१३ बैशाख २०८१, बिहीबार

प्रदेश समन्वय परिषद्को तेस्रो बैठक



धनगढी । सुदूरपश्चिम प्रदेश समन्वय परिषद्को तेस्रो बैठक कैलालीको गोदावरीमा भएको छ ।

बैठकमा प्रदेश समन्वय परिषद्को सञ्चालन, व्यवस्थापन, राजश्वको परिचालन र तिन तहकै सरकारको समन्वयका बारेमा छलफल भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले बताए ।

मन्त्री शाहले संघीयता कार्यान्वयन, सरकारका साझेदारी कार्यक्रम र सेवा प्रवाह गर्दा लगाउने कर, दस्तुर, सेवा शुल्कका बारेमा छलफल भएको जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले पछिल्लो राजनीतिक घटनाक्रमले संघीयतामाथि नै खतरा बढेको चर्चा गरे ।

उनल संघीय संसद असंवैधानिक ढंगले विघटन भएसंगै मुलुक संकटमा परेकाले जनअपेक्षा अनुसारका काम गर्न समस्या भएको बताए ।

मुख्यमन्त्री भट्टले विकासबारे जनताको अपेक्षा बढेको अवस्थामा तीनै तहका सरकारहरूबीच आवश्यक समन्वय हुन आवश्यक रहेको तथा प्रभावकारी ढंगले जनतामाझ कार्यक्रम लग्न जरुरी रहेको बताए ।

उनले बढ्दो भ्रष्टाचार रोक्न नागरिक निगरानी महत्वपूर्ण हुने भन्दै जनता पनि जागरूक हुनुपर्ने बताए ।

बैठकमा सहभागी सरोकारवालाहरूले सामाजिक कुरीति अन्त्य गर्ने प्रतिबद्धता साथ सामूहिक हस्ताक्षर संकलन समेत गरेका थिए ।

२०७५ साल असोजमा परिषद्को पहिलो बैठक बसेको थियो । परिषद्को दोस्रो बैठक ०७६ जेठमा बसेको थियो भने तेसो बैठक मंगलवार बसेको छ ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा भएको बैठकमा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, मन्त्रालयका सचिव, प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार