१० श्रावण २०८१, बिहीबार

नेकपा सुदूरपश्चिम संसदीय दलको बैठकमा आएर पनि छ जनाले हस्ताक्षर गरेनन्



धनगढी / नेकपा सुदूरपश्चिम संसदीय दलको शनिबारको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार र संसदीय दलको कार्यलाई एकताबद्ध रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।

सो दलका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज डा. भीम रावलको उपस्थितिमा भएको सो बैठकमा उपस्थित भएर पनि छ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेनन् ।

हस्ताक्षर नगर्नेमा निर्वमान भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा, लीलाधर भट्ट, ग्याल्वुसिंह बोहरा, रतन थापा, नेपालू चौधरी र महेश जोशी रहेका छन् ।

तर बैठकमा उपस्थित ३६ जना सदस्यमध्ये ३० जनाले भने बैठकमा उपस्थिति गरेका छन् । बैठकमा ३७ जना उपस्थित हुनु पर्नेमा ३६ जना उपस्थित थिए । एक जना आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा भने काठमाडौ गएका छन् ।

५३ सदस्यीय प्रदेश सभामा नेकपाका ३९ जना सांसद रहेकोमा दुई जना सभामुख र उपसभामुख रहेकोले बैठकमा आउन पाउदैनन् ।

सो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विगठनको कदम असंवैधानिक रहेको ठहर गरेको छ । संविधानको मर्मविपरित प्रतिनिधि सभा विगठन भएकोले त्यसको विरोध गर्ने निर्णय गरिएको दलका प्रमुख सचेतक तारा लामा तामाङले जानकारी दिए ।

यस्तै, ३१५ जना केन्द्रीय सदस्यले समर्थन गरेको प्रचण्ड–नेपाल पक्ष आधिकारिक नेकपा रहेको र सो पक्षलाई समर्थन गर्ने निर्णय गरेको निर्णयमा उल्लेख छ ।

बिना कुनै एजेन्डा, बिना कुनै पूर्व जानकारी दिइ अकस्मात दलको बैठक राखिएकाले आफू सहित छ जनाले निर्णयमा हस्ताक्षर नगरेको प्रधानमन्त्री ओली पक्षधर प्रदेश सभा सदस्य लीलाधर भट्टले बताए ।

यो विषयमा बैठक हो भनेर हामीलाई पहिले जानकारी दिनु पर्दथ्यो, त्यो भएको थिएन । न त यस विषयमा कुनै छलफल भएको थियो उनले भने ।

यसैगरी, बैठकमा राखिएका तीन वटा एजेण्डामा सबैले लोकतान्त्रिक तरिकाले धारणा राख्न पाउनु पर्नेमा त्यसो नगरिएको भट्टले बताए ।

त्यो तीन वटा विषय पढेर सुनाइयो र केहीले ताली बजाएर निर्णय भएको भनियो उनले भने यस्तो कार्य लोकतान्त्रिक विधि र प्रक्रिया भित्र पर्दैन ।

सबै माननीयहरु एक अर्कालाई सम्मान गरेर अगाडि बढौं भन्ने एउटा सकारात्मक पक्ष पनि यो बैठकमा देखिएको छ । अन्तर विरोधहरु हल गरौं तर, हामी एकजुट भएर अगाडि बढ्नु पर्दछ । लाखौं कार्यकर्ताहरु नेकपा फुटोस भन्ने चाहेका छैनन् । उनले पार्टी अध्यक्ष रहेको नेकपा नै आधिकारिक नेकपा रहेको दावी गरे ।

वैठक मुख्यमन्त्री एवम् संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार