१३ बैशाख २०८१, बिहीबार

केपी सरकार होइन, अब किर्ते सरकार भन्नुपर्छ : नेता रावल



धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य तथा सुदूरपिश्चम इञ्चार्ज भीम रावलले प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारले एकपछि अर्को असंबैधानिक कदम गर्ने क्रममा अब किर्ते सरकार भएको बताएका छन् ।

सो समूहले आइतबार प्रदेश पार्टी कार्यालय धनगढीमा आयोजना पत्रकार सम्मेलनमा नेता रावलले प्रतिनिधि सभा विघटन भएको सूचना राजपत्रमा किर्ते गरेपछि किर्ते सरकार भएको बताएका हुन् । उनले प्रतिनिधिसभा पनि किर्ते कागजका आधारमा विघटन गरिएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीको संविधानको धारा समेत नलेखेको किर्ते सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको आरोप लगाए ।

उनले प्रतिनिधिसभा विघटनपछि नेकपा दुई धारमा विभाजित भएको बताउँदै बहुमत सदस्य रहेको पक्ष नै आधिकारिक हुने जनाए । ‘निर्वाचन आयोगले पनि बहुमत सदस्य कता छन् भन्ने हेरेर नै आधिकारिकता सम्बन्धी विवाद समाधान गर्छ,’ उनले भने, ‘चार सय ४५ जनामा तीन सय १५ जना हामीसंगै छौं ।’

कालापानी, लिम्पियाधुरा, लिपुलेकमा भएको भारतीय अतिक्रमणका विरुद्ध देशभक्त नागरिकहरु एकजुट भएपछि मात्र सरकारले नेपालको नयाँ नक्सा प्रकाशित गरेको भन्दै रावलले ती भूभागलाई भारतकै स्वामित्वमा यथास्थितिमै राख्न हठात् प्रतिनिधिसभा विघटन गरिएको आरोप लगाए ।
उनले प्रतिनिधिसभा विघटनमार्फत लोकतन्त्रमाथि प्रहार भएको टिप्पणी गर्दै त्यसका विरुद्ध आफूहरुले खबरदारी गरिरहने बताए ।

यसैगरी, नेता रावलले प्रदेश सरकारमा मन्त्री थप्ने, रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने र मन्त्रीमण्डलको हेरफेर गर्ने अधिकार मुख्यमन्त्रीको रहेको बताउँदै मुख्यमन्त्रीले पार्टीको नीतिगत निर्देशन अनुसार काम गर्ने बताए । उनले पार्टीले सरकारलाई उचित समयमा र तत्काल गर्नुपर्ने कामहरु तत्काल गर्न र जनतालाई सेवा सुविधा सथासिघ्र पु¥याउनुपर्ने नीतिगत निर्देशन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार