७ कार्तिक २०८१, बुधबार

एमसीसीको मुल्यमा सदनको हत्या भयो– मन्त्री शाह



धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले एमसीसी पारित गर्ने मूल्यमा संसद (प्रतिनिधि सभा) को हत्या गरिएको आरोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघले मंगलबार धनगढीमा आयोजना गरेको कार्यक्रममा मन्त्री शाहले भने– महाकालीको मुल्यमा मदन भण्डारीको हत्या भयो । अहिले एमसीसी पारित गर्ने मुल्यमा सदनको हत्या भएको छ ।

उनले बाह्य शक्ति केन्द्रहरुको षडयन्त्रमा फसेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको साथ छोडेको बताए । उनले भने– अहिलेको प्रतिनिधि सभाबाट एमसिसि पास हुने नदेखिएपछि प्रतिनिधि सभा विघटन गरिएको छ । भारतीय विश्लेषकहरुको विश्लेषणबाट पनि प्रधानमन्त्री ओली बाह्य शक्ति केन्द्रको अगाडी झुकेको स्पष्ट भएको छ ।

मन्त्री शाहले नेपालको संविधानमा प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको परिकल्पना नगरिएको बताए ।

उनले श्रीपेच लगाउने राजाहरुलाई सत्ताच्युत गर्ने नेपाली जनताले कोलो टोपी लगाउने राजाहरुलाई समेत समाप्त पार्ने बताए ।

उनले प्रश्न गरे– कुनै सनकी तानाशाह तथा अधिनायकवादीले संविधानलाई कुल्चिदै मनपरी गर्दछ भने यसको दोष संविधान, राष्ट्र, राज्य व्यवस्था तथा जनताले बेहोर्ने हो र ?

मन्त्री शाहले सात दशक लामो जनताको बलिदानी संघर्षबाट प्राप्त भएको राज्यसत्ता परिवर्तनको उपलब्धी गुम्न नदिन नागरिक संगठनहरुको भूमिका महत्वपूर्ण हुने बताए । ‘हाम्रो लोकतन्त्र कमजोर छैन,’ मन्त्री शाहले भने, ‘हाम्रा मिडिया पनि कमजोर छैनन् । नागरिक समाजले भूमिका निर्वाह ग¥यो भने संसद् पुनर्बहाली हुन्छ ।’

उनले नेपाली कांग्रेसले अहिले रमितेको भुमिकामा रहेका टिप्पणी गर्दै नेपाली कांग्रेसले संसद् पुनस्र्थापना चाहेर ठीक ठाउँमा उभिएमा प्रतिनिधि सभा पुनस्र्थापना हुनेमा आफू विस्वस्त रहेको बताए ।

कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेश सांसद् दीर्घबहादुर सोडारीले राष्ट्रपति समेत ओलीको स्ट्याम्प प्याड भएको बताए । उनले ओलीको धम्कीले न्यायालय पनि धरमराउने स्थिति बन्दै गएको टिप्पणी गर्दै नागरिक समाजको भूमिका आवश्यक देखिएको बताए ।

उनले ओली अहिले हिटलरिजको नयाँ अभ्यासमा देखिएको बताए । उनले प्रधानमन्त्रीमा अर्को मान्छे आउने बेला आएपछि अर्कोलाई सत्तामा देख्न नसकेर अध्यादेशदेखि संसद् विघटनसम्मको हट्कण्डा गरेको बताए ।

प्रदेश सांसद् पूर्णा जोशीले मुलुक संकटमा परेको बेला एकजुट हुने नेपालका नागरिक संगठन र राजनीतिक दलको संस्कृति रहेको बताउँदै त्यसको जरुरी फेरि एक पटक देखिएको बताइन् । उनले अदालत, प्रदेश र स्थानीय तह नै विघटन गरिदिने चूनौति आएकाले आफ्ना पद, धनसम्पत्ति सबै गुमाएर पनि सत्यको पक्षमा उभिन आवश्यक देखेको बताइन् ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका सचेतक टेकबहादुर रैकाले नेपालको संविधानमा बज्रपात परेको बताए । उनले यसको विरुद्ध सबै राजनीति दल र नागरिक संगठन लाग्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले ज्ञानेन्द्रसंग साँठगाँठ गरिसकेको बताउँदै प्रधानमन्त्रीले केही दिनमै ‘राजा आउनुस्, मलाई प्रधानमन्त्री बनाएर राज गर्नुस्’ भन्ने बताए । उनले यस बेला संसद् पुनर्बहाली गर्न सके मात्रै नागरिक अधिकार स्थापित गर्न सकिने बताए ।

संविधान सभा सदस्य हरि श्रीपाइलीले सात दशक लगाएर ल्याएको प्रणाली एक जना व्यक्तिको सनकले गर्दा एकैदिनमा सकिएको बताए । उनले अहिले नेकपाका एक जना नेताले गर्दा लोकतन्त्र खतरामा परेको बताए । उनले यस्तै कारणले गर्दा राजनीतिक नेता र प्रशासकहरुप्रति नागरिक असन्तुष्ट रहेको बताए । उनले अहिले लोकतन्त्रको रक्षा गर्नुपर्ने बेला भएकोले सबैको एक्यबद्धताको आवश्यकता परेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार