७ कार्तिक २०८१, बुधबार

संसद पुनर्स्थापना काँग्रेसको पहिलो प्राथमिकता– महामन्त्री कोइराला



नहुने निर्वाचनको भ्रममा नपर्न आग्रह

धनगढी । नेपाली काँग्रेसका महामन्त्री डाक्टर शशांक कोईरालाले नेपालको संविधान तथा लोकतन्त्रको रक्षाका लागि संसद पुनस्र्थापना नै पार्टीको प्राथमिकता रहेको बताएका छन् ।

महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले विघटन गरेको संसदको पुनस्र्थापनाका लागि नेपाली काँग्रेसले आन्दोलनमा जानुको विकल्प नरहेको दोहोराए ।

‘हामी नेपालीले ७० वर्षसम्म संघर्ष गरेर संघर्षबाट संविधान सभामार्फत उत्कृष्ट संविधान ल्याएका छौं’ नेपाली काँग्रेस कैलालीद्वारा शनिबार धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री डाक्टर कोइरालाले भने– प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कार्यका कारण अहिले हाम्रो संविधानमाथि नै संकट आइलागेको छ । यसको रक्षाका लागि का“ग्रेस सामु आन्दोलनको विकल्प छैन ।

महामन्त्री कोइरालाले सरकारले घोषणा गरे पनि आगामी बैशाखमा निर्वाचन हुनै नसक्ने भएकोले भ्रम नपर्न सबैमा आग्रह गरे । उनले भने– केपी ओलीले आफूले हार्ने निर्वाचन किन गर्छन् ? बैशाखमा निर्वाचन भए नेकपा हार्ने निश्चित छ । त्यसैले उनले आफु हार्ने निर्वाचन गराउँदैनन् । ’
उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले २०६४ सालमा काँग्रेसले चुनाव हार्ने थाह हुँदाहुँदै पनि निर्वाचन गराएको स्मरण गरे । भने– गिरीजाबाबुले काँग्रेसले निर्वाचन हारे पनि देश हार्नु हुदैन भनेर निर्वाचन गराउनुभयो, तर कम्युनिष्टहरूले देशलाई भन्दा आफुलाई प्राथमिकतामा राख्छन् । त्यसैले ओलीले बैशाखमा निर्वाचन गराउँदैनन् ।

महामन्त्री कोइरालाले अहिले पनि नेकपा औपचारिक रुपमा विभाजित नभएको बताए । उनले भने– नेकपा अहिले पनि औपचारिक रुपमा विभाजन भइसकेको छैन । चुनाव चिन्ह कसले पाउने भन्ने निक्र्यौल हुनै केही महिना लाग्ला । एउटा पक्षले चुनाव चिन्ह (सूर्य) पाएपछि अर्को पक्षले फेरि अदालतमा मुद्दा दायर गर्ला । त्यसको छिनेफानो गर्न फेरि केही महिना लाग्ला । त्यसैले आगामी बैशाखमा चुनाव सम्भव नै छैन ।

महामन्त्री कोइरालाले काँग्रेसले संसद पुनस्र्थापनाका लागि एक ढिक्का भएर अघि बढेको बताए । उनले भने– काँग्रेस एकढिक्का भएर अघि बढेमा अबका हरेक निर्वाचनमा का“ग्रेसको विजय सुनिश्चित छ ।

कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य दीपक गिरीले प्रधानमन्त्री ओलीले गरेको संसद (प्रतिनिधि सभा) विघटन संविधानमाथिको बलात्कार भएको बताए । केन्द्रीय सदस्य गिरीले भने– हामीले हाम्रो संविधान र लोकतान्त्रिक गणतन्त्र जोगाउनु पर्छ । मुलुकलाई जोगाउनु पर्छ र यसका लागि हामीले हाम्रो पार्टी संगठनलाई पनि बलियो बनाउनु पर्दछ ।

उनले काँग्रेसलाई अपाङ होइन सपाङ बनाउन सबै एकजुट हुनुपर्ने बताए । उनले भने– अहिले पार्टीका महिला संघ, नेपाल विद्यार्थी संघ, तरुण दल लगायतका भातृ संगठनहरू अपाङ बनेका छन् । यी सबै संगठनलाई जीवन्त बनाउनै पर्दछ ।

केन्द्रीय सदस्य गिरीले नेपाली काँग्रेस जस्तोसुकै अवस्थाको पनि सामना गर्ने बताए । कार्यकर्ताहरूलाई उनले भने– तपाईहरू संसद पुनस्र्थापनावादी अथवा चुनाववादी भनेर नभन्नुहोला । नेपाली काँग्रेसका कार्यकर्ताहरूले जतिखेर पनि दुइटै संघर्षमा अघि बढ्नुपर्छ ।
उनले नेपाली काँग्रेस विधि र कानुनलाई मान्ने बताए । उनले भने– हामीले गिरिजाबाबुको पालामा भएको संसद विघटनमा अदालतको निर्णय स्वीकारेका थियौ । शेरबहादुर देउवाको पालामा पनि भएको संसद विघटनमा पनि अदालतको निर्णय स्विकार गरेका थियौं । अहिले पनि अदालतको जे निर्णय आउँछ हामी स्वीकार गर्छौ । उनले वर्तमान परिस्थितिको का“ग्रेसले उपयोग गर्न जरुरी रहेको बताए ।

केन्द्रिय सदस्य बद्री पाण्डेयले असंवैधानिक ढंगले संसदको विघटन गरेर संविधानकै हत्या गर्ने कार्य भएको बताए । उनले भने– अहिले प्रधानमन्त्रीले असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरेका छन् । संविधानको हत्या भएको छ । यसलाई हामी टुलुटुलु हेरेर बस्न सक्दैनौ ।

केन्द्रीय सदस्य पाण्डेयले अहिले नेकपा दुई खेमामा फुटेको छ भन्दैमा चुनावमा नै जानुपर्छ भन्नु उपयूक्त नभएको बताए । उनले भने– नेकपा दुई टुक्रा भएको छ । त्यसैले चुनावमा जा“दा हामी सहजै जित्छौं भन्ने सोच्नु हुँदैन । प्रधानमन्त्री ओली ऋषी होइनन् । जो सहजै सत्ता अरुको हातमा जान दिन्छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य जीवन परियार, नेता दीपक खडका लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नेपाली काँग्रेस कैलालीका उपसभापति प्रकाश बमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
यसअघि भेलामा काँग्रेसका जिल्ला सदस्य केशव मिश्र, नगर सदस्य ईश्वर जोशी लगायतले पार्टीका भातृ संगठनहरू गतिहीन बनेका, पार्टी नेतृत्वले आफू निकटका व्यक्तिको संरक्षण तथा मन नपरेका व्यक्तिमाथि कारबाही गर्ने, राष्ट्रिय मुद्दामा पार्टीका शिर्ष नेताहरूबाट फरकफरक धारणा आउने गरेको लगायतका जिज्ञासा राखेका थिए ।

कार्यक्रमको सञ्चालन काँग्रेस कैलालीका सचिव पूर्ण कु“वरले गरेका थिए । कार्यक्रममा सहसचिव कलेशुराम चौधरीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार