११ बैशाख २०८१, मंगलवार

सेती प्रादेशिक अस्पतालमा न्युरो सर्जरी सेवा शुरु हुँदै



धनगढी । सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा न्यूरो सर्जरी सेवा शुरु गर्ने तयारी भएको छ । सेती प्रादेशिक अस्पतालमा न्युरो सर्जक उपस्थित भएकाले सो सेवा छिट्टै शुरु हुने अस्पतालले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले न्यूरो सर्जरीका लागि छात्रवृत्तिमा एक जना चिकित्सक आएकाले छिट्टै सेवा शुरु हुने जानकारी दिए । भेरी अञ्चल अस्पतालका न्युरो सर्जक डाक्टर हरि पौडेल सेती प्रादेशिक अस्पतालमा आइपुगेको बताइएको छ ।

मेडिकल सुपरीटेन्डेन्ट डाक्टर पाण्डेले शुक्रबार अनुमोदनसंग भने– न्युरो सर्जन आउनुभएको छ । सामान्य सेवा शुरु गरिएको छ । अन्य सेवाका लागि उपकरणहरू खरिद प्रक्रियामा रहेका छन् ।
मेसु डाक्टर पाण्डेले न्युरो सर्जरीका लागि आवश्यक अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था नगरी सेवा शुरु गरेको प्रचार गर्दा आम मानिसले दुःख पाउने भएकाले अहिले सेवा शुरु गरिएकोबारे जानकारी नगराएको बताए ।

मेसु डाक्टर पाण्डेले अहिले मस्तिष्कको चोट, मस्तिष्कको ट्यूमर, सेरेब्रल रक्तस्राव लगायतका समस्या भएका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको बताए । उनले भने– सेती प्रादेशिक अस्पतालमा न्यूरो सेवा शुरु भएमा सुदूरपश्चिम प्रदेशका बासिन्दाले उपचारका लागि नेपालगञ्ज, काठमाडौं अथवा भारतका विभिन्न अस्पतालमा धाउनु पर्ने बाध्यता कम हुने छ ।

उनले न्यूरो सर्जरीका लागि आवश्यक औजार उपकरणसंगै अस्पताल व्यवस्थापनले आवश्यक जनशक्तिको पनि व्यवस्थापनको तयारी गरिरहेको बताए ।

दुई साताअघि सेती प्रादेशिक अस्पताल आइपुगेका डाक्टर पौडेलले अनुमोदनसंग भने– अहिले अस्पतालको आकस्मिक सेवाबाट २० जनालाई सेवा दिइसकेका छु । त्यस्तै, टाउकोको दुईवटा सफल अपरेशन पनि गरिसकेको छु । डाक्टर पौडेलले अहिले पर्याप्त उपकरण नभए पनि आकस्मिक र सामान्य सल्यक्रिया सेवाहरू प्रदान गरिरहेको बताए ।

उनले भने– मैले अस्पताल प्रशासनमा आवश्यक उपकरणहरू खरिदका लागि लिखित पठाएको छु । अस्पताल प्रशासनले ती उपकरणको खरिद प्रक्रिया अघि बढाइसकेको होला ।

उनले सबै उपकरणहरू जडान भएमा न्युरो सर्जरीसम्बन्धी पूर्ण सेवा प्रदान गर्न सकिने बताए ।
डाक्टर पौडेलले अपरेटिङ माइक्रोस्कोप उपकरण उपलब्ध भएमा मस्तिष्कका नसा फुलेर फुटेकोमा बाँध्ने, रगतका नसाहरूको गुच्छाको गडबडी र मस्तिष्कको क्यान्सरको शल्यक्रिया सम्बन्धी सेवा पनि सञ्चालन गरिने बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर पाण्डेले अस्पतालमा न्यूरोसर्जरी सेवासंगै नाक, कान, घा“टीको सर्जरी लगायतका विभिन्न सेवाहरू पनि थप गर्ने तयारी भइरहेको बताए । उनले भने– अहिले हामी उपकरण र जनशक्ति व्यवस्थापनमा लागेका छौं । पूर्ण तयारी भएपछि आमसञ्चारमाध्यमबाट थप गरिएका सेवाहरूबारे जानकारी गराउने छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार