२३ बैशाख २०८१, आईतवार

क्षेत्रीय शहरी विकास आयोजना : सम्झौता भएको पाँच महिनापछि सडक निर्माणकाे काम शुरु



धनगढी । धनगढी उपमहानगरपालिकामा क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत निर्माण हुने सडकहरूको सम्झौता भएको पाँच महिनापछि काम शुरु भएको छ ।

ठेक्का सम्झौता भएको २१ दिनभित्रै निर्माण कार्य शुरु गर्ने दाबी गरेको भए पनि निर्माण कम्पनीले पाँच महिनापछि बिहीबार एक समारोह आयोजना गरेर सडक निर्माण योजनाको शिलन्यास गरेको छ ।

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सडक शिलन्यास गरे ।
सो अवसरमा उनले भने– सम्झौता भएको लामो समय हुदा पनि सडक निर्माणको काम अगाडी बढ्न सकेको थिएन । आज शिलन्यास भयो, निकै खुसी छु । सपनाको परियोजनाले काम सुरु गरेको जस्तो महसुस भइरहेको छ ।

उनले थपे– यो आयोजनाअन्तर्गत कतिपय सडक क्षेत्राधिकारभित्र भवन लगायतका भौतिक संरचना छन् । त्यसैले पनि मुख्य सडक निर्माणमा स्थानीयको साथ र सहयोग नपाइदा पहिलो चरणमै मुख्य सडकको योजना अघि बढाउन सकेनौं ।

उनले दुई महिनाभित्रै कैलालीपुलदेखि सेतोपुलसम्मको सडकलाई समेटर थप १५ किलोमिटर सडकको टेण्डर आह्वान गर्ने तयारी रहेको बताए । भने– सडक क्षेत्रमा पर्ने भौतिक संरचना आफै भत्काएर विकास कार्यलाई सहज बनाउनु हुने विश्वास गरेको छु ।

उनले धनगढीको विकासका लागि आम सर्वसाधारण, राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज लगायतको साथ र सहयोग आवश्यक रहेको बताए ।

शिलन्यास कार्यक्रममा उपप्रमुख भट्टले भनिन्– हामी निर्वाचित भएर आउनु अघि देखिनै धनगढीको एकिकृत विकास गर्ने योजना अन्तर्गत यो क्षेत्रीय सघन शहरी विकास परियोजनाको चर्चा थियो । तर, हामी निर्वाचित भएको तीन वर्षसम्म पनि काम हुन सकेको थिएन ।

उपप्रमुख भट्टले टेण्डर आह्वान, निर्माण कम्पनीसंग सम्झौता हुँदा पनि पहिलो योजना अघि बढ्नेमा केही शंका रहने गरेको बताइन् । उनले भनिन्– आज सडककोे शिलन्यास भएको छ । अब यसमा सबै सर्वसाधारणको साथ र सहयोग आवश्यक रहेको छ ।’

आयोजनाका सूचना अधिकारी श्याम बुढाथोकीले ‘निर्माण कम्पनीले विस्तृत परियोजना रिपोर्ट लगायतका प्रक्रिया पुरा गरे पनि ‘प्लान्ट’ राख्ने स्थानको टुङ्गो नभएको र चाडपर्व लगायतका कारण मजदुरको अभावका साथै खुटिया नदीमा नदीजन्य पदार्थको उत्खनन् नहु“दा तोकिएकै समयमा काम अघि बढ्न नसकेको’ बताए ।

आयोजनाका सूचना अधिकारी बुढाथोकीका अनुसार निर्माण कम्पनीले धनगढी उपमहानगरपालिका वडा नम्बर १, पुरानो एयरपोर्टमा ‘प्लान्ट’ राखेको छ ।

डीपीआरको आधा पनि सडक समेटिएन

क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढीमा ४३ किलोमिटर सडक निर्माण गर्ने योजना रहेको थियो । तर, आयोजनाको चर्चा भएको छ वर्षपछि उपमहानगरपालिकाले १० दशमलव २४ किलोमिटर सडक निर्माणको कार्य अघि बढाएको छ ।

आयोजना अन्तर्गत धनगढीमा विभिन्न आकारका २३ वटा सडक निर्माण गर्ने भनिए पनि पहिलो चरणमा सात वटा सडकको काम अघि बढाइएको छ ।

धनगढी उपमहानगरपालिकाका अनुसार पहिलो चरणमा ठेक्का पाएको कालिका कन्ट्रक्सनले सात वटा सडक निर्माण गर्ने छ । यस अन्तर्गत चरणमा गुल्म–चर्च रोड (दुई हजार सात मिटर), धनगढी मेनरोड (ट्राफिक चौराहादेखि कैलालीनालासम्म एक हजार तीन सय ८० मिटर), हुलाकी सडक–क्याम्पस रोड–जाखोरताल (सात सय मिटर), क्याम्पस रोड–चटकपुर (तीन हजार छ सय ५० मिटर), धनगढी–खुटिया स्याउले रोड (आठ सय ७० मिटर), मालपोत रोड (चार सय ३० मिटर) र हसनपुर रोड (एक हजार एक सय ५० मिटर) रहेका छन् ।

धनगढीको मुख्य सडक ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको सडकको चौडाई ३० मिटर राखिएको भए पनि अहिले भने २४ मिटर कायम गरि अघि बढाइन लागेको छ । आयोजना सूचना अधिकारी बुढाथोकीले भने– सडकभित्र झण्डै ३० घर पर्न लागेपछि २४ मिटरको चौडाईमा काम अघि बढाइएको हो । यसको चौडाई घटाइएको होइन विस्तारै ३० मिटर नै पुराइने छ ।

सूचना अधिकारी बुढाथोकीका अनुसार आयोजना र उपमहानगरपालिकासंग घरधनीलाई मुआब्जा दिन सक्ने क्षमता नभएपछि अहिले सडकको चौडाई घटाएर योजना अघि बढाइएको हो ।
उनले सन् २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड रुपैयाँ बजेट अपुग हुने भएकाले सडक निर्माणको काम चरणवद्ध रुपमा अघि बढाइएको बताए । पहिलो चरणको सडक निर्माणका लागि कालिका कन्स्ट्रक्सनसंग ६८ करोड पा“च लाख ९८ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्रको टुङ्गो छैन ।

क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत सडक, नालीसंगै एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्रको पनि योजना रहेको छ । धनगढी उपमहानगरपालिकाले शुरुमा वडा नम्बर १ मा सो केन्द्रका लागि स्थान टुङ्गो लगाए पनि स्थानीयको विरोधका कारण काम अघि बढ्न सकेको थिएन । अहिले उपमहानगरपालिकाले वडा नम्बर ७ स्थित पटेला सामुदायिक र राष्ट्रिय वन क्षेत्रमा सो केन्द्र बनाउने योजना अघि बढाएको छ ।

वन क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्दा मन्त्रीपरिषदको स्वीकृत आवश्यक भएपछि अहिले योजना अघि बढ्ने टुङ्गो छैन । उपमहानगरपालिका प्रमुख वडले भने– फोहोरमैला व्यवस्थापन केन्द्रको काम पनि अघि बढिरहेको छ । छिट्टै हामीले डिपिआर तयार गराई वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार पारि टेण्डर लगायतका निर्माण प्रक्रिया अघि बढाउने छौं ।

सर्वसाधारण नै वाधक

धनगढी उपमहानगरपालिकाको मुख्य सडकको चार किलोमिटरको काम अघि बढ्नुपर्ने थियो । तर, उपमहानगरपालिकाले पहिलो चरणमा एक किलोमिटर ३८ मिटरको मात्र काम अघि बढाएको छ । स्थानीयको सहयोग नहुँदा थप सडकको काम पहिलो चरणमा समेटिन सकिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार