१६ चैत्र २०८०, शुक्रबार

नेकपा नेता रावलको आरोप– केपी ओली एक नम्बर भगौडा हुन्



धनगढी । नेकपा सुदूरपश्चिम प्रदेश इन्जार्च भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली एक नम्बर भगौडा भएको आरोप लगाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन क्षेत्र नम्बर ४ कैलालीको बिहीबार भएको अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेलामा उनले प्रधानमन्त्री केपी शर्मा ओली झापा बिद्रोहदेखि अहिले संसदबाट पनि भागेको आरोप लगाए ।

उनले भने– उहांले प्रतिनिधि सभा विघटन गरेर संसदबाट भाग्नुभयो । पार्टीका बैठकबाट भाग्नुभयो र पार्टी फुटाएर कम्युनिष्ट आन्दोलनबाट भाग्नुभयो ।

नेता रावलले प्रधानमन्त्री केही दिनअघि धनगढीमा आयोजित सभामा आफूलाई “केटो” भनेर होच्याएकोप्रति कटाक्ष गर्दै भने– म केटो हुँदा केपी ओली पनि केटो नै थिए । म आईए पढ्ने वेला १९ वर्षको केटो थिए । त्यतिबेला केपी ओली पनि भरखर एसएलसी पास गरेका २३ वर्षे केटो नै थिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले नेकपाको ओली समुहले प्रदेश सरकार विघटन हुदैछ भन्ने भ्रम फैलाइरहेको बताए ।

मन्त्री सुवेदीले भने– नेकपाको ओली समुहका मान्छेहरु प्रदेश सरकार विघटन हुदैछ । प्रदेश सरकार अल्पमतमा छ भनेर गलत प्रचारप्रसार गरिरहेका छन । तर, सुदूरपश्चिम प्रदेश सभामा प्रदेश सरकारसंग संसदमा ३२ जनाको साथ र समर्थन छ ।

मन्त्री सुवेदीले नेपाली जनताको आन्दोलनको आंधीबेहरीले केपी ओलीको असंवैधानिक कदमलाई ठिक ठाउमा ल्याउने दाबी गरे ।

केपा कैलालीका अध्यक्ष तथा प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि ‘कु’ गरेको आरोप दोहोराए ।

उनले भने– नेपाली जनताका सपनाहरुलाई पुरा गर्न मुलुक शान्ति, स्थिरता र समृद्धिको बाटोमा अगाडी बढिरहेका बेला प्रधानमन्त्री ओलीले संविधानको अपव्याख्या गर्दै संविधानमाथि नै प्रहार गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार