७ कार्तिक २०८१, बुधबार

“बयलगाडा चढेर अमेरिका पुगिन्न”



धनगढी । अघिअघि ब्यानरसहित नाराबाजी । बीचमा बयलगाडा । बयलगाडा टाँगिएको व्यानरमा लेखिएको थियो– बयलगाडा चढेर अमेरिका पुगिन्न, स्वाभिमान बेचेर डलरले समृद्धि भेटिन्न ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले २०६२÷६३ सालको जनआन्दोलनका क्रममा ‘गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नु जस्तै हो’ भन्ने अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्ड–नेपाल समुह समर्थक अनेरास्ववियूले आइतबार धनगढीमा व्यंग्यात्मक र्‍याली निकालेको छ ।
बयलगाडामा टागिएको ब्यानरमा प्रधानमन्त्री ओली बयलगाडामा चढेको कार्टुन चित्र बनाइएको थियो । चित्रमा लेखिएको थियो– म त लागे है अमेरिका… ।’ अर्को पोष्टरमा राजाको श्रीपेच लगाएर प्रधानमन्त्री ओली बयलगाडा चलाउदै गरेको दृष्य थियो । प्रधानमन्त्री सवार बयलगाडा पछाडी गाडीहरू पनि अंकित थिए । बयलगाडामा लेखिएको थियो– उछिन्न निषेध ।’ योगेश खपाङीले बनाएको सो चित्रले प्रधानमन्त्रीले जनआन्दोलनमा दिएको अभिव्यक्तिलाई व्यंग्य गरेको थियो ।

२०६२/०६३ को जनआन्दोलनमा प्रधानमन्त्री ओलीले गणतन्त्रको यात्रालाई बयलगाडाको संज्ञा दिएको र सो अभिव्यक्तिले उनी गणतन्त्रवादी नभएको पुष्टि गर्न बयलगाडा र्‍याली निकालिएको अनेरास्ववियुका केन्द्रिय सदस्य डम्मर भट्टराईले बताए ।

धनगढीको क्याम्पसरोडदेखि निकालिएको बयलगाडा र्याली पार्कमोडमा पुगेर कोणसभामा परिणत भएको थियो । सभामा अनेरास्ववियुका नेता सुरेन्द्र बस्नेतले जनताको मतलाई अपमान गर्ने गरी गरिएको संसद विघटन कुनै पनि हालतमा मान्य नहुने बताए ।

अनेरास्ववियुका अर्का नेता शुभेष पराजुलीले जनताले दिएको मतको सम्मान गर्न नसक्ने जो कोहीलाई जनताले नै पछार्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार