१० श्रावण २०८१, बिहीबार

अपाङ्गता मानव अधिकारसम्बन्धी अन्तर संवाद



धनगढी । अपांगता मानव अधिकार सम्बन्धि अन्तरसंवाद कार्यक्रम बिहीबार धनगढीमा भएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सर्बाङ्गिण अपांगता विकास समाज नेपालको आयोजना, दिगो विकास समाज भजनी, ओरेक कैलाली, कमैया प्रथा उन्मुलन समाज र हलिया महासंघको संयुक्त आयोजनामा अपांगता भएका ब्यक्तिहरूको मानव अधिकारको अवस्था विषयक सरोकारवाला र मिडियासंगको अन्तर संवाद भएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख मोहनदेव जोशीले सबैको सामुहिक दवावबाट मात्र अपाङ्गमैत्री समाज निर्माण गर्न सकिने बताए । उनले भने– मानव अधिकार आयोगले पटक–पटक सरकारलाई अपाङ्ता भएका व्यक्तिहरूको अधिकारका लागि ध्यानाकर्षण, सुझाव, सिफारिस गरिसकेको छ, तर सरकारले धेरै सुझाव मानेको छैन ।
आयोगका प्रदेश प्रमुख जोशीले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि सरकारले नटेरेमा कानुनी बाटो रोज्नुको विकल्प नरहेको बताए ।
राष्ट्रिय अपाङ्ग महासंघका पूर्व प्रदेश अध्यक्ष भीमबहादुर शाहले पटक–पटक अपाङ्गताको अधिकारका लागि लड्दा पनि कतैबाट सुनुवाई नभएको गुनासो गरे । उनले भने– अब अपाङमैत्री समाज निर्माण गर्न सडक आन्दोलन गर्नुपर्ने अवस्था रहेको छ ।’
ओरेक नेपालकी कार्यक्रम संयोजक विन्दु रानाले महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका लगायतका अधिकारको आवाज उठेपनि सम्बोधन नहुने गरेको बताइन ।
कार्यक्रममा अपांगता अधिकारकर्मी नन्दराज भट्टले सुदूरपश्चिम प्रदेशमा अपांगता भएका ब्यक्तिहरूको मानव अधिकारको अवस्था र कार्यान्वयनको अवस्था सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो अवसरमा मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशमार्फत नेपाल सरकारलाई सुदूरपश्चिम प्रदेशमा अपांगता भएका ब्यक्तिहरूको मानव अधिकारको अवस्था बारेको २१ बु“दे ध्यानाकर्षण पत्र बुझाइएको थियो ।
कार्यक्रम अपांगता अधिकारकर्मी नरराज गिरिको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार