१० श्रावण २०८१, बिहीबार

कञ्चनपुरमा पुल निर्माण, अधिकांस पुल अधुरै



कञ्चनपुर । कञ्चपुरको लालझाडी गाउँपालिकाको डोडा नदीमाथि पक्की पुल बन्न लागेको पाँच वर्ष पुग्यो ।

देखतभुली–पर्सिया सडकमा बन्न लागेको सो पुलको भौतिक प्रगति अहिलेसमम ५५ प्रतिशत मात्रै भएको आयोजना कार्यालयले जनाएको छ ।

२०७५ पुस २५ गते निर्माण सम्पन्न गर्ने गरी २०७२ सालको पुसमा पुल निर्माण सम्झौता भएको थियो । ४० मिटर लम्बाईको सो पुल निर्माणका लागि २४ करोड ५२ लाख ६१ हजार रुपैया“मा सम्झौता भएको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताए ।

पुलको ठेक्का पाएको लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभीले आउँदो माघ १५ गतेसम्म निर्माण सम्पन्न गर्नेमा आशंका व्यक्त गरिएको छ ।

कञ्चनपुरकै कृष्णपुर नगरपालिकाको वडाल खोलाको पुलको अवस्था पनि उस्तै छ । बुडर नायल बंक सडक खण्डमा पर्ने ३५ मिटरको सो पुल निर्माणका लागि २०७३ असारमा सम्झौता भएको थियो । २०७४ को फागुनमा निर्माण सक्नेगरी ५ करोड ४७ लाख ४ हजार रुपैयाँमा सम्झौता भएको पुलको प्रगति ६५ प्रतिशत मात्रै पुगेको छ ।

सोही सडकको खार खोलमा ३० मिटर लम्बाईको पुल निर्माण सुरु भएको चार वर्ष पुग्यो । छ करोड ६९ लाख ६७ हजार रुपैयाँ बजेटको सो पुल समेत आउदो पुस मसान्तसम्म निर्माण गरिसक्नु पर्ने गरी समयावधी थपिएको छ ।

पुल निर्माणको जिम्मा पाएको थेगिम गल्वा जेभीका सञ्चालक गंगाराज सुब्बाले कोरोना भाइरसको प्रभावले काम प्रभावित भएको बताए । ‘पुल निर्माणका लागि भारतबाट कामदार ल्याउनुपर्ने बाध्यता छ’, उनले भने– अहिले काम सुरु गरेका छौं ।’

यी तीन वटा पुल प्रतिनिधि उदाहरण मात्रै हुन् । जिल्लामा निर्माण भइरहेका २५ भन्दा बढी पुलको अवस्था उस्तै छ ।

प्राविधकि कारणले केही पुलको काम मात्रै रोकिएको भएपनि अधिकांश पुलहरुमा निर्माण कम्पनीकै लापरवाही देखिएको सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी जोशी बताउँछन् । अहिले आएर कोरोना भाइरसको प्रभावले कामदार नपाउदा पुल निर्माणको काम प्रभावित भएको दाबी गरिएको छ ।

र कोभिड–१९ को प्रभाव भने गत चैत पछि मात्रै देखिएको हो । जिल्लामा निर्माणधिन पुलहरु भने त्यस अगाडीबाट नै अलपत्र पारिएका छन् । दुर्गम गाउँहरु जोड्ने पुल अलपत्र पर्ने क्रम जारी रहदा पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन् । त्यसको सिधा मारमा कञ्चनपुरका ग्रामीण बस्तीका मानिसहरु परेका छन्् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार