२२ बैशाख २०८१, शनिबार

ढुंगाको अभावमा चार लेन पुल निर्माण कार्य प्रभावित



कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलको काम ठूला ढुंगा नपाउँदा प्रभावित भएको छ ।

पुलसंगै गड्डाचौकीसम्म बन्ने छ लेनको पहुँच मार्ग कालोपत्र सुरु हुन थाले पनि पुलको चौतर्फी बन्ने बाँध निर्माणको काम भने ढुंगा नहुँदा रोकिएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पुलको तटबन्ध बनाउन काम ढुंगाकै कारण रोकिएको निर्माण कम्पनीको गुनासो छ ।

सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा हेरिएको पुलको दुवैतर्फ पाँच हजार ४०० मिटर बाँध निर्माण गर्नुपर्ने योजनामा रहेको छ । ‘नदीको पारि र वारि गरी दुवैतर्फ दुई हजार ७०० लम्बाइ भएको बाँध निर्माण गर्नुपर्ने ठेक्कामा उल्लेख छ’, पुल निर्माणको ठेक्का लिएको कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाइना फ्युल कन्स्ट्रक्सन कम्पनी सिएफासीको संयुक्त लगानीका प्रबन्ध निर्देशक प्रेमकुमार श्रेष्ठले भने– ढुंगा नपाउने हो भने आउँदो बर्षातमा पुलसम्म पुग्नका लागि बनाएको पहु“च मार्ग सबै नदीले बगाउने चिन्ता छ ।

उनले ढुंगाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अन्य निकायसित समन्वय गरिरहेको बताए । आठ सय मिटरको पुल भए पनि पुलको वारिपारि छ÷छ सय मिटर पहु“च मार्ग महाकाली नदीमै पर्छ । ‘पहुँच मार्गमा भर्ने काम सकेर अस्थायीरुपमा बनाए पनि बर्सातमा बा“ध भएन भने पुल बीचमा झुण्डिने अवस्था छ’ उनले भने ।

कम्पनीका इन्जिनीयर किशोरराज पाण्डेयले बांधका लागि एक लाख ४१ हजार घनमिटर ढुंगा आवश्यक पर्ने बताए । ‘करीब ७० प्रतिशत ढुंगा २६० किलोग्रामभन्दा बढी तौलका चाहिन्छन्’, इञ्जिनियर पाण्डेयले भने– पुलसम्म पुग्ने ६०० मिटर पहु“च मार्ग जोगाउन बा“ध अति आवश्यक छ ।

महाकाली पुलको हालसम्म ५७ प्रतिशत काम सकिएको छ । ‘पुलको मात्रै भन्ने हो भने ७० प्रतिशत काम सकिएको छ’, उनले भने, ‘पहुँच मार्गको सुरक्षा नै बाँधले दिने हो ।’ उनले स्थानीयस्तरमा ढुंगाका लागि पहल गरिए पनि उपलब्ध हुन नसकेको बताए । २०७४ साल भदौदेखि सुरु भएको निर्माणको अवधि आगामी २०७८ फागुन १२ गतेसम्म तोकिएको छ । तीन अर्ब ६७ करोडको लागतमा बन्ने पुलअन्तर्गत ७।८ किलोमिटर लम्बाइको छ लेनको पहुँच मार्ग पनि रहेको छ ।
महाकाली पुल योजना कार्यालयका इञ्जिनियर धु्रवकुमार झाले ढुंगाको समस्याको विषय मन्त्रालयसम्म पुर्‍याइएको बताए । इञ्जिनीयर झाले भने– निर्माण व्यवसायीले ढुंगा ल्याउन खोज्दा अवरोध भयो र हामीले फाइल माथि पठाएका छौं ।

उनले ढुंगा नहुँदा हाल निर्माण भएका पुलबाहेकका अन्य संरचना धरापमा पर्ने सम्भावना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार