१७ बैशाख २०८१, सोमबार

नेता रावलको राष्ट्रपतिलाई चुनौति– राजनीति गर्ने भए सडकमा आउनुस्




धनगढी /नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज भीम बहादुर रावलले राष्ट्रपति विद्या भण्डारीलाई राजनीति गर्ने भए शितल निवास बाहिर आउन चुनौति दिएका छन् ।

नेकपाको प्रचण्ड–माधव पक्षले मंगलबार धनगढीमा आयोजना गरेका विरोध सभामा नेता रावलले भने– सधैं गुटको राजनीति गर्ने, गुटका पक्षमा निर्णय गर्ने भए राष्ट्रपति पदमा रहिरहन मिल्दैन । राष्ट्रपतिले कुनै गुट र गुटका मान्छेको काखी च्यापेर पदको गरिमामा घटाउन मिल्दैन ।

उनले गुटका लागि नै राजनीति गर्ने भए सडकमा आउन चुनौति दिए । भने– राष्ट्रपति ज्यू, तपाईंलाई गुटको राजनीति नै गर्नं मन भए म जस्तै सडकमा आउनुस् । सक्नुहुन्छ भने धनगढीको सडकमा आउनुस् । सुदूरपश्चिममा आउन मन छैन भने झापा नै जानुस् वा भोजपुर जानुस् । तर, शितल निवासमा बसेर राजनीति गर्न पाइँदैन ।

नेता रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटनको सिफारिस गर्नुअघि ८३ जना सांसदको हस्ताक्षर सहित संसद आह्वानको समावेदन लिएर आफूहरु राष्ट्रपति गएको चर्चा गरे । “तर, दिनभरी कुर्दा पनि राष्ट्रपति कार्यालयले हाम्रो समावेदन दर्ता नै गरेन” उनले भने– जनताका प्रतिनिधिहरुले संविधानको व्यवस्था अनुसार संसद बोलाउन समावेदन गनै जाँदा दर्ता नै नगर्ने राष्ट्रपति सबैको साझा राष्ट्रपति बन्न सक्दैनन् ।

प्रधानमन्त्री ओलीप्रति निकै आक्रामक ढंगले प्रस्तुत भएका नेता रावलले उनको क्रियाकलापले मुलुकलाई निकै कमजोर बनाइरहेको आरोप लगाए ।

उनले प्रधानमन्त्री ओलीले एकपछि अर्को असंवैधानिक पाइला चाल्दै गएको आरोप दोहोराए । उनले भने– जनताको सर्वोच्च थलो संसद (प्रतिनिधि सभा) लाई प्रधानमन्त्रीले असंबैधानिक तरिकाले बिघटन गरेका छन् । आफैंले संसद विघटन गरेर फेरि असंवैधानिक रुपमा मन्त्रीपरिषद् विस्तार गरेर अर्को हास्यास्पद काम गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीले गणपुरक संख्या नै नपुगेको केन्द्रीय कमिटी बैठकबाट थपेका केन्द्रिय सदस्यहरुको वैधता नै नभएको दाबी गरे ।

उनले प्रधानमन्त्री ओलीमा पार्टी, जनता, संविधान केही पनि होइन, मै नै राज्य हुँ जस्तो अहंकार बढेको आरोप लगाए । भने– जनमत नमान्ने, संविधान नमान्ने, स्वैच्छाचारी र निरंकुश शासकको रुपमा प्रधानमन्त्री ओली देखिएकाले जनताले उनलाई माफी मगाएरै छोड्ने बताए ।


विरोध सभामा संविधान सभाका सदस्य हरी श्रीपाइली, नेकपाका प्रदेश सचिव एवं केन्द्रीय सदस्य नेपबहादुर चौधरी, जिल्ला ईन्चार्ज रुपा चौधरी, सह–इन्चार्जद्धय गरिमा शाह, झपटबहादुर रावल, प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारी, कैलाली जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापा,कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी, दलित मुक्ति मोर्चाका केन्द्रीय महासचिव गणेश विकल पनि ओलीले गरेको कदमका विरुद्ध अव जनता चुप लागेर नबस्ने बताए ।

बिरोध सभा अघि सरकार र प्रधानमन्त्री केपी ओली बिरुद्ध नाराजुलस सहित विरोध र्याली निस्किएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार