सुदूरपश्चिमबाट पहिलो पटक धेरै मन्त्री
लेखराज भट्टसंगै मन्त्रीमा थपिए चौधरी, ठगुन्ना र आले
धनगढी / सुदूरपश्चिम प्रदेशबाट पहिलो पटक धेरै जना संघीय सरकारका मन्त्री भएका छन् ।शुक्रबार विस्तार भएको केपी शर्मा ओली नेतृत्वको सरकारमा सुदूरपश्चिमबाट चार जना मन्त्री भएका छन् ।
यसअघि एउटै सरकारमा सुदूरपश्चिमबाट चार जना मन्त्री भएको इतिहास छैन ।
ओली सरकारमा लेखराज भट्ट उद्योग मन्त्री थिए । उनी फेरि पनि सोही मन्त्रालयमा दोहोरिएका छन् । सुदूरपश्चिमबाट शुक्रबार थप तीन मन्त्री भएका छन् ।
शुक्रबार मन्त्री हुनेमा कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ का सांसद गौरीशंकर चौधरी, दार्चुलाका गणेशसिंह ठगुन्ना र डोटीका प्रेम आलेमगर छन् ।
प्रचण्ड–माधव समूहमा रहेका चौधरी मन्त्री पाएपछि ओली समूहमा पुगेका छन् । उनी यसअघिको सरकारमा पनि कृषि मन्त्री भएका थिए । उनलाई यसपटक श्रममन्त्री दिइएको छ । यस्तै गरेर ठगुन्ना सामान्य प्रशासन र आले वन मन्त्री भएका छन् ।चौधरी, ठगुन्ना र आले लगातार दुई पटक निर्वाचित सांसद हुन ।
प्रधानमन्त्री ओलीले आफ्नो अर्को समूहमा रहेकालाई आफूतिर तान्ने क्रममा चौधरी र आलेलाई मन्त्री बनाएको देखिन्छ । विगतमा चौधरी प्रचण्ड र आले माधव नेपाल निकट थिए । ठगुन्ना र आले पहिलो पटक मन्त्री भएका हुन ।
अर्कोतिर मन्त्री नपाए प्रचण्ड–नेपाल समूहमा जाने आकलनले ठगुन्नालाई पनि मन्त्री बनाएको बताइन्छ । उनी पछिल्लो परिस्थितिमा तथस्थ देखिन्थे ।
लामो समयदेखि ओलीलाई साथ दिदै आएका लालबहादुर थापा निरु पाल, दामोदर भण्डारी, नरबहादुर धामी र नारदमुनी रानामध्ये कसैलाई मन्त्री बनाइने अनुमान सुदूरपश्चिममा गरिएको थियो । यघपी भण्डारी ओलीको अघिल्लो प्रधानमन्त्री कालमा अर्थराज्यमन्त्री थिए ।