५ पुष २०८२, शनिबार

सुदूरपश्चिमका अधिकांश जिल्लामा बुधबारसम्म हिमपात



धनगढी । सुदूरपश्चिमका अधिकांश जिल्लामा बुधबारसम्म हिमपात हुने पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा हिमपातसँगै हावाहुरी पनि चल्ने, तर तराई भेगमा भने यो शितलहरको जोखिम देखिँदैन ।
सोमबारदेखि नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकीका उच्च पहाडी र हिमाली क्षेत्रमा चाँही हल्का हिमपात भएको थियो । 

पहाडी भू–भागमा एक–दुई स्थानमा हल्का वर्षा पनि भएको महाशाखाले बताएको छ । पश्चिमी वायुको प्रभावले हिमाली क्षेत्रमा हिमपात गराउने सम्भावना बढी हुन्छ भने पहाडी क्षेत्रमा जाडो बढ्न सक्छ । तराईका क्षेत्रमा बिहानपख एक दुई ठाउँमा हुस्सु–कुहिरो पनि लाग्न सक्ने र त्यसका कारणले चिसो अझै बढ्न सक्ने सम्भावना देखिन्छ । चिसो बढे पनि तत्कालै शीतलहरको सम्भावना नदेखिने मौसमविद् बरुण पौडल बताउँछन् ।

बाहिरबाट बादल आउँदा शीतलहर हटेर जाने उनको भनाइ छ । “हुस्सु–कुहिरो नलागे पनि जाडो चाँही हुने गर्छ, पानी परेपछि अझै तापक्रम घट्न सक्ने सम्भावना रहन्छ, उच्च पहाडी भू–भागमा भने हिमापातको सम्भावना कम छ,” उनले भने, “तर, कर्णाली प्रदेशका उच्च पहाडी जिल्लाहरू हुम्ला, डोल्पा, कालिकोट, मुगु र यतापट्टि माथिल्लो मुस्ताङतिर हिमपातको भइरहेको छ ।”
पश्चिमी वायुको प्रभाव बुधबारदेखि क्रमश मौसम सुधार भएर जाने उनको भनाइ छ । विशेषगरी सुदूरपश्चिममा खुल्नका लागि बुधबारसम्म कुर्नुपर्ने हुन्छ भने काठमाडौ उपत्यका र पूर्वको हकमा मंगलबार बेलुकादेखि नै मौसममा सुधार हुने पौडेलले बताए ।

देशका उच्च पहाडी र हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

प्राकृतिक विपत व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले पनि पश्चिमी वायुको प्रभावले बुधबारसम्म नै हिमपात पर्ने भएकाले चिसोबाट उच्च सतर्कता अपनाउन सुझाव दिए । “हावाहुरी पनि चल्ने देखिन्छ, चिसो बढ्ने भएकाले चिसोबाट जोगिन उच्च सतर्कता आपाउनुपर्छ,” उनले भने, “विषेशगरी हिमाली भेगमा हिमपात हुन्छ तर हाम्रो घरका संरचनाहरु चिसोबाट जोगाउने खालका छैनन्, आगामी दिनहरुमा हिमपात भइरहने क्षेत्रमा भवनका संरचनाहरु बनाउँदा हिउँमैत्री बनाउने सरकारी लक्ष्य हुनु जरुरी छ ।”

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार