२ जेष्ठ २०८१, बुधबार

चौमालाको भोजपुरमा खानेपानी आयोजनाको शिलन्यास




चौमाला / कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ३ भोजपुर (झिल)मा खानेपानी आयोजना सञ्चालन हुने भएको छ ।

प्रदेश सरकारले बनाउन थालेको सो आयोजनाको इन्टेकको वुधबार पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारीले शिलन्यास गरे ।

सो अवसरमा बोल्दै सोडारीले स्वर्गिय वडा अध्यक्ष नरेन्द्र शाहको सपना अनुसार खानेपानी आयोजना पूर्णरुपमा बनाउने बताए । सो वडाका वडाअध्यक्ष शाहको हालै कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

सोडारीले खानेपानी आयोजनालाई बचाउनका लागि नजिकैको क्षेत्रमा तटवन्ध पनि गर्ने बताए ।
गौरीगंगा नगरपालिकाका उपप्रमुख अञ्चला चौधरीले सो आयोजना समयमै पुरा गर्ने गरेर काम गर्न निर्माणकर्ताहरुलाई आग्रह गरिन ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका प्रमुख मोहन कुँवरका अनुसार झण्डै दुई करोडको लागतमा बन्ने खानेपानीको ओभरहेड पोखरीबाट एक हजार १७५ परिवारका पाँच हजार ८५७ जना लाभान्वित हुनेछन् ।

आगामी असारसम्म ओभरहेड, कार्यालय भवन लगायतका भौतिक संरचना बन्ने डिभिजन प्रमुख कुँवरले बताए । सो आयोजना प्राकृतिक/चन्द्र विकास जेभीले बनाउन थालेको हो ।

निर्माण कम्पनी वीरबहादुर साउदले जिम्मेवारी अनुसारका भौतिक संरचना समयमै पुरा हुने प्रतिवद्धता गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार