१२ बैशाख २०८२, शुक्रबार

प्रचण्ड र माधव समूहलाई १० सिट जित्न प्रधानमन्त्री ओलीको चुनौति



धनगढी । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले प्रतिनिधि सभा पुनस्र्थापना नहुने बताउँदै तोकिएकै समयमा चुनाव हुने बताएका छन् ।

नेकपाको ओलीपक्षले शुक्रबार धनगढीका आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०७८ बैशाख १७ र २७ गते दुई चरणमा चुनाव हुने पक्का भएको बताएका हुन् । उनले प्रचण्ड र माधवलाई १० सिट ल्याएर देखाउन चूनौति समेत दिएका छन् । उनले प्रचण्ड नेपाल पक्षको नेकपालाई १० सिट जितेर देखाउन पनि चुनौती दिए । ‘म वहाँहरूलाई भन्न चाहन्छु १० वटा सिटहरू ल्याएर देखाउनुस्,’ उनले भने, ‘उहाँहरू ठूल्ठूला कुरा गरिरहनुभाछ ।’

नेकपा अध्यक्ष ओलीले पार्टीको बैठकमा नआएर बाहिर बाहिर बसेर प्रचण्ड र माधव नेपालले सरकारको र पार्टी अध्यक्षको विरोध गरिरहेको बताए । उनले भीम रावल समेतले बैज्ञानिक वन बनाएर वन सखाप पार्ने योजना फेल भएपछि आफ्नो विरोध गरिरहेको बताए । उनले प्रचण्ड र माधव नेपाल आफ्नो परिवार र नातागोताको मात्रै फाइदाका लागि सरकारको विरोध गरिरहेको बताए । ‘नक्कली राष्ट्रवादीहरू आज सुदूरपश्चिमले ४ मन्त्री पाएको दुखी हुनुहुन्छ,’ ओलीले भने, ‘वैज्ञानिक वन व्यव्थापनका नाममा सिद्ध्याउने उहाँको योजना अलपत्र प¥यो । त्यही भएर उहाँ दुखी हुनुन्छ ।’

अध्यक्ष ओलीले प्रचण्ड माधव समूहले पार्टी छोडेर गएको भन्दै दुई चार जना नेताले पार्टी छोड्दैमा आफ्नो उद्देश्य कमजोर नहुने बताए । ’केहीले सोचेका होलान् हामी हटेपछि अब पार्टी कसरी चल्छ भनेर,’ उनले भने, ‘दुई चार जना मान्छे पिलो निचोरिएजसरी निचोरिँदैमा देशका जनतालाई सुखी र समृद्ध बनाउने उद्देश्य कमजोर हुँदैन । नुहाउँदा पनि दुई चारवटा डल्ला साबुन खर्च भएर गयो । अरु के हुन्छ ? ०५४ सालमा पनि चोइटिएर जानेहरू थिए ।’

ओलीले भारतले हडपेको जमिन नेपालको नक्सामा सामेल गर्दा केही नेताहरूलाई टाउको दुखेको आरोप लगाए । ‘भारतसँगको हाम्रो सम्बन्ध अझै पनि राम्रो छ,’ उनले भने, ‘हाम्रा अधिकार सुरक्षित राख्दा सम्बन्ध बिग्रँदैन । लिम्पियाधुरा, लिपुलेक र कालापानी र हाम्रो भूमि हो । ५८ वर्षदेखि हडपिएको थियो । त्यसलाई सामेल गरी संविधधान संशोधन गरेका थियौँ । संसद्मा एकमत थियो । नेपालको भूभाग सामेल गर्दा यही प्रदेशका मान्छेलाई टाउको दुख्यो ।’

ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालको समूहलाई भगौडाको संज्ञा दिएका छन् । ‘तपाईहरूले केही भगौडाहरुको कुरा सुन्नु भएको होला,’ उनले भने, ‘केन्द्रीय कमिटीको बैठकमा नआएर सडकमा गए, गाली गरेर, पत्रपत्रिकामा लेखाएर हामी यता छौँ भनेका छन् । उहाँहरूका समर्थकहरू गालीगलौज गरेर हिँडेका छन्। हामीलाई गाली गर्ने फुर्सद छैन । हामी दन्तबजान गर्दैनौं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार