच्चा पनि स्वस्थ छैनन् । ‘एउटा बच्चालाई कुपोषण भएको छ । बच्चा बिरामी भइरहन्छन्’, उनी भन्छीन्, ‘पतिको कमाइ थोरै छ । बच्चाको उपचार गर्नु कि, आफूले खानु ? उपचारमा धेरै खर्च भइसकेको छ ।’

पछिल्लो समय गाउघरमा समेत जन्मान्तरका लागि अस्थायी साधनप्रति दम्पतीको आकर्षण बढिरहेको महिला स्वास्थ्य स्वयंसेविकाको भनाइ छ । सन्तानबीच जन्मान्तर राख्नेबारेमा आफूहरूले पनि समय–समयमा जन्मान्तर र अस्थायी साधन प्रयोगबारे छलफल र जानकारी दिने गरेको जोशीपुर गाउँपालिका वडा नम्बर १ का महिला स्वास्थ्य स्वयंसेविका दुर्गा चौधरी बताउछिन् ।

सन्तानबीच जन्मान्तर कायम गर्नेको संख्यामा सुधार आएको छ । अधिकांश परिवार जन्मान्तरबारे सचेत बन्न थालेका छन् । ‘हामी पहिलो बच्चा जन्मनेबित्तिकै जन्मान्तर र अस्थायी साधन प्रयोगबारे दम्पतीलाई नै सल्लाह दिन्छौँ, हामीले वर्षेनी सन्तान जन्मदाको असरबारे जानकारी दिन थालेका छौँ’, उनी भन्छिन्, ‘जन्मान्तरमा ध्यान नदिए महिला र बच्चाको स्वास्थ्य जोखिममा पर्न सक्छ ।’

सन्तानबीच जन्मान्तर नहुँदा आमा र बच्चाको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्दछ । सन्तानबीच जन्मान्तर नहुँदा महिलाको पाठेघरमा विभिन्न समस्या आउनुका साथै रक्तश्राव हुने र गर्भ नरहने हुनसक्ने टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्का बताछिन् । ‘वर्षेनी सन्तान जन्माउँदा आमा र बालबालिकामा मानसिक र शारीरिक समस्या आउने गर्दछन् । मातृ तथा बाल मृत्युदर बढ्ने जोखिम रहन्छ’, स्टाफ नर्स खड्का भन्छिन्, ‘वर्षेनी जन्मिएका सन्तानको स्याहारसुसार राम्रो हुँदैन, बच्चाको मस्तिष्क विकास हुने समयमा स्याहार नपाएको बच्चा कस्तो होला ? त्यसैले हरेक दम्पती सचेत हुनुपर्छ ।’

स्टाफ नर्स खड्का टीकापुर अस्पतालमा सेवा लिन आउने हरेक गर्भवती र बच्चाका आमालाई जन्मान्तरबारे जानकारी दिने गरेको बताउछिन् । ‘सेवा लिन महिला आउँछन्, बच्चा जन्माउने कुरा दम्पतीबीचको सल्लाह हो’, उनी भन्छिन्, ‘हामीले श्रीमान् पनि ल्याएर आउनु भन्छौं, सन्तानबीच कम्तीमा पनि तीन वर्ष जन्मान्तर राख्न सल्लाह दिन्छौं । आमा र बच्चाको स्वास्थ्य र पोषणका दृष्टिले पनि जन्मान्तर आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार