संसद विघटनविरुद्ध कफन बाधेर सडकमा– मन्त्री सुवेदी
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले गरेको संसद (प्रतिनिधि सभा) विघटनको बिरोधमा आफूहरू टाउकोमा कफन बाधेर सडकमा उत्रिएको बताएका छन् ।

कृष्णराज सुवेदी प्रदेश सभा सदस्य, कैलाली
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ मा शनिबार आयोजित माघि मिलन तथा सांकृतिक कार्यक्रममा मन्त्री सुवेदीले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर संविधानको बलात्कार गरेकाले आफूहरू त्यसको विरोधमा टाउकोमा कात्रो बाधेर सडकमा उत्रिएको बताए ।
‘हामी सबैले दुःखका साथ भन्नुपर्ने अवस्था आएको छ, हाम्रै पार्टीका प्रधानमन्त्रीले संविधानको धज्जी उडाए । संबिधानको चिरहरण गर्नुभो । संबिधानको बलात्कार गर्नुभो’ उनले भने– त्यसैले हामी प्रतिनिधि सभा पुनस्र्थापना गर्नका लागि निर्णायक संघर्षका लागि सडक उत्रिएका छौं ।
उनले आफ्नै पार्टीको भए पनि गलत काम गर्नेका विरुद्ध सबैले बिरोध गर्नुपर्ने बताए । उनले माघ १७ गते प्रतिनिधि सभा विघटनको विरुद्धमा धनगढीको खुलामञ्चमा बिशाल प्रदर्शन गर्न लागेको बताए ।
मन्त्री सुवेदीले अहिले बाहिर हल्ला गरिएजस्तो प्रदेश सरकार कमजोर नभएको बताए । कतिपयले ‘अहिले प्रदेश सरकारसंग संसदमा बहुमत छैन । प्रदेश सरकार ढल्छ । जस्ता हल्ला मच्चाएका छन्’ उनले भने– प्रदेश सभामा हामी नेकपाका ३९ जना सदस्य थियौ । पाचसात जना चोइटिएर जादैमा अहिलेको प्रदेश सरकारलाई कुनै फरक पर्दैन । अहिले पनि सरकारको साथमा ३२ जना प्रदेश सभा सदस्य छन्् ।




