१० श्रावण २०८१, बिहीबार

‘प्रतिनिधि सभा पुनस्र्थापनाका लागि नागरिक संगठनहरु जुरमुराउनुपर्र्ने’



धनगढी । सुदूरपश्चिम प्रदेशका मिडियाकर्मी तथा नागरिक अगुवाहरुले विघटित प्रतिनिधि सभा पुनस्र्थापना सहित संविधान, लोकतन्त्र तथा गणतन्त्रको रक्षाका लागि जुर्मुराउनु पर्ने निष्कर्ष निकालेका छन् ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार धनगढीमा आयोजना गरेको एक छलफल कार्यक्रमका सहभागीहरुले प्रतिनिधि सभा विघटनका कारण नेपालको संविधान, लोकतन्त्र र शासन प्रणालीमाथि नै संकट परेको चर्चा गरे ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले प्रतिनिधि सभा विघटन भएर चुनाव नभएपछि नागरिक अधिकार, मिडियाको अधिकार, नागरिक समाजको अधिकार के हुने भन्ने विषयमा नागरिक संगठनहरु अहिलेदेखि नै एकजुट भएर भूमिकामा आउनुपर्ने बताए ।

अध्यक्ष आचार्य तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गर्दा नागरिक संगठन एकजुट भएर उभिएको स्मरण गर्दै अब नागरिक संगठनले के गर्ने भन्ने विषयमा छलफल हुन आवश्यक रहेको बताए । उनले अहिलेको सन्दर्भमा एकता हुन सक्छ वा सक्दैन भन्ने विषयमा छलफल गरी योजना बनाउन आवश्यक रहेको बताए ।

कैलाली बहुमुखी क्यापसका प्रमुख प्राध्यापक डाक्टर राजेन्द्रविर चन्दले पदमा पुगेपछि हरेक व्यक्तिले म जत्तिकै अधिकार पाएको छ भन्ने विर्सिएर मनपरी गर्न थालेको बताए । उनले यस्तो अवस्थामा नागरिक समाजले गर्ने भूमिकाबाट निकास निस्किने बताए । उनले नागरिक समाजले अवारनेसको माध्यमबाट अन्यायको विरुद्ध नागरिकलाई जगाउनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा क्षेत्रीय संयोजक मनमोहन स्वाँरले ७० वर्षको संघर्षबाट समाधान भएको भनिएको राजनीतिक सवाल अहिले फेरि ब्युँतिएको बताए । उनले अस्रवैधानिक ढंगले गरिएको संसद विघटनका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीनै समाप्त हुने हो कि भन्ने चिन्ता बढेको बताए । प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा रहेपछि आफू अनुकुल संविधानको व्याख्या गर्ने र गराउन शक्ति प्रयोग हुने खतरा बढकोले आम नागरिकले संविधानमाथि भएको प्रहारविरुद्ध बोल्न आग्रह गरे । उनले अहिलेको संकटपूर्ण अवस्थामा नागरिक समाज तथा मिडियाले प्रोएक्टिभ भूमिका निर्वाह गर्नुपर्नेे बताए ।

जिल्ला वार एसोसियसन कैलालीका सदस्य अधिवक्ता ओम जोशीले प्रतिनिधि सभा विघटनले गर्दा नागरिकको वाक स्वतन्त्रताबाट बञ्चित गराएको बताए । उनले यो घटनाले मुलुकको कार्यकारी प्रमुख र राष्ट्रपति समेत विवादित भएको बताउँदै यसले गर्दा सेल्फ सेन्सरसिप जस्तो स्थिति पैदा भएको बताए । उनले संविधान बनेपछि अधिकारको लडाई सकियो भन्नेमा पुगेको बेला प्रतिनिधि सभा विघटनले त्यो लडाई अझै कायमै रहेको देखिएको बताए । उनले यो विवादको विषय छिट्टै टुंग्याएर विकासको बाटो खोल्न नागरिक संगठनहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

नेपाल राष्ट्रिय दलित कल्याण संघ कैलालीका अध्यक्ष चक्र विकले नागरिक समाजले तठस्थ रहेर बोल्न आवश्यक नरहेको बताउँदै नागरिक अधिकार र संविधानको पक्षमा रहेर भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बताए । उनले सही र गलत छुट्याएर सहीको पक्षमा नागरिक समाज उभिन जरुरी देखिएको बताए ।

आउटलाइन मिडियाका सरोज दाहालले सत्तामा गएपछि स्वतन्त्रतालाई नियन्त्रण पर्छ भन्नेमा शासकहरु पुग्ने गर्दा नागरिकले पटक पटक अधिकारका कुरा उठाउनुपर्ने स्थिति आउने गरेको बताए । उनले संविधान र हरेक कानुनमा स्वतन्त्रता लेखिएको भए पनि शासकहरुबाटै मिचिने गरेको बताए ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य मीन बम, रउत्तर विष्ट, प्रेस संगठनका प्रदेश संयोजक रामसिंह ठगुन्ना, राष्ट्रिय मानव अधिकार आयोगका प्रदेश निर्देशक मोहनदेव जोशी लगायतले विचार व्यक्त गरेका थिए ।

कार्यक्रम महासंघका प्रदेश अध्यक्ष अर्जुन शाहको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन महासंघका प्रदेश महासचिव योगेश रावलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार