“समाधानसहितको पत्रकारिता आवश्यक”
महामारी सम्बन्धी समाचार रिपोर्टिङ तालिम

धनगढी । कोरोना महामारी जस्ता इतिहासमा विरलै हुने अप्रत्याशित विपदका वेला पत्रकारिता अझ बढी गम्भीर, तथ्यपरक तथा समाधान उन्मुख हुनुपर्ने धनगढीमा आयोजित एक कार्यक्रममा चर्चा भयो ।
“सम्पूर्ण मानव जातीका लागि कोरोना महासंकटका रुपमा देखाप¥यो” आउटलाइन मिडिया प्रालि, काठमाडौंले मंगलबार धनगढीमा आयोजना गरेको “महामारी सम्बन्धी समाचार रिपोर्टिङ तथा प्रकाशन तालिम” मा भएको छलफलको सार रह्यो– तर, पत्रकारिताका दृष्टिकोणबाट यो महामारी अवसर पनि हो ।
कार्यक्रममा बरिष्ठ पत्रकार राजेन्द्र दाहालले कोभिड–१९ महामारीले सिर्जना गरेका प्रभावहरू, मिडियामा परेको असर, समस्या र चुनौति, मिडियाको भूमिका र सम्भावना लगायतका विषयमा छलफल गर्दै भने– कोभिड जस्ता अप्रत्याशित विपद विरलै आउछन्् । पत्रकारहरूले त्यो अवस्था जान्ने, आत्मसात गर्ने र आउदो पुस्ताका लागि रिपोर्टिङको आधार तयार गर्ने भूमिका गम्भीरतापूर्वक निर्वाह गर्नुपर्दछ ।
उनले थपे– हामी पत्रकारहरूको आजको अनुभव भोलीका दिनका लागि गतिलो पाठ हुन्छ । अहिलेको अवस्थामा समाधान सहितको पत्रकारिता आवश्यक छ र त्यसका लागि नया विचार सहितको पत्रकारितामा ध्यान दिनु पर्दछ ।
उनले स्वतन्त्र प्रेसप्रति इमान्दार बन्ने र आम जनतालाई पनि स्वतन्त्र प्रेसको महत्वबारे जागरुक बनाउनेतर्फ ध्यान दिन आग्रह गरे । भने– कोरोनाका कारण पत्रकारिता साच्चै नै संकटमा परेको छ । मालिक वा लगानीकर्ताले स्वतन्त्र प्रेस जोगाउने होइनन्, पत्रकार स्वयंले नै जोगाउछन्् भन्ने हामी सबैले मनन् गर्नु जरुरी छ ।
छलफलमा अनलाइनमार्फत भाग लिदै डेनमार्कको कोपेनहेगनबाट पत्रकार सुसन मोरले कोरोना महामारी समस्या र चुनौति मात्रै नभएर मिडियाका लागि अवसर पनि भएको बताइन् ।
उनले मिडियाका उपभोक्ताको भावना तथा आवश्यकताका आधारमा मिडियाका कन्टेन्टहरू निर्माण गर्नेतर्फ बढि जोड दिनुपर्ने बताइन् ।
कार्यक्रममा आउटलाइन मिडियाका प्रतिनिधि सरोज दाहालले सहजीकरण गरेका थिए । कार्यक्रममा धनगढीका ३० जना पत्रकारहरूको सहभागिता रहेको थियो ।
छलफलमा पत्रकारहरू मनमोहन स्वार, कर्ण शाह, दिलबहादुर छत्याल, शिवराज भट्ट, उन्नती चौधरी लगायतले भाग लिएका थिए ।