१ जेष्ठ २०८१, मंगलवार

नेता रावलले भने– विधि पनि नमान्ने, कानुन पनि मिच्ने, स्वैच्छाचारी र निरंकुशतन्त्रमा केपी



धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेदेखि नै पार्टी फुटाउन चाहेको बताएका छन् ।

धनगढीमा आइतबार कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता रावलले पार्टी फुटाउने उद्देश्यले पार्टी गठन सम्बन्धी अध्यादेश गतबैशाखमा ल्याएको बताएका हुन् । उनले चौतर्फी विरोधपछि अध्यादेश फिर्ता लिएपनि प्रधानमन्त्री ओलीले नेकपा पार्टी फुटाएर सिद्याउने मनसायमै रहेको बताए ।

पार्टीको स्थायी समितिको निर्णय नमान्ने, पार्टीको अध्यक्ष भएपनि बैठकमा नआउने, बरु भागेर हिड्ने गरेकाले आलोचना भएको बहानामा झुठा आरोप सहित १० पेजको प्रतिवेदन ल्याएको नेता रावलले बताए । ‘ओलीले पार्टीले लिम्पियाधुरा सहितको नक्सा जारी गर्न भन्दा पनि मान्नु भएन,’ नेता रावलले भने, ‘पार्टीको स्थायी समितिमा उहाँले अध्यादेश पनि ल्याउँदैन । प्रतिनिधि सभा विघटन पनि गर्दैन भन्नु भएको थियो । तर उहाँले एकाएक प्रतिनिधि सभा विघटन गर्नुभयो ।’

नेता रावलले विधि पनि नमान्ने, कानुन पनि मिच्ने, स्वैच्छाचारी र निरंकुशतन्त्र केपी शर्माओलीले लगाएको बताए । उनले ‘अध्यादेश किन ल्याएको ? फिर्ता किन लिएको ? प्रतिनिधि सभा विघटन किन गरेको ?’ भनेर जनतालाई प्रधानमन्त्रीले जवाफ दिनै पर्ने बताए ।

उनले ओलीको सरकार काम चलाउ रहेको हुनाले यसमा मन्त्री थप्न नपाउने, कुनै निर्णय पनि गर्न नपाउने बताए । उनले प्रधानमन्त्री स्वैच्छाचारी भएकाले पार्टी स्थायी समितिले अनुशासनको कारबाही गरेर निर्वाचन आयोगमा जानकारी दिइसकेको बताए ।

अहिलेको सरकार जनताप्रति उत्तरदायी नरहेको बताउँदै नेता रावलले यसको विषयमा नेकपाले गहन रुपमा छलफल गरेर अगाडि बढ्ने बताए । उनले संविधानको कुनै पनि धारामा प्रतिनिधि सभा विघटन गर्न पाउने अधिकार नभएको हुनाले प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको बताए । उनले प्रतिनिधि सभा विघटन गरेको हुनाले अनुसानको कारबाही गरेकोमा प्रधानमन्त्रीले लिम्पियाधुरा सहितको नक्सा जारी गरेको हुनाले कारबाही गरेको भनी हास्यास्पद कुतर्क दिने गरेको बताए । उनले पार्टीले पटक पटक दवाव दिएपछि मात्रै बाध्य भएर सरकारले नक्सा ल्याएको बताए ।

नेता रावलले पार्टी केन्द्रीय कमिटीमा रहेका ४४१ जना सदस्य मध्ये जनताको बहुदलीय जनवाद छाडेर गएका ओलीको पक्षमा ११५ जना मात्रै रहेको बताए । उनले बहुसंख्यक केन्द्रीय सदस्यहरु आफूहरुसंगै रहेको बताए । उनले मन्त्री बन्ने लोभमा केही जना ओलीतिर गएपनि नेकपा पार्टी कुनै फरक नफर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार