१० श्रावण २०८१, बिहीबार

पदमुक्त मन्त्री बोहराको प्रश्न– मलाई किन हटाइयो ?




धनगढी / गत १४ गते पदमुक्त गरिएका सुदूरपश्चिम प्रदेशका भौनिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले आफूलाई कनि पदबाट हटाइयो भन्ने आफूलाई अझैं पनि खुल्दुली रहेको बताएका छन् ।

पदमुक्त मन्त्री बोहराले आफू सशर्त बजेटबारे छलफल गर्न काठमाडौं गएको वेला आफूलाई बिना कुनै कारण मन्त्रीबाट हटाइएको बताए ।

शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने– पुस १४ गते बिहान मुख्यमन्त्रीज्यूसंग फोनमा कुराकानी भएको थियो । त्यसको करिब अढाई घण्टापछि सञ्चार माध्यमबाट मलाई पदमुक्त गरिएको जानकारी पाए ।

उनले आफूलाई अहिलेसम्म पनि किन र के कारणले पदमुक्त गरियो भन्ने खुल्दुली रहेको बताए । “मलाई के कारणले हटाइयो भन्ने अहिलेसम्म जानकारी पाउन सकेको छैन’ पदमुक्त मन्त्री बोहराले भने– काम गर्ने क्रममा केही कमजोरी भएको भए ती कारण खोलेर पदमुक्त गरिएको भए कुनै दुःखेसो हुने थिएन ।

उनले मन्त्रीका रुपमा आफूले कुनै आर्थिक अनियमिता वा भ्रष्टाचार नगरेको दाबी गरे । भने– मैले आर्थिक अनियमितता वा भ्रष्टाचार गरे की ? अथवा कुनै योजनामा उपभोक्ता समिति गठनमा हस्तक्षेप गरे वा प्रदेश सरकारमाथि आच आउने काम गरे ?

निवर्तमान मन्त्री बोहराले पार्टीभित्रको अर्को पक्षले नै प्रदेशमा पार्टी भित्र अन्तद्र्वन्द्व शुरु गरेको आरोप लगाए । उनले भने– द्वन्द्वको शुरुवात गर्ने काम अर्को पक्षबाट भएको छ । अब जसरी उनीहरू अघि बढ्छन् त्यसको एक गुणा बढी हामी कदम चाल्छौं ।

पदमुक्त मन्त्री बोहराले आफ्नो कार्यकालमा प्रदेशको विकासमा थुप्रै काम गरेको दाबी गरे ।
उनले सन् २०१९ को एक प्रतिवेदनमा सुदूरपश्चिम प्रदेशमा एक हजार किलोमिटर सडक मात्र कालोपत्रे भएकोमा आफूले पाच वर्षभित्र आठ सय किलोमिटर सडक कालोपत्रे गर्ने योजना बनाएको बताए ।

उनले आर्थिक वर्ष २०७६÷७७ मा सुर्नया र नौगाड खोलाबाट जलविद्युत उत्पादन गर्न प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिएको र चालू आर्थिक वर्षमा विस्तृत गुरुयोजना तयार गरी रकमको व्यवस्था गर्ने चरणमा पुगेको बताए ।

उनले सात वटै प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रगति राम्रो रहेको दाबी गरे । उनले भने– आर्थिक वर्ष २०७५/७६ मा हाम्रो मन्त्रालय प्रगति गर्नेमा देशभरमै दोस्रो नम्बरमा थियो भने आर्थिक वर्ष ०७६/७७ मा तेस्रो बन्न पुगेको थियो ।
उनले कोरोनाका कारण गत वर्ष प्रगतिमा असर पुगेको बताए ।
तीन वर्षसम्म पनि बनेन गुरुयोजना
कुनै पनि योजना तथा कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउन प्रदेशको गुरुयोजना आवश्यक हुन्छ । सडक, खानेपानी, सिचाई, यातायात र जलविद्युतको जिम्मेवारी पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले अहिलेसम्म यस सम्बन्धी कुनै गुरुयोजना तयार गर्न सकेको छैन ।

मन्त्री बोहराले भने– सडक, खानेपानी, सिचाई, यातायात, जलविद्युत लगायतको गुरुयोजना निर्माण गर्ने तयारीमा मन्त्रालय जुटेको छ ।

उनले गुरुयोजनाले दिगो रुपमा काम गर्ने भएकाले मन्त्रालयले यसलाई प्राथमिकताका रुपमा अघि बढाइरहेको बताए ।

उनले मन्त्रालयले एकिकृत पूर्वाधार विकास नीति पनि निर्माण गरिरहेको बताए । उनले भने– प्रदेशको समग्र विकासका लागि यो नीतिले सहयोग पुग्छ ।’

उनले २०७४ साल फागुन ५ गते मन्त्री पदको सपथ ग्रहण गरेका थिए ।


वर्खास्त मन्त्रीको चिन्ताः विपदले क्षति पुर्याएका संरचना मर्मत कहिले ?
पत्रकार सम्मेलनमा पदमुक्त मन्त्री बोहराले चिन्ता व्यक्त गरे– यस वर्ष वर्षायाममा प्रदेशमा पहिरो, बाढी तथा डुवानका कारण थुप्रै भौतिक संरचनामा क्षति पुगेको छ । मन्त्रालयले क्षतीको विवरण संकलन गरेको छ ।

उनले थपे– मैले क्षतीको विवरण मन्त्रीपरिषदमा पेश गर्नुपर्ने थियो । त्यसपछि यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गर्नुपर्ने थियो, अब यसको के हुन्छ । अघि बढ्छ वा बढ्दैन ?’


मुख्यमन्त्रीले भौतिक मन्त्रालयको जिम्मेवारी आफैंसंग राखे
भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका मुख्यमन्त्री त्रिलोचन भट्टले सो मन्त्रालयको जिम्मेवारी आफैसंग राखेका छन्् ।

मन्त्रालयको आधिकारिक वेवसाइटमा उनलाई मुख्यमन्त्री एवं भौतिक पूर्वाधार विकास मन्त्री भनेर उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार